आज पाटन मुक्तक्षेत्र भएको दिन
नेकपा एमालेले ३१औँ ‘पाटनमुक्त क्षेत्र’ दिवस मनाएको छ। एमाले ललितपुरले पाटनलाई तत्कालीन शासकबाट मुक्त गरिएको दिनको सम्झनामा हरेक वर्ष मनाउँदै आएको मुक्त क्षेत्र दिवस तथा सहिद सम्मान कार्यक्रम यस वर्ष पनि मनाएको हो ।
बाग्डोलमा आयोजित कार्यक्रममा शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ,ललितपुर-१ का सांसद नवराज सिलवाल लगायतको उपस्थिति थियो।
यता,सौगल चोकमा पनि ३१ औं पाटनमुक्त क्षेत्रदिवश तथा शहीद सम्मान कार्यक्रम गरिएको छ। एमाले ललितपुरका अध्यक्ष हरिकृष्ण व्यन्जनकारको सभापतित्वमा सम्पन्न सो कार्यक्रमलाई मन्त्री श्रेष्ठले सम्बोधन गर्नुभएको थियो।
सम्बोधनका क्रममा उहाँले वर्तमान राजनीतिका विषयमा प्रश्न उठाउँदै नेताहरुमाथि कटाक्ष गर्नुभएको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले बरिष्ठ नेता माधवकुमार नेपालमाथि उहाँले कटाक्ष गर्नुभएको हो । प्रचण्डतर्फ संकेत गर्दै मन्त्री श्रेष्ठले प्रधानमन्त्री बन्न मन भए जनतामा गएर बहुमत ल्याउन चुनौती दिनुभयो । त्यस्तै, पार्टी अध्यक्ष बन्न नेता नेपालले चाहना गरेको भन्दै महाधिवेशनमा गएर बहुमत जुटाउन सुझाव दिनुभयो ।
मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली बहुमतप्राप्त प्रधानमन्त्री भएकाले कसैले हटाउन नसक्ने चेतावनी दिनुभयो। उहाँले प्रक्रियाबद्द रुपमा हटाए आफूहरुलाई मान्य हुने पनि बताउनुभयो । कार्यक्रममा सांसद सिलवाल,प्रदेश’सांसद चेतनाथ संन्जेल, अनेमसंघ बाग्मती प्रदेश इन्चार्ज सुशीला नेपाललगायतको उपस्थिति थियो।
वि.सं. २०४६ सालको जनआन्दोलनका बेला ललितपुरका आन्दोलनकारीले पाटन क्षेत्रलाई तत्कालीन शासकबाट ‘मुक्त क्षेत्र’ घोषणा गरेको दिनको सम्झनामा हरेक वर्ष पाटनमुक्त क्षेत्र दिवश तथा शहीद सम्मान कार्यक्रम आयोजना गर्ने गरिन्छ ।
टिप्पणीहरू