एकातिर बिपुल,अर्काेतिर निर्मला
नेपाल पत्रकार महासंघको आगामी निर्वाचनको मिति नजिकिँदै जाँदा चुनावी हरहिसाब र नतिजाको लेखाजोखा शुरु भएको छ । महासंघको आगामी तीन वर्षे कार्यकालका लागि चैत २५ गते निर्वाचनमार्फत नयाँ नेतृत्व चयन हुँदैछ ।
निर्वाचनका लागि पत्रकारसम्बद्ध विभिन्न संघ–संगठनहरूले गठबन्धन घोषणा गरिसकेका छन् । काँग्रेसनिकट प्रेस युनियनको नेतृत्वमा १२ वटा संगठन र प्रधानमन्त्री ओलीनिकट प्रेस चौतारीको नेतृत्वमा आधी दर्जन संगठन अलग–अलग गठबन्धन बनाएर चुनावी प्रचारमा जुटिसकेका छन् ।
देशभरका पत्रकारहरूको छाता संगठन पत्रकार महासंघको आगामी नेतृत्व कता जाला भन्ने अड्कलबाजी शुरु भइसकेको छ । उम्मेदवारको मनोनयन दर्ता,दाबी बिरोध र उम्मेदवारी फिर्ताको समय सकिइसकेको छ । यसैबीच प्रधानमन्त्री ओलीनिकट प्रेस चौतारीले मंगलबार उम्मेदवारी घोषणा कार्यक्रम गरेको छ । उसले पत्रकार निर्मला शर्माको नेतृत्वमा चुनावमा होमिने निर्णय यसअघि नै गरेको थियो ।हिजोको उम्मेदवारी घोषणा कार्यक्रममा महासंघका पूर्वमहासचिव उजिर मगरले महिलालाई नेतृत्वमा अगाडि सार्नुलाई गठबन्धनको जितको आधार मानेका छन् । उनले आफूहरूको संयुक्त प्यानल समावेशी चरित्रको भएकाले जित सुनिश्चित रहेको बताए । ‘सबैभन्दा ठूलो चुनौती भनेको समावेशीता हो । हाम्रो संयुक्त प्यानलको अध्यक्ष नै महिला हुनुहुन्छ । अन्य पदहरूमा पनि महिला उम्मेदवार भएकाले जित्ने कुरामा विश्वस्त छु,’ मगरले भने । मगरले यसभन्दा अघिल्लो कार्यकाल माओवादीनिकट पत्रकार संगठनको तर्फबाट महासचिव जितेका थिए । अध्यक्षको टिकट नपाएपछि उनी केही समयअघि प्रेस चौतारीतिर लागेका थिए ।
गठबन्धनले व्यावसायिक पत्रकारको ठूलो पंक्ति आफूहरूसँग भएकाले जित सुनिश्चित रहेको दाबी गरेको छ । वरिष्ठ पत्रकार तीर्थ कोईरालाले जितको आधार त्यसैलाई बनाउनुपर्नेमा जोड दिए । पत्रकारितामा महिला,अपाङ्ग, मधेसी,जनजाति भन्न नहुने भन्दै उनले व्यावसायिक पत्रकारले जित्नुपर्ने बताए । उनले भने, ‘हामी सबै नितान्त पत्रकार हो र तपार्इंहरूले यसरी नै भोट माग्नुपर्दछ । तपाइँहरूको जित सुनिश्चित छ ।’
चौतारीका पूर्वअध्यक्ष राजेन्द्र अर्यालले भने महासंघमा प्रत्यक्ष निर्वाचन प्रणाली आफ्नो एजेण्डा भएकाले त्यसैलाई चुनाव जित्ने आधार बनाउनुपर्ने बताएका छन् । ‘पत्रकार महासंघको ७० वर्षको इतिहासमा प्रत्यक्ष निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन हुन लागेको छ । यो हाम्रो प्रयासको परिणाम हो र माग पनि हो । बृहत रूपमा संयुक्त प्यानल बनाएर अगाडि बढेको हुनाले हाम्रो जित सुनिश्चित छ,’ उनले भने ।
महासंघको पूर्वअध्यक्षसमेत रहेका चौतारीका नेता महेन्द्र बिष्टले पनि महिला नेतृत्वलाई अगाडि सारेका कारण जित निश्चित रहेको बताए । उनले विगतदेखि नै महिला नेतृत्वको सवाल उठाउँदै आएको भन्दै अहिले त्यसैलाई एजेण्डा बनाउनुपर्ने बताए । ‘हामीसँग समय थोरै छ,सबै पत्रकारसम्म पुगेर भोट माग्नु पर्नेछ,’ विष्टले भने, ‘अहिले सबै पत्रकार व्यावसायिक हुन थालेका छन् । यो नै हाम्रो जितको आधार हो । तपाईंहरूलाई जितको शुभकामना छ ।’
अध्यक्षकी उम्मेदवार निर्मला शर्माले आफू लामो समयदेखि पत्रकारितामा सक्रिय रहेकाले आफ्नो जित जायज हुने बताइन् । उनले चुनाव भनेजस्तो सजिलो नहुने भन्दै सबैको साथ र सहयोगको अपेक्षा गरिन् । उनले भनिन्,हाम्रा साथीहरू एक जनाले १० भोट आकर्षित गर्न सक्नुपर्छ । म पत्रकारितामा नियमित लागि परेको छु र विगत धेरै वर्षदेखि पत्रकारितामा छु । मैले जितेँ भने पत्रकार महासंघको गौरवशाली इतिहासलाई अझ माथि पुर्याउने छु ।’
यता,प्रेस युनियन नेतृत्वको गठबन्धनले पनि जित सुनिश्चित रहेको दाबी गरेको छ । उक्त गठबन्धनले विपुल पोखरेललाई अध्यक्षमा अगाडि सारेको छ ।
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई प्रतिगमन भन्दै हाल महासंघको वरिष्ठ उपाध्यक्ष रहेका पोखरेलकै नेतृत्वमा पत्रकारहरू सडकमा ओर्लिएका थिए । प्रतिगमनविरुद्धको साझा प्रतिबद्धता भन्दै गठबन्धनले त्यसैलाई जितको मुख्य आधार बनाएको छ । यो गठबन्धनले पेशागत हकहित र प्रेस स्वतन्त्रतालाई पनि अर्को महत्वपूर्ण एजेण्डा बनाएको छ ।
टिप्पणीहरू