एटीएम मेशिन फुटाउँदै गरेका चिनियाँ समातिए

एटीएम मेशिन फुटाउँदै गरेका चिनियाँ समातिए

अस्ति मात्रै पहिलोपटक काठमाडौं आइपुगेका चिनियाँ नागरिक ३९ वर्षीय वाङ स्याओलोङ एटीएम मेशिन फुटाउँदै गरेको अवस्थामा पक्राउ परेका छन् । ठमेलस्थित एम होटलमा बसेका वाङ दोस्रो पटकको प्रयासमा होटल अगाडिको एटीएम मेशिन फुटाउँदै गरेको अवस्थामा हिजो साँझ प्रहरीको फन्दामा पुगेका हुन् ।

हाल प्रहरी परिसर टेकु पुर्याइएका चिनियाँसँग प्रहरीले आवश्यक बयान लिँदै अनुसन्धानसमेत थालेको बताइएको छ । आफूले जानाजान एटीएम मेशिन नफुटाएको र रकम चोर्ने उद्देश्य समेत नरहेको बताएका चिनियाँले नेपाल आउने क्रममा ग्वाङ्चौमा एकजना चिनियाँले अह्राएबमोजिम फोटो मात्र खिचेको दाबी गरेका छन् । तर, हिजो साँझ पहिलो चोटी होटल नजिकै मेगा बैंकको एटीएममा पसेका उनी सीसीटीभी देखेपछि डराएर निस्केका थिए । एकछिन पछि साँझ सवा ६ बजेतिर अर्को एटिएममा गएर मेशिनको स्क्रिन खोली फोटो खिच्दै गर्दा पक्राउ परेका हुन् ।

स्रोतका अनुसार चीनको हुपेई प्रान्तका उनलाई ग्वाङ्चौमा भेटिएको मान्छेले ६५ डलर हातमा थमाएर एटीएमको स्क्रिन खोली फोटो पठाइदिन अनुरोध गर्दै साँचो र मेशिन खोल्न केही सामान दिएका थिए । पक्राउ परेका चिनियाँको भनाई उल्लेख गर्दै प्रहरी स्रोतले बताएको छ ‘नेपालमा पोखरातिर घुम्न जाँदा वा अन्य ठाउँमा रहँदा एटीएम मेशिनको स्क्रिन खोलेर त्यसभित्रको सिष्टमको फोटो खिचेर पठाउनु,नेपालमा त्यो कामलाई अपराध नमानिने आफूलाई भनिएको थियो ।’

त्यहि भएर वाङले आफूले ६५ डलरलाई सम्झँदै केही पनि नहुनेमा ढुक्क भएर उताको मान्छेले भनेझैँ एटीएमको स्क्रीन खोल्न दिएको साँचोले खोलेँ र फोटो मात्रै खिचेको हुँ,पैसा चोरेको छैन भनेका छन् ।

उनले आफ्नो साथमा रहेका अन्य औंजार मेशिन फोर्नको लागि नभई पोखरामा ट्रेकिङमा जाँदा पहाड चढ्नुपर्ने भएकाले हिमालमाझैँ पहरो कोप्न पर्ला भनेर साथमा ल्याएको दाबी गरे पनि प्रहरीले उनको भनाइलाई पत्याएको छैन ।

चीनमा रहँदा छ्युनाल भन्ने एपबाट होटल बुक गरेका उनले ठमेलमा दुई दिन बसेर घुमघामको लागि पोखरा जाने योजना बनाएका थिए । प्रहरीको उच्च स्रोतले भनेको छ ‘फोर्न आवश्यक सबै मेशिनसमेत साथमा ल्याएको देखिएकाले उनको दाबीमा सत्यता छैन ।’

प्रहरीको प्रारम्भिक बयानमा चिनियाँले एटीएम बुथभित्र छिर्ने बित्तिक्कै आफूले ६५ डलर र साँचो दिने व्यक्तिले भनेबमोजिम गरे पनि आफूलाई केही पनि थाहा नभएको अडान लिएको बताइएको छ । प्रहरी हिरासतमा रहेका चिनियाँले भनेका छन् ‘मैले सिष्टमको फोटो र लोकेशन केही पनि पठाएको छैन । बरु उसैले (६५ डलर दिने व्यक्ति) आफूलाई चीन फर्कंनुअघि काठमाडौंमा नै भेटेर फोटो हेर्ने भनेकाले मोबाइलमा मात्र राखेको छु ।’

आफूलाई केही पनि थाहा पनि नभएको,अर्को चिनियाँले नेपालमा केही पनि हुँदैन भनेर सिकाएको बताए पनि हिरासतमा रहेका वाङ हिजोको तुलनामा आज निकै गलेको बताइएको छ ।

मेगा बैंकको एटीएम फोर्नुअघि उनले अर्को एटीएममा पनि साँचोले कोशिश गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । तर, अघिल्लो मेशिन नखुलेपछि उनले दोसो स्क्रिन खुलेको मेशिनको सिष्टमको फोटो खिचेर मोबाइलमा राखेको अवस्थामा प्रहरीले मोबाइल बरामद गरेको हो । फोटो पठाइसकेको वा नसकेको भन्ने बारेमा अझै यकीन भएको छैन ।

नेपालमा हाल प्रयोगमा रहेको एटीएम मेशिनहरू तीन किसिमका रहेको बताइन्छ । तीमध्ये हिजो चिनियाँले फुटाउन खोजेको मेशिन एनपीआर सिष्टमको हो । यो सिष्टमको एउटा एटीएमको फोटो हेरेर बनाइएको नक्कली कार्ड र साँचोबाट अन्य मेशिनमा रहेका रकमसमेत सजिलै झिक्न सकिने विज्ञहरूले बताएका छन् ।

टिप्पणीहरू