सरकार निर्माणमा माओवादी र जसपा बाधक बनेको काँग्रेस प्रवक्ताको आरोप

सरकार निर्माणमा माओवादी र जसपा बाधक बनेको काँग्रेस प्रवक्ताको आरोप

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीको कारण नयाँ सरकार निर्माणको प्रक्रिया शुरु हुन नसकेको आरोप लगाएका छन् ।

बिहीबार समसामयिक राजनीतिक घटनाक्रम बारे बोल्दै शर्माले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता नगरेको अवस्था र जसपा वर्तमान सरकारलाई विस्थापन गर्ने विषयमा ठोस निर्णयका साथ नआएको कारण नयाँ सरकार गठनको प्रक्रिया आरम्भ हुन नसकेको बताएका हुन् ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने र जसपा गणितिय रुपमा एकढिक्का भएर उभिएमा नेपाली काँग्रेस वा अरु कसैको नेतृत्वमा सरकार बन्ने अवस्था आउने समेत प्रवक्ता शर्माको दाबी छ । ।

उहाँका अनुसार ‘माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता बारे टुंगो लगाउनुपर्यो । त्यस सम्बन्धमा सार्वजनिक मञ्चबाट नभई लिखित रुपमा संसद सचिवालयमा जानकारी गराउनुपर्छ । त्यो परिस्थिति विकास भइसकेपछि स्वाभाविक रुपमा प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने हुन्छ । त्यस्तो अवस्थामा नेपाली काँग्रेसले वर्तमान सरकारलाई विश्वासको मत दिनेछैन ।

त्यसैले संसदमा सरकारलाई दिएको समर्थन उहाँहरूले फिर्ता गरिसकेपछि बैठक बसेरै विधिवत रुपमा यसको निर्णयमा पुग्नेछौँ । सरकारलाई विश्वासको मत प्राप्त नभएमा नयाँ सरकारको निम्ति ढोका खुल्ने अवस्था आउँछ ।’

टिप्पणीहरू