कोही कमरेड खरायो, कोही कछुवा
व्यक्तिका स्वभाव र कार्यशैलीले समूहलाई कति फरक पार्छ भन्ने कुरा एमालेको विवादबाट झल्किन्छ । जस्तो– संसदीय दलको बैठकमा भाग लिने र नलिने कुराकै गलफत्तिलाई हेरौँ ।
माधव–झलनाथ समूहको एमाले राष्ट्रिय कार्यकर्ता भेला चलिरहेको थियो, सानेपामा चैत ४ देखि । भोलिपल्ट, ५ गते अपर्झट बालुवाटारमा केपी ओलीद्वारा संसदीय दलको बैठक बोलाइयो । हालै दिवंगत कांग्रेस पूर्वसांसद नवीन्द्रराज जोशीलाई ४ सय ४४ मतले पराजित गर्ने जीवनराम श्रेष्ठले केही सांसदलाई फोन गरे र भने, ‘हाम्रा साथीहरूलाई कन्फ्युजन छ, भोलि हाम्रो भेला भाँड्ने गरी ओलीले संसदीय दलको बैठक डाकेका छन् ।’
एउटा कुनामा सरसल्लाहमा जुट्नुभएका माधव नेपालले जीवनरामलाई भन्नुभयो, ‘उसोभए भोलि १० बजे साथीहरूलाई यतै सानेपामा बोलाउनु न त ’ भोलिपल्ट बिहानै एमाले सांसदहरू झुरुप्प त्यहीँ भेला भए । स्थायी कमिटी सदस्यबाहेक अरु संसदीय दलको बैठकमा जानुपर्छ भन्नेमा सबैजसो एकमत देखिए ।
स्थायी कमिटी सदस्यहरू चाहिँ ‘त्यहाँ गएर केही गर्न सकिँदैन, न दलको नेता फेर्न सकिन्छ, न भएका निर्णय नै उल्ट्याउन सकिन्छ, ओलीले पनि केन्द्रीय सदस्य जसरी सांसद थप्न, घटाउन सक्ने हैनन्’ भन्नेमा थिए । अन्त्यमा निर्णय भयो, दलमा रहेका स्थायी कमिटी तहबाहेकका अरु जाने । सोही निर्णयअनुसार, नेताहरू बाटो लागे । गंगा चौधरी सत्गौवाहरू बालुवाटार छिरिहाले ।
तर, त्यहाँ आफ्नो पक्षका कुनै नेता देखेनन् । गणेश पहाडीहरू पनि फर्किए । झपट रावल, जयकुमार राईहरूले नक्साल कटेर भाटभटेनी पुग्न लाग्दा भीम रावलको फोन रिसिभ गरे, ‘तुरुन्त फर्किनुस् त’ भन्ने । तर, रावलको यो फर्मानसँग घनश्याम भुषालको चर्को असहमति थियो । ‘तपाईंले हिजोको भेलामा सुरेन्द्र पाण्डेमार्फत उद्घोष गराउनुभयो, बालुवाटार नजाने भनेर । यो कहाँ निर्णय भएर सुनाउनुभएको हो ? त्यसमा मेरो असहमति छ ।
आज कसलाई सोधेर बाटैबाट साथीहरूलाई फर्काउनुभयो ? एकता भंग गरेर एमालेकै रुपमा काम गर्न म असहमत थिएँ । तर, समूहको निर्णयका नाममा जान असहमति हुँदाहुँदै आइयो । तर, अहिले त बैठकमा जाने भनेर समूहको निर्णय नै छ । तपाईं बीचबीचमा साथीहरूलाई फिर्ता बोलाउने ?’
केही सांसद चर्चा गर्दै थिए, ‘एमालेले पाएको संसदीय समितिमध्ये कृष्णभक्त पोखरेल, कल्याणी खड्काहरू सभापति भएका तीनवटा समिति छन् । मधेसीलाई सेट गर्ने नाममा ती समितिबाट केपीले माधव पक्षीयका नाममा उनीहरूलाई निकाल्न सक्छन् । हामी जनप्रतिनिधि हौँ तर व्यक्तिको सनकमा पर्न सक्छौँ ।’ तर, त्यहीँ पनि भीम रावल एकथोक भन्ने, माधव अर्को ।
भीमले अदालतले आदेश दिएअनुसार बसेको पुनस्र्थापित संसदको पहिलो बैठकमै ‘प्रधानमन्त्री कुन पार्टीको ?’ भनेर सोधिदिए । भोलिपल्ट प्रधानमन्त्रीले ‘उहाँचाहिँ कुन पार्टीको पर्नुभयो ?’ भनेर प्रतिप्रश्न गर्ने स्थिति बन्यो । अनि उग्रसँग बोलिरहनुभएका रावललाई नै ओलीसँग वार्ता गर्न ६ गते बालुवाटार पठाइयो ।
फरक के देखियो भने, केपी ओली खरायो चालमा भएभरका निर्णय आफ्नो तजविजमा गर्दै जाने । माधवचाहिँ कछुवाको गतिमा विधि र पद्धति भन्दै बस्ने । तरिका माधवको ठीक, तर परिणाम केपीको खरायो शैलीको आइदिँदा कसरी मार खानुपर्छ ? संसदीय दलको बैठकबारे चलेको विवाद त्यसैको नमुना हो भन्नेहरू पनि छन् ।
टिप्पणीहरू