आजदेखि रुकुम पनि ठप्प
रुकुम पश्चिममा आजबाट निषेधाज्ञा शुरु भएको छ । बिहान ६ बजेदेखि बैशाख ३१ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।
जिल्लाभर कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएपछि त्यसलाई कम गर्न जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ । आइतबार बिहानसम्म कूल १ सय ३६ जना सक्रिय संक्रमित रहेका छन् भने कोरोना संक्रमणकै कारण अहिलेसम्म २ जनाको ज्यान गैसकेको छ ।
कोरोनाका संक्रमितहरु थपिने क्रम बढेपछि त्यसको रोकथाम तथा नियन्त्रण गर्न १३ दिने निषेधाज्ञा जारी गरिएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए ।
१३ दिनको यस अवधिमा अत्यावश्यकीय सेवा र राष्ट्रिय गौरवका आयोजनालगायत बिभिन्न सार्वजनिक निर्माणका कार्यहरु बाहेक अन्य सेवा ठप्प रहने बताईएको छ ।
यसबाहेक एम्बुलेन्स तथा अत्यावश्यक सवारी साधनहरु भने स्थानीय प्रशासनको अनुमतिले स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गरेर सञ्चालन हुन पाउने छन् । यस्तै जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन जिल्लावासीलाई आग्रह गरेको छ ।
निषेधाज्ञा उल्लंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्नेउपर प्रचलित कानुनबमोजिम कारबाही हुने प्रशासनले जनाएको छ ।
टिप्पणीहरू