शीतल निवास र बालुवाटारमा कुरा मिलेन

शीतल निवास र बालुवाटारमा कुरा मिलेन

पार्टीलाई फुटको डिलबाट फर्काउन एमालेको दोस्रो तहका नेताहरुले थालेको प्रयास तत्काल सफल हुने छेकछन्द छैन । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ को निर्णय सच्याउन नसकिने प्रष्ट अडान राखेपछि एमाले विवाद बल्झिएको हो ।

आगामी २७ गते संसदमा विश्वासको मत लिने निर्णय गर्नुभएका प्रधानमन्त्री ओली पक्षका नेता र विपक्षी गठवन्धनमा पुगेको माधव नेपाल समूहका दोस्रो तहका नेताहरु पार्टी एकताको मिलनबिन्दु खोज्ने प्रयासमा छन् । तर,आफ्नो अडानबाट पछि नहट्ने प्रधानमन्त्री ओलीको प्रष्ट कुरा आएपछि त्यस्ता छलफल निरर्थक बनेको बताइन्छ ।

हिजो राति अबेरसम्म बालुवाटारमा नेपाल पक्षका नेताद्वय घनश्याम भुसाल र योगेश भट्टराईसँग ओलीले छलफल गर्नुभएको थियो । छलफलमा सर्वोच्च अदालतको निर्णयबमोजिम पार्टीलाई २०७५ जेठ २ को अवस्थाबाट संचालन गरेर अहिलेको बिबाद समाधान गर्न नेपाल समूहले राखेको प्रस्ताव ओलीले ठाडै अस्वीकार गरेपछि नेताहरु ‘नहुने भो’ भन्दै बाहिरिएको स्रोतको दावी छ ।

ओलीले जेठ २ गते फर्किन नसकिने प्रष्ट शव्दमा भनेपछि दुवै नेता निराश भएर बालुवाटारबाट निस्किएको स्रोत बताउँछ । ओलीले बरु विश्वासको मत नलिने तर,कुनैपनि हालतमा जेठ २ मा फर्किन नसक्ने सन्देश दिएपछि नेपाल समूह अहिले आन्तरिक छलफलमा जुटेको छ । नेपाल समूहका नेताहरुलाई व्यक्तिगत रुपमा भेटेर आफूतिर तान्न प्रयास गरिरहनु भएका ओलीले अहिले फेरि गोकर्ण बिष्टलाई बालुवाटार र बिष्णु पौडेलले म्यारियट होटेल बोलाउनुभएको छ ।

ओलीले तीनवटा उध्देश्यका साथ् आफूहरुलाई भेटघाटमा बोलाएको नेपाल पक्षका नेताहरुको बुझाइ छ । ओलीले पार्टी मिलाउने भन्दापनि आफ्नो समूहको समीकरण व्यवस्थापन गर्ने अन्तर्निहित उद्धेश्यले आफूहरुसँग छलफल गरेको बुझाइ नेपाल समूहलाई परेको छ ।

नेपाल समूहसंग गुटगत डिल नगर्ने प्रष्ट बताउनुभएका ओली व्यक्तिगत रुपमा भने सो समूहका नेताहरुसँग छलफलमै हुनुहुन्छ ।  यसलाई आफ्ना नेता तान्ने ओलीको चालवाजीका रुपमा नेपाल समूहले बुझेको छ । नेपाल समूहलाई समेटेर पार्टीलाई एकतावद्ध बनाउनुपर्छ भन्ने आफूनिकट नेताहरुको मतको सम्बोधन गर्न र राष्ट्रियसभा सदस्यबाट हात धुनुपर्ने अवस्थामा पुग्नुभएका गृहमन्त्री रामबहादुर थापा बादललाई प्रयास गर्दागर्दै नसकिएको भन्ने देखाउन वार्ता र छलफलको नाटक गरिएको नेपाल समूहका कतिपय नेताको भनाइ छ ।

यता, राष्ट्रपति विद्यादेवी भण्डारी र बरिष्ठ नेता नेपालबीच हिजो भएको भेटघाट तिक्ततापूर्ण भएको बताइएको छ । राष्ट्रपति भण्डारीले भेटका लागि बोलाएपछि नेता नेपाल बेलुका शीतलनिवास पुग्नुभएको थियो । भेटमा राष्ट्रपति भण्डारीले एमाले विवादको कारक माधव नेपाल भएको आशयको अभिव्यक्ति दिएपछि नेता नेपाल रुष्ट भएर बाहिरिएको बताइन्छ ।

राष्ट्रपति भण्डारीले शुरुमा ओली र नेपाललाई सँगै राखेर छलफल गर्न खोज्नुभएको थियो । तर,नेता नेपालले ओलीसँग सँगै नबस्ने बताएपछि उहाँलाई एक्लै शीतलनिवास बोलाइएको हो । चिया पिउन भनेर बोलाइएको भेटवार्ताको शुरुमै राष्ट्रपतिले ‘तपाईंले पार्टी मिलाउन किन भूमिका नखेलेको’ भनेपछि नेता नेपाल असन्तुष्ट हुनुभएको बताइन्छ ।

‘केपी अध्यक्ष हुने,उनले एकलौटी रुपमा पार्टी र सरकार चलाउने अनि दोष चैं मलाई दिने ? तपाईंको नियत पनि बुझियो’ भन्दै नेता नेपाल शीतलनिवासबाट बाहिरिनुभएको उहाँनिकट स्रोतले बतायो ।

टिप्पणीहरू