नेपाली रैथाने खाना प्रवर्द्धनमा सेफ घनश्याम
बागलुङको काँठेखोला गाउँपालिका–६ मा जन्मिएका घनश्याम कँडेल नेपाली रैथाने खानाको विश्वव्यापी प्रवर्द्धनमा सक्रिय छन् । विगत डेढ दशकदेखि जापानमा बसेर उनले नेपाली रैथाने खानाको प्रचारप्रसार गर्दै आएका छन् । जापानसँगै नेपाल, अमेरिका, क्यानडा र अन्य मुलुकमासमेत नेपाली रैथाने खानाको प्रचारप्रसारमा तल्लीन छन् ।
जापानमा आफ्नै व्यवसाय सञ्चालन गर्दै आएका उनी ३० भन्दा बढी रेष्टुरेण्टमा सल्लाहकार छन् । आमाबुवाका सात सन्तानमध्येका कान्छा उनले गाउँकै अमर उच्च माध्यमिक विद्यालयमा अध्ययन गरे । सानैदेखि समाजका लागि केही गर्ने इच्छा भएपनि आर्थिक अवस्थाका कारण विदेश पलायन हुनुपरेको उनको भनाइ छ । उच्च शिक्षा हासिल गर्न सक्ने अवस्था नभएका उनले जेठा दाजु जयलाल कँडेलबाट खाना पकाउने अनुभव बटुले ।
दाजु भारतमा सेफ थिए । त्यसैले उनी पनि त्यही लाइनमा आकर्षित भए । दाजुको सल्लाह र प्रेरणाले उनी आज सफल सेफको रुपमा स्थापित भएका छन् । सन् १९९५ जनवरीमा भारतको मोती महल डिलक्समा किचन ट्रेनरका रुपमा छिरेका उनले १५ महिनाको ट्रेनिङबाट आधारभूत ज्ञान लिए ।
सन् १९९६ अप्रिलदेखि भारतकै हरियाणास्थित द मेजवान नामक रेष्टुरेण्टमा कुकको रुपमा काम गर्न थाले । मेजवान मुख्यतयाः इण्डियन, चाइनिज र मुगलाई खानाको निम्त प्रख्यात रेष्टुरेण्ट हो । सन् २००० सम्म भारतमा काम गरेपछि उनी नेपाल फर्किए । नेपालमै आएर आफ्नो सीपको प्रयोग गरे । सन् २००७ सम्म यतै काम गरेका उनी आफ्नो करिअरलाई थप उचाइ दिन जापान गए ।
नेपाल र भारतमा सिकेको सीपले उनलाई जापानमा निकै सहज भयो । आफ्नै व्यवसाय सञ्चालन गर्ने ऊर्जा जाग्यो । लगनशील भएकाले अहिले सफल सेफ बनेका छन् । किचर हेल्परबाट सफल सेफ बनेका उनले विभिन्न आरोह–अवरोह पार गरे । जस्तोसुकै असहज परिस्थिति भएपनि संयमता कहिल्यै नगुमाएको बताउँछन् ।
घनश्यामले सन् २०१० मार्चमा टोकियोको हानेदा विमानस्थलनजिकै रेष्टुरेण्ट खोले । रेष्टुरेण्टको सीइओसँगै उनी प्रमुख सेफ बनेर ग्राहकको सेवामा खटिरहेका छन् । विगत १५ वर्षको दौरानमा जापानमा आधा दर्जनभन्दा बढी रेष्टुरेण्ट सञ्चालन गरी यस क्षेत्रमा उच्च अनुभव संगालेको बताउँछन् ।
आफ्नो नियमित व्यवसायिक गतिविधिका अतिरिक्त उनले विभिन्न इभेण्ट र ३० भन्दा बढी रेष्टुरेण्टमा ‘एक्जिक्युटिभ सेफ एडभाइजर’ को भूमिका निर्वाह गर्दै आएका छन् । त्यसैगरी, मेन्यु उपलब्ध गराएर सहयोग पनि गर्छन् । जापानिज, इण्डियन, थाइ र नेपाली परिकारलाई फ्यूजन गरी परम्परागत परिकारलाई आधुनिक शैलीमा नवीन एवम् सृजनात्मक ढंगले प्रस्तुत गर्दै तिनीहरूको मौलिकता कायम राख्नमा पोख्त भइसकेका छन् ।
घनश्याममा भएको यो असाधारण क्षमताले उनलाई आतिथ्य क्षेत्रको ताराका रुपमा परिचित गराएको छ । हिमालयन स्वादको गहिरो अध्ययन र अनुभवका साथ आफ्नो व्यवसायिक यात्रामा अब्बल घनश्याम विश्वव्यापी पाकक्षेत्र र शैलीमा योगदान गर्नेहरुको सूचीमा अग्रस्थानमा रहन सफल भएका छन् ।
हजारौं नेपाली उद्यमीलाई प्रेरणा दिने उनी सांस्कृतिक राजदूतको रूपमा पनि चिनिन्छन् । उद्यमशील सोच र सिर्जनात्मक क्षमताका धनी सेफ घनश्याम नेपाली खानाको परम्परालाई विश्वव्यापी ग्यास्ट्रोनोमिक प्रभावहरूसँग जोड्दै नयाँ आयाम दिन सफल भएका छन् । उनले प्रतिपादन गरेको खाना–सूचीले विश्व पाक कलाको दुनियाँमा अलग्गै र विशिष्ट पहिचान बनाएको छ ।
यसले खानाका पारखीहरुबीच हुने प्रतिष्पर्धामा पनि निर्णायकको भूमिका निर्वाह गर्नुका साथै पाककला क्षेत्रका नयाँ पुस्ताहरूलाई मार्गदर्शन गर्ने विश्वास बढेको उनी बताउँछन् । नेपाली परम्परागत खानालाई अन्तर्राष्ट्रिय प्रभावहरूसँग मिसाएर विश्वव्यापी पाककला परिदृश्यमा नयाँ दृष्टिकोण समेत ल्याएका छन् उनले ।
नेपाली खानालाई विश्वमञ्चमा पुर्याउने अभियानमा लागेका सेफ घनश्यामले नयाँ पुस्ताका सेफहरूलाई खाद्य परिकारलाई आधुनिक ढंगले प्रस्तुत गर्न प्रेरित गर्दै आएका छन् । उनका शब्दहरूमा,“खाना भनेको केबल परिकार मात्र होइन्, यो मानिसहरूलाई जोड्ने सांस्कृतिक पुल पनि हो ।”
पाक कलालाई आफनो मुख्य पेशा बनाएका उनले आफनो नवीनतम कुकबुक “टिमुर” मार्फत् स्थापित परम्पराको सम्मान गर्दै नयाँ स्वादहरूको खोजीमा विश्वभर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पुस्तकमार्फत आफ्नो ज्ञान र सीप अरुलाई बाँड्न उनले आफ्नो थप ऊर्जा यसमै केन्द्रित गरेका छन् ।
नेपाली, जापानिज, थाई र इण्डियन खानाका पारखीहरुका लागि यो पुस्तक सहयोगी र बहुउपयोगी साबित हुने विश्वास छ । उनी र उनका सेफ दुर्गाबहादुर खड्काको पाककलासम्बन्धी पुस्तक “भोजनलिपि” पनि नेपाली खानालाई विश्व बजारमा चिनाउन सहयोगी हुने विश्वास लिइएको छ ।
समाजसेवामा समेत परिचय बनाएका उनी अरुलाई सहयोग गर्दा सन्तुष्टि प्राप्त हुने बताउँछन् । उनले सन् २०१४ देखि बिहुँकोट समाज जापान नामक सामाजिक संस्थामार्फत सामाजिक काम गर्दै आएका छन् । बिहुँकोटका झण्डै चार हजार बासिन्दा जापानमा छन् । उनीहरु विभिन्न पेशामा आबद्ध छन् । घनश्याम सो संस्थाको निवर्तमान अध्यक्ष तथा एनआरएनए जापानको सल्लाहकार पनि हुन् ।
टिप्पणीहरू