फोहोर उठाउन अग्रवाल समाजको पाइडल रिक्सा

फोहोर उठाउन अग्रवाल समाजको पाइडल रिक्सा
सुन्नुहोस्

मोरङको विराटनगर महानगरपालिकाद्वारा सञ्चालित सरसफाई अभियानमा सामाजिक संस्थाहरुले पनि सहयोग गर्न थालेका छन् । विराटनगरलाई सफा, सुन्दर र हराभरा बनाउन महानगरले गरिरहेको अभियानलाई स्थानीय सामाजिक संस्थाहरुले पनि साथ दिन थालेका हुन् । 

अभियानलाई अझ प्रभावकारी बनाउन हालै अग्रवाल समाज विराटनगरले महानगरलाई दुई थान पाइडल रिक्सा दिएको छ । अहिले महानगरले बजारमा थुप्रिएका फोहोरमैला दिनहुँ बिहान ट्याक्टर र टिपरमार्फत उठाउने गरेको छ । तर, बिहान मात्रै फोहोर उठ्ने हुँदा दिनभर मरेका जनावर, पशुपंक्षीदेखि फालिएका कुहिने फोहोरबाट मुख्यबजार क्षेत्र दुर्गन्धित हुने गर्छ । 

समाजका अध्यक्ष राजकुमार अग्रवाल पाइडल रिक्सालाई दिनभर मात्र नभएर साँझसम्म मुख्य बजार क्षेत्रमा मोबाइल सरसफाई एम्बुलेन्सका रुपमा प्रयोग गर्न सकिने बताउँछन् । उनले नगर प्रमुख नागेश कोइरालालाई रिक्साको साँचो हस्तान्तरण गर्दै प्रभावकारी प्रयोग भएमा सबै वडामा उपलब्ध गराउने बताए ।

नगर प्रमुख कोइरालाले पनि रिक्साको प्रयोग गरेर शहरलाई अझै सफा बनाउने प्रतिबद्धता व्यक्त गरे । अहिले बिहान मात्र उठाइँदै आएको विराटनगर मुख्य बजार क्षेत्रको फोहोर अब पाइडल रिक्सा प्रयोग गरेर दिनभर संकलन गरिने उनको भनाइ छ । 

सरसफाई शाखाका प्रमुख पुनमकुमार दाहालका अनुसार रिक्साले मुख्य बजारका फोहोरसँगै सडकमा मृत भेटिएका पशुपंक्षीसमेत उठाउनेछ । यसअघि कसैले सडकमा मरेका जनावर तथा पशुपंक्षीबारे खबर गरेको एक घण्टामा उठाउने गरिएकोमा अब बढीमा आधा घण्टाभित्र उठाइसक्ने उनको भनाइ छ । 

रिक्सामा माइक जडान गरेर फोहोरमैला नगर्न र गरेमा कानूनबमोजिम हुने दण्ड सजायबारे पनि बजाउने व्यवस्था गरिएको छ । पछिल्लो समय पाइडल रिक्सा विस्थापित हुँदै गएको छ । अहिले विराटनगरमा बिजुली ब्याट्रीबाट चल्ने सिटी रिक्सा मात्र देखिन्छन् । 

साढे दुई लाख बराबर जनसंख्या भएको विराटनगर महानगरपालिकामा दैनिक ८० मेट्रिक टन फोहोर उत्पादन हुँदै आएको छ । सीमित बजेट र नगरबासीको असहयोगले विराटनगरमा फोहोरमैला व्यवस्थापन निकै कठिन बनिरहेको छ । 

फोहोरमैला व्यवस्थापनमा महानगरले कडाई गरेपनि पूर्णपालना हुन सकेको छ । अहिले महानगरले साझेदारी संस्थाहरुमार्फत सशुल्क निजी रिक्सा र निःशुल्क ट्याक्टर, ट्रिपरलगायत प्रयोग गरेर फोहोरमैला संकलन र व्यवस्थापन गर्दै आइरहेको छ ।

टिप्पणीहरू