मूर्ति वा शिलालेखहरूमा पसिना आउँदैन

मूर्ति वा शिलालेखहरूमा पसिना आउँदैन

– लेखनाथ भण्डारी

जनआस्था साप्ताहिकको अनलाइन संस्करण विसं २०७८ वैशाख २५ मा दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा पसिना आएको र सोही दिन प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले एक प्रेस विज्ञप्ति जारी गर्दै बैशाख २६ गते नै सम्माननीय राष्ट्रपतिसमक्ष दोलखा भीमेश्वर भगवानको महाप्रसाद पठाउने व्यवस्था मिलाएको समाचार प्रकाशित छ ।

यसै साप्ताहिकमा विसं २०७७ मङ्सिर १० गते प्रकाशित अर्को समाचारमा ‘रास्ट्रपतिलाई दोलखाको प्रसाद’ शीर्षकको समाचारमा पनि त्यसको अघिल्लो दिन दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा पटक पटक पसिना आएको र सो कुरा जिल्ला प्रशासनका तर्फबाट सहायक जिल्ला प्रमुख अधिकारीले प्रेस विज्ञप्तिमार्फत् नै सार्वजनिक गरेको उल्लेख छ ।यी दुवै विज्ञप्तिको सार हो- भीमेश्वर मन्दिरको शिलामा पसिना आएको विषयलाई लिएर जिल्ला प्रशासनको अगुवाईमा सुरक्षा निकायका प्रमुख तथा मन्दिर पूजा व्यवस्थापन समितिका पदाधिकारीहरूको संयुक्त बैठकले चलिआएको परम्पराअनुसार राष्ट्र प्रमुख तथा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दोलखा भीमेश्वरको महाप्रसाद पठाउने निर्णय’ गरेको थियो ।

जनआस्थाको समाचारमा जनाइएअनुसार ०५८ सालको दरवार हत्याकाण्डलगायत ०७२ को भूकम्पजस्ता अनेक घटनाको संकेतस्वरुप भीमसेनलाई पसिना आउने गरेको छ । भीमेश्वरको शिलामा पसिना आएपछि भक्तजनहरु मन्दिर परिसरमा भेला भएर घण्टी बजाउने,धूप बत्ती गर्ने र मन्दिरका मुख्य व्यक्तिहरुले पंखाले शिलामा हम्कने गर्छन् । भीमेश्वरको शिला (चट्टान)मा पानीका कालो थोपा देखिएर झर्ने क्रमलाई ‘पसिना’ आएको विश्वास गर्ने गरिएको छ ।यही प्रकृतिको समाचार अन्य संचार माध्यमहरूमा पनि आउने गरेका छन् । यससम्बन्धमा कान्तिपुर दैनिकमा मंगलबार मंसिर ९,२०७७ मा ‘दोलखा भीमसेनलाई ‘पसिना’,शीर्षकको समाचारमा सो दिन शिलामा पसिना आएको र मन्दिरमा शिला पुछेको कपास लिनेको भीड लागेको उल्लेख छ ।

समाचारमा शिलाको ‘पसिना’ पुछेको कपास राष्ट्रप्रमुख र सर्वसाधारणमा बाँड्ने चलन रहेको र यसअघि २०७४ सालमा पनि मंगलबारकै दिन तथा विसं १९९०, २००७, २०२८ र २०७० पनि भीमेश्वरको शिलामा पसिना आएको उल्लेख गरिएको छ । यसै दैनिकमा विसं २०७६ फाल्गुन ८, राजेन्द्र मानन्धरले “दोलखा भीमसेनलाई ‘पसिना’, मन्दिर परिसरमा दर्शनार्थीको भीड”, शीर्षकको समाचारमा लेखेका छन् – वि.सं. १९९० पछिका दिनहरुमा भीमेश्‍वरमा पसिना आएपछि कपास र प्रसाद राजासमक्ष पुर्‍याउन थालिएको हो ।

१९९० सालपछि कम्तीमा १५ पटक शिलामा यसरी नै पसिना आएको अभिलेख भीमेश्‍वर मन्दिर व्यवस्थापन समितिसँग छ । दोलखा भीमसेनलाई ‘पसिना’: राष्ट्रपतिद्वारा ‘महाप्रसाद’ग्रहण, यो शीर्षकमा विसं २०७६ फाल्गुन १० मा प्रकाशित कान्तिपुर दैनिकको अर्को समाचारमा राष्ट्रपति भण्डारीले मन्दिरको महाप्रसाद ग्रहण गर्दै गरेको फोटो प्रकाशित छ ।

सामान्यतः पसिना प्राणीहरू (मानिस र पशु) मा हुने तापक्रम सन्तुलन प्रकृया हो । यस प्रक्रियमा शरीरमा पानीका कण वा थोपा देखा पर्छन् । तसर्थ मूर्ति वा शिलाहरूमा आउने पानीलाई पसिना भन्न मिल्दैन । किनकि प्राणीमा जुन प्रकृयाले पसिना आउँछ,त्यसरी निर्जीव वस्तु मूर्ति वा शिलाहरूमा पानी आउँदैन र यसलाई पसिना भन्न पनि मिल्दैन ।

मानिसको शरिरमा पसिना किन र कसरी आउँछ ? बाह्य वा आन्तरिक कारणले शरिरमा ताप धेरै भयो भने शरिरको ताप सन्तुलनमा राख्न शरिरभित्र भएको पानी बाहिर आउँछ । मानिसका शरिरमा यस्ता पसिना आउने ग्रन्थी / छिद्र लाखौं हुन्छन् । यो हाम्रालागि घर अफिसमा हुने AC अर्थात एयर कण्डिसनिङ्ग जस्तै हो अर्थात शरीरमा तातो भएपछि चिसो हुने अटोमेटिक सिस्टम ।

मूर्ति वा शिलाहरूमा आउने पानी भने बाहिरको वातावरणमा हुने तापमानको अन्तरको कारणले हुन्छ । जब मन्दिर बाहिरको ताप बढेर धेरै हुन्छ तर कोठाभित्र राखिएको मूर्ति वा शिलाहरूमा भने बाहिरको तापक्रमभन्दा कम ताप हुन्छ । त्यसमा पनि शिलाहरू वा मूर्ति ठोस धातु वा ढुङ्गाहरुको हुने हुँदा यिनमा तातो पनि धेरै वा चिसो पनि धेरै हुन्छ । जब बाहिरको तातो हावा / वाफ मन्दिर भित्रको मूर्ति वा शिलाहरूमा पुग्छ,त्यो हावा/वाफ चिसिएर पानी बन्छ । यो सजिलोगरी बुझ्नलाई बाफबाट बनेको पानी नै हो । यसैलाई मूर्ति वा शिलाहरूमा पसिना आयो र अब अनिष्ट वा लाभ हुन्छ भनेर डर वा खुशी मान्नु पर्दैन ।

यही प्रकृयाले नै पानी पर्ने हो । यस्तो भित्र चिसो र बाहिर तातो हुँदा सँधै वा पहिले पहिलेदेखि नै हुँदै आएको हुनुपर्छ । तर यसलाई आजभोलि मानिसहरूले ख्याल गरेको र समाचार बनाएको मात्र हो त्यो पनि भगवानको मूर्तिमा पसिना आयो र अब अनिष्ट हुन्छ भन्ने कुरा जोडेर । तर यस्तो होइन अर्थात भगवानलाई गाह्रो भएर पहिना आएको चैं हुँदै होइन ।

सामान्य उदाहरण हामीले खाना पकाउँदा भाँडो तातिएर वाफ निस्कन्छ तर भाँडो छोपेको बिर्को वा ढकनीमा भने पानीका कण/थोपाजस्तो जम्मा हुन्छ । मूर्ति वा शिलाहरूमा भएको वा हुने यही हो ।

खाना पकाउने भाँडोको ढकनीमा बाफ पानीको थोपा जसरी आउँछ,शीत वा तुषारो र हिउँ पनि त्यस्तै प्रक्रियाबाट हुने अन्य रूपहरू हुन् । हावामा भएको बाफ धेरै नै चिसिंदै जाँदा हिउँ बन्छ भने हिउँ नबन्दै बोटबिरुवा र जमिनमा आयो भने यो चैं बोटबिरुवा जमिनको तातोमा पानीको थोपा वा पानी जमेको पातलो जालोजस्तोमा परिणत हुन्छ । थोपालाई शीत र जालोलाई हामी तुषारो भन्छौं ।दोलखा बजारस्थित भीमेश्वर मन्दिरमा रहेको मुख्य शीला वा मूर्तिमा पसिना आउने र यसले अनिष्ट निम्त्याउने समाचार सुनेको/पढेको धेरै भयो । यहाँ पनि तापक्रमको यो प्रक्रिया हुनसक्छ तर यो भगवानलाई गाह्रो भयो वा अनिष्ट हुने संकेत हो भन्ने कुरा गलत हो । यस्ता समाचारको वैज्ञानिक कारण वा यस्तो किन र कसरी हुन्छ भन्ने जानकारी दिनु पनि समाचार प्रेषकको दायित्व हो ।

यी प्रकृतिको तापमानसँग सम्बन्धित प्रकृया हुन् । यसलाई अनिष्ट वा शुभलाभका संङ्केत हुन् भनेर प्रचार नगरौं । प्रकृतिका प्रकृयालाई शुभ अशुभ/अनिष्ट भनेर प्रचार गर्नु र बुझ्नु हुँदैन । यो विज्ञानले प्रमाणित गरेको तथ्य हो । यसबारे विज्ञान तथा प्रविधि शिक्षासँग सम्बन्धित संस्था वा प्रतिष्ठानले मौनता साँधेर बस्नु हुन्न ।

टिप्पणीहरू