निषेधाज्ञा उल्लंघन र अभद्र व्यवहार गर्ने ५ जना पक्राउ

निषेधाज्ञा उल्लंघन र अभद्र व्यवहार गर्ने ५ जना पक्राउ

निषेधाज्ञा उल्लंघन, प्रहरीमाथि अभद्र व्यवहार र संक्रामक रोग ऐन, २०२० विरुद्धको कसूर गरेको अभियोगमा वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानबाट पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा वीरगञ्ज महानगरपालिका–१० का २६ वर्षीय साहेव शेख, पोखरिया नगरपालिका–३ का १९ वर्षीय हनिफ हुसेन, विन्दवासिनी गाउँपालिका–४का ३० वर्षीय भोलाप्रसाद साह, वीरगञ्ज महानगरपालिका–१३ का ३० वर्षीय मोहम्द असरफ राइन र भारत विहार वेतिया, वैरिया–३ का मुन्ना साह रहेका छन् ।

कोभिड–१९ रोगको संक्रमण रोकथाम गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय पर्साले बैशाख ३० गतेदेखि जेठ ६ गतेसम्मका लागि जारी गरेको निषेधाज्ञा कार्यान्वयन गराउने क्रममा निषेधाज्ञा उल्लंघन गरी खोलिएका पसल बन्द गराउने र अनावश्यक हिँडडुलल, आवतजावतमा रोक लगाउने कार्यमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीमाथि अभद्र व्यवहार गरी प्रहरी कामकारबाहीमा अवरोध पुर्याएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरु उपर सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसूर एवम् संक्रामक रोग ऐन, २०२० बमोजिम कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

टिप्पणीहरू