चेम्बरले पत्ता लगायो-भेन्टिलेटरका ८० प्रतिशत बिरामी घर फर्कन्नन्
नेपाल चेम्बर अफ कमर्सले काठमाडौंका विभिन्न अस्पताललाई अत्यावश्यक स्वास्थ्य सामग्री वितरण गर्ने क्रममा भेन्टिलेटरका असी प्रतिशत बिरामीको निधन हुने गरेको पत्ता लगाएको छ ।
अध्यक्ष राजेन्द्र मल्लसहित पदाधिकारीहरूले काठमाडौंका सरकारी अस्पतालहरूलाई पीपीई सेट, सर्जिकल मास्क,सर्जिकल पञ्जा, भीटामिन सी ट्याब्लेट, सिटामोललगायत अत्यावश्यक सामग्री आज वितरण गरेको हो ।
टोलीले नेपाल प्रहरी अस्पताल, कान्ति बाल अस्पताल,परोपकार मातृ तथा बाल अस्पताल थापाथली,वीर अस्पताल,त्रिवि शिक्षण अस्पताल,क्षेत्रपाटी निःशुल्क अस्पतालमा सामग्रीहरू वितरण गरेको हो ।
चेम्बरले कोभिड–१९ को दोस्रो लहरका कारण उत्पन्न स्वास्थ्य संकट समाधानका लागि विपद् व्यवस्थापन समितिका सभापति एवम् कार्यसमिति उपाध्यक्ष दीपककुमार मलहोत्राको संयोजकत्वमा ‘नेपाल चेम्बर कोभिड–१९ केन्द्रीय व्यवस्थापन समिति’ गठन गरी विभिन्न अभियान सञ्चालन गरिरहेको छ ।
उक्त अभियानअन्तर्गत बिरामीहरूको बढी चाप हुने सरकारी अस्पतालमा अत्यावश्यक स्वास्थ्य सामग्री वितरण गरिएको चेम्बरले जनाएको छ ।
सो क्रममा वीर अस्पतालको तर्फबाट प्रा. डा. रमिला श्रेष्ठले स्वास्थ्य सामग्री बुझ्नुभएको थियो भने त्रिवि शिक्षण अस्पतालमा प्रा. डा. पवनराज चालिसेको हातमा दिइएको थियो ।
यस्तै क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा डा. मनोज श्रेष्ठले र नेपाल प्रहरी अस्पतालमा मेडिकल डाइरेक्टर एवं प्रहरी अतिरिक्त महानिरीक्षक आशा सिंहले स्वास्थ्य सामग्रीहरू प्राप्त गर्नुभएको थियो ।
कान्ति बाल अस्पतालका निमित्त निर्देशक डा. रामहरि चापागाईँलाई र परोपकार मातृ तथा बाल अस्पतालकी डा.आशालक्ष्मी प्रजापतिलाई सामग्रीहरू बुझाइएको थियो ।
अस्पतालहरूमा अत्यावश्यक अक्सिजन तथा सिलिन्डरको अभाव देखिएकाले यथाशीघ्र सिलिन्डर तथा अक्सिजन कन्सन्ट्रेटर आयात गरी एक साताभित्र वितरण गरिने अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिनुभएको छ ।
स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवाल,उपाध्यक्ष दीपककुमार मलहोत्रा र सुरेन्द्रकुमार श्रेष्ठ,कार्यसमिति सदस्यहरू नवराज ढकाल र सन्तोष पाण्डेको समेत सहभागिता थियो ।
टिप्पणीहरू