रातो मत्स्येन्द्रनाथका जिउँदा पुजारी भोकभोकै,गुठी मौन
बत्तिमुनीको अँध्यारो भनेझैँ निकै तामझामका साथ हरेक वर्ष मनाइने ललितपुरको रातो मत्स्येन्द्रनाथका पुजारीहरू आफैँ भोकै पर्ने अवस्था आएको छ । पुजारीको व्यक्तिगत लाखौं रुपैयाँ खर्च हुने तर सुको शोधभर्ना नभएपछि परिवारसमेत बिचल्लीमा पर्ने देखिएको हो ।
बैशाखमा शुरु हुने मत्स्येन्द्रनाथको रथयात्रानिम्ति तयारी भने छ महिनादेखि थालिने परम्परा छ । मंसिरदेखि कुमारी पूजा गरेपछि बुँङमतिका पुजारी नरेन्द्रमान शाक्य र सनिल शाक्यले दिनहुँ घामपानी नभनी बेलुकातिर जलपान र खलपान गरेर सँधैझैँ भोज र पूजा गर्नुपर्ने हुन्छ ।
रथमा बस्ने ती दुई पुजारीले सात चोटी भोज गरेर प्रसाद स्वयम्भूमा पठाउनुपर्छ । त्यसैगरी धेरै वटा बलि दिनुपर्छ । भैरवस्थानमा समेत बलि दिनुपर्छ । कटवाल दहबाट पुलचोकसम्म भगवान ल्याउँदा खालि गोडामा १८ किलोमिटर हिँड्नुपर्छ ।
ती सबै काम गर्न वार्षिक सातदेखि आठ लाख रुपैयाँ खर्च हुन्छ । त्यो सबै पुजारीहरूले आफ्नै खर्चमा गर्दै आएको बताइन्छ । पुजारी नरेन्द्रमान भन्छन् ‘पैसाको लागि होइन,आस्थाको लागि पुजारी बनेको हो । भोजको कुरै छाडौं, सबै गरेर हरेक वर्ष सातदेखि आठ लाख रुपैयाँ खर्च हुन्छ ।’
उनका अनुसार विगतमा त्यसमध्ये धेरैजसो रकम मत्स्येन्द्रनाथको जात्राभर भेटिघाटीबाट उठ्थ्यो । पूजाआजा र भेटीबाट आफ्नो खर्च उठ्ने गरेकाले खासै चिन्ता थिएन । तर पोहोर र यो वर्ष लकडाउन र निषेधाज्ञाको कारण सर्वसाधारणको आवागमन ठप्प भयो । यसपटक रथ यात्राको निम्ति सात दिन बाँकी छ । तर पनि निषेधाज्ञाको कारण सर्वसाधारणको आवतजावत छैन । सात दिनपछि भगवान फिर्ता लैजाने सहमति भएको छ । साइतअनुसार ५ गते बुधबार फिर्ता लाने भनिएको छ ।
गत वर्ष र यो वर्ष पुजारीले आशा गरेअनुसारको भेटी नउठेपछि उनीहरू मर्कामा परेका हुन् । सामान्य परिवारका उनीहरूले गत वर्ष र यो वर्षको गरी झण्डै १५ लाख खर्च भएपछि आफूहरू मात्र होइन परिवार नै भोको पर्ने सम्भावना बढेको भन्दै गुनासो गरेका छन् ।
जात्रा प्रारम्भ गर्नुअघि ललितपुर सिडियो कार्यालयमा भएको सर्वपक्षीय बैठकमा पुजारीको उक्त समस्याबारे कुरो उठाइएको थियो । ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले बैठकमा पुजारीको समस्या जायज भएको बताउनुभएको थियो । कायममुकायम सिडियोको उपस्थितिमा भएको उक्त बैठकमा गुठी संस्थान,ललिपुरका प्रमुखको समेत उपस्थिति थियो ।
बैठकमा पुजारीले आफूहरूको ठूलो रकम खर्च हुने तर जात्रा गर्न नपाएकाले भेटी नउठेपछि मर्कामा पर्ने बताएका थिए । उनीहरूले यसरी लाखौं खर्च गरेर परिवारै नाङ्गै हुने अवस्था आएमा भोलिको दिनमा कोही पनि पुजारी बन्न नचाहनेतर्फ सबैले सोच्नुपर्ने बताएका थिए ।
बैठकमा गुठी संस्थानका प्रतिनिधि तथा ललितपुर कार्यालयका प्रमुखले व्यहोरा खुलाएर निवेदन हाल्न भने पनि अहिलेसम्म कुरो अघि नबढेपछि पुजारीहरू चिन्तित भएका हुन् । उनीहरू भन्छन् ‘गुठीको भर छैन । जात्रा सकिएपछि सबै भुस हुन्छ ।’
रातो मत्स्येन्द्रनाथका पुजारी र तिनका परिवारले रथ यात्राको अवधिभर एक छाक खाएर बस्नुपर्छ । नित्य पूजामा सघाउनुपर्ने भएकाले परिवारले समेत बुँगमति छाडेर पुल्चोक बसी एक छाक खानुपर्ने बाध्यता रहेको हो ।
टिप्पणीहरू