नारायणहिटीमा नुवाकोट खोज्दा …
-प्रदिप नेपाल
फागुनको अन्तिम शनिबार, शिवरात्रीको दिन शहिद भरत ढुङ्गानाको स्मृतिग्रन्थको सार्वजनिकीकरणमा सहभागी भएर काठमाडौँतिरै भुलेको थिएँ । बिदाको दिन भाई र साथीसँग नारायणहिटी घुम्न जाने सल्लाह भयो । राजा बस्ने दरबारलाई सङ्ग्रहालय बनाएर सर्वसाधारणका लागि खोलिएकोबारे समाचारमा आउने चर्चा र राजाको पालाका कुराहरु अलिअलि सम्झना थियो । विशेष सम्झना लोकप्रिय मानिएका राजा विरेन्द्रको वंशनाश दरबारै भएको भन्ने थियो । बिहान ८ बजेको हुँदो हो, लक्ष्मी दिदीलाई फोन गरेँ, “दिदी नारायणहिटी जानुहुन्छ ?”
“स्कुटर छैन ।” दिदीको जवाफ । “हामीसँग बाइक छ ।” मेरो कुराले दिदीलाई के लाग्यो कुन्नी ‘लगे जान्छु’ भनेर फोन राख्नुभयो । साढे १० बजेतिर बालाजुमा दिदीलाई रिसिभ गरेर सोह्रखुट्टेबाट लैनचौर हुँदै नारायणहिटी पुगियो । भाई सुदिप अगाडि नै पुगिसकेको थियो । दिदीलाई छोडेर म साथी प्रतिकलाई रिसिभ गर्न गएँ । नारायणहिटी गेट अगाडी छु भनेको मान्छे कमलादी रहेछ ।
टिकट काउन्टरमा छिर्नुअघि गेटमा टिकटदर राखिएको बोर्ड थियो । नेपालीलाई प्रतिव्यक्ति दुई सय, विदेशी नागरिकका लागि ५ सय र नेपाली विद्यार्थीका लागि ५०, टिकटदर अलि महंगो लाग्यो । टिकट हातमा लिएर ब्याग, मोबाइल लगायतका सामाग्री लकरमा राख्न दियौँ । १७८ नं लेखिएको चाबी लिएर हामी दरबार छि¥यौँ । मुख्यद्धार काठका बुट्टा भरेर बनाइएको आकर्षक थियो । दरबारका द्धार अर्थात् ढोकाका नाम हिमालबाटर कोठाका नाम जिल्लाबाट राखिएका । मुलद्धार छिर्नासाथ कास्की कक्ष रहेछ जहाँ विदेशी राष्ट्राध्यक्षको स्वागत, प्रधामन्त्रीलगायत संवैधानिक अंगका प्रमुखको सपथग्रहण, ओदोदाको प्रमाणपत्र चढाउनेजस्ता महत्वपूर्ण कार्य हुँदारहेछन् ।
कास्कीकक्षको देब्रेपट्टीबाट छिरेर हामी कक्षहरुको अवलोकनतर्फ लाग्यौँ । म्याग्दी, पर्वत, रुकुम, रोल्पा, दैलेख, बैतडी, अछाम, बाजुरा जुम्ला डोल्पा गोरखा आदि जिल्लाका नाममा रहेका फरक फरक कक्षमा हुने कामहरुको विवरणसहित उल्लेख थियो । जिल्लाका नाममा कक्ष देखेपछि हामीलाई नुवाकोटको कौतुहलता जाग्यो । तर भेटिएको थिएन । भ्रमणका क्रममा भेटिएका एकजनाले अर्घाखाँची खोज्दैथिए । सबैलाई आफ्नो जिल्ला प्यारो लाग्नेरहेछ ।
संवैधानिक अंगका प्रमुख र राजदुतलाई जलपान गराउने कक्ष म्याग्दी, हस्ताक्षर गराउने कक्ष पर्वत, विदेशी राष्ट्रप्रमुखलाई भेट गर्न आउने विशिष्ट व्यक्तिहरुले पर्खने अर्थात प्रतिक्षा गर्ने कक्ष रुकुम, रोल्पा कक्षमा भेटघाट । यसरी कक्षहरुको कार्यविभाजन थियो । रोल्पादेखि बैतडी कक्षसम्मको करिडोरमा केही तस्बिरहरु राखिएका रहेछन् । ति तस्बिर नेपाल भ्रमणमा आएका विदेशी राष्ट्रप्रमुखसँग राजा विरेन्द्रले खिचाएका हस्ताक्षरसहितका तस्बिर थिए । गोरखा कक्षमा युवराज घोषणा समारोह हुनेरहेछ । हामीले त्यो कक्ष देखेसँगै सम्झियौँ, पूर्वयुवराज दीपेन्द्र विरविक्रम शाहदेव ।
धनुषा कक्ष दशैँ टिका लगाउने कक्ष रहेछ । लमजुङ कक्षमा रात्रीभोज हुनेरहेछ । हामीले अवलोकन गरेका कक्षहरुमा जानकारीसहितका तस्बिरहरु, पुरस्कार तथा मायाको चिनोहरु पनि थिए । हामीले विदेशी राष्ट्राध्यक्ष र उनका पत्नीका लागि बनाएका शयनकक्ष र भव्य पलङहरु देख्यौँ । जस्तो ठाउँमा सुतेपनि निद्रा उही होला ! हामी ठ्टटा गर्दै मुल भवनको बाहिरपट्टी निस्कियौँ ।
बाहिरपट्टी दरबारहत्या काण्ड भएको स्थान देख्यौँ । जहाँ गोलीले प्वाल परेका भवनका भित्ता र दिपेन्द्र र निराजन घाइते फेला परेको स्थान लेखिएको थियो । त्यसपछि केही अगाडि सार्क सम्मलेन स्थल, घुम्ने घर र पोखरी पनि देख्यौँ । सिंगै संसार नै एउटा दरबारभित्र भेट्यौँ जस्तो अनुभूति भइरहेको थियो । बगैँचा, रमणीय वातावरण, भव्य महल, सजावट सबै–सबै, एउटा छुट्टै संसार थियो दरबारभित्र । नारायणहिटीमा रहेका ५२ वटा कक्षमध्ये हामीले ३२ वटा कक्षमात्र अवलोकन गर्यौँ । किनकि अन्य कक्षहरु सर्वसाधारणका लागि खुला गरिएको रहेनछ ।
हामीलाई सबैभन्दा कौतुहलता लागेको श्रीपेच पनि अवलोकन गर्यौँ । त्यहाँ रेखदेखमा खटिएका कर्मचारीले श्रीपेचमा जडित बहुमुल्य रत्न र चराको प्वाँखबारे दिएको जानकारी हामीलाई विस्वास मान्न कठिन भइरहेको थियो ।
श्रीपेचको सुरक्षाका लागि बुलेट प्रुफ सिसाको सोकेस थियो । श्रीपेचमा ७५० वटा हिराका टुक्रा र टायरामा २ हजार ७ सय टुक्रा छन् छन् भन्ने कुरा त्यहाँका कर्मचारीले जानकारी दिए । श्रीपेचको कल्की भने वर्ड अफ प्याराडाइज नामक चराको पुच्छर रहेछ । रोचक कुरा त के भने त्रिपेचमा हामीले चराको टाउको देख्यौँ । ती कर्मचारीले हामीलाई झर्को नमानी देखाए । एउटै अंगुरका झोप्पा जस्ता राता रत्न पनि थिए श्रीपेचमा त्योमध्ये एउटै दानाको १० करोड हाराहारीको मुल्य सुन्दा पत्याउनु कसरी ? श्रीपेचको मुल्य निर्धारण गर्नै नसकिएकाले त्यो बहुमुल्य छ ।
उक्त प्रदर्शनमा राखिएको श्रीपेच राजा विरेन्द्रका लागि २०२८ सालमा प्रेमलाल श्रेष्ठले तयार गरेका रहेछन् भन्ने कुरा उनै कर्मचारीबाट थाहा पाइयो । हसिँला युवक ति कर्मचारीलाई हामीले हाँसी हाँसी धन्यवाद भन्यौँ । रानीको मुटुक र राजाले हातमा लिने राजदण्ड पनि त्यहाँ थियो ।
राजाको निजी निवास पुग्दा…
अवलोकन सकिएजस्तो लागेर बाहिर निस्कने ठाउँतिर जाँदैथियौँ । गार्ड खटिएका व्यक्तिले दाँयातर्फ जान संकेत गरे । त्यो हाम्रो वायाँ तर्फ थियो । केही बेर हिँडयौँ । हामी अवलोकन गर्दा गर्दा थाकिसकेका थियौँ । केही पर पुगेपछि तारबार गरिएको भुभागमा हरियो रंगका सैन्य हेलिकप्टरहरु देख्यौँ । ति त्यहाँ पार्किङ गरी राखिएका थिए । केही समयअघि सडकमै गुडाएर ल्याइएको भनेर चर्चा भएको विमान पनि हामीले देख्यौँ । नेपाली सेनामार्फत् राजाले प्रयोग गरेका हेलिकोप्टर र हवाई जहाज पनि थिए ।
साथै हिटलरले उपहार दिएका गाडी, राजाका बग्गीहरू, राजाले प्रयोग गरेका सवारीसाधनहरू पनि देख्यौ । राजा र उनका परिवारले चढ्ने गाडिहरु देख्यौँ । खेनौलाजस्ता देखिने गाडिहरु राजाका छोराहरुले प्रयोग गर्ने गर्दारहेछन् । अचम्म लाग्ने कुरा राजा र राजपरिवारका सदस्यले प्रयोग गर्ने, विदेशी राष्ट्रप्रमुखले चढेका त्यहाँ राखिएका गाडिमा नम्बरप्लेट थिएनन् । झण्डा र श्रीपेचको चित्रअंकित देख्यौँ । हामी छक्क पर्यौँ ।
केही पर पुगेका थियौँ श्री सदन लेखेको देख्यौँ । वरिपरि हेर्यौँ । ‘यो पनि घुम्ने ठाउँ त रहेछ !’ मैले भनेँ । ‘खै मलाई थाहा छैन, अस्ति नै आउँदा त मैले घुमेको होइन’ लक्ष्मी दिदीले भन्नुभयो । हामीले दिदीले आधा घुमेर गएको भन्दै जिस्कायौँ ।
तीन तलाको यो भवन हेर्दा सामान्य नै लाग्यो । तर यो त राजाको निजी निवास पो रहेछ । जहाँ राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन र अधिराजकुमारी श्रुति बस्ने गर्दा रहेछन् । लामो कम्पाउन्ड छिचोलेर १२ कोठे भवनमा पुगेका थियौँ । दक्षिण मोहडाको श्रीनिवासको भुइँतला ढोकाको दायाँबायाँ राजपरिवारका विभिन्न फोटाहरू सजाइएका छन् । पूर्वतर्फ बैठक कक्ष र खानपान गर्ने डायनिङ हल रहेछ । बायाँतर्फका दुई कक्षमा राजा र रानीको कार्यालय पनि । हामीले राजा रानीले कार्यालयमा बसेर के के काम गर्थे होला । केही बेर कल्पना ग¥यौँ । एकआपसमा जिस्कियौँ पनि ।
प्रवेश ढोकाबाट सिधै उत्तरभित्तातर्फ भर्याङ थियो । बीच तला उक्लिँदै गर्दा राजा महेन्द्र रानीद्वय रत्न र इन्द्रको फोटो देख्यौँ । राजा र रानीको कक्ष लेखिएको थियो । पूर्वतर्फ रानी ऐश्वर्यको ड्रेसिङ तथा श्रृंगार कोठा, श्रृंगार पूजा कक्ष, पश्चिमतर्फ राजा वीरेन्द्रको पोसाक कक्ष, दम्पतीको खोपी छन् । त्यहाँ जाँदा हामीले पारिवारिक सामुहिक तस्बिर देख्यौँ । जुन तस्बिरका मुनी तस्बिरमा भएका व्यक्तिहरुको हस्ताक्षर पनि थियो । हामीलाई यो कुरा मन पर्यो । राजाको सुत्ने कोठामा कुकुरको विस्तारा थियो । बच्चाको झोलुंगोजस्तो हामीले एकछिन मेसो पाएनौँ । के रहेछ ? भन्ने । पछि त्यहाँ लेखिएको देख्यौँ राजाको जित नामको कुकुरको ओछ्यान रहेछ (त्यो झुला बेतको पो थियो कि बिर्से)।
माथिल्लो तेस्रो तला पूर्वतर्फ श्रुतिको सुत्ने, पढ्ने, पेन्टिङ गर्ने र झुलिने खुला ठाउँ रहेछ । रमणीय लाग्यो । पश्चिमतर्फ नीराजनको पढ्ने, सुत्ने र व्यायाम कक्ष रहेछ । निजी निवासमा रानीले संकलन गरि राखेका शास्त्रीय संगितका क्यासेटहरुले उनको संगीतप्रतिको मोह झल्क्याउँथ्यो ।
पछि मात्र थाहा पायौँ, नारायणहिटी दरबार पहिले नै सर्वसाधारणका लागि खुलेपनि यो सदन भने मात्र पछि खुलेको रहेछ । र यी गाडि तथा जहाजहरु पनि । काठमाडौं महानगरपालिका वडा नं. १ मा रहेको नारायणहिटी दरबार परिसर ७ सय ५४ रोपनी क्षेत्रफलमा फैलिएको छ । यो कुरा गेटबाट निस्कदै गर्दा पाइने पर्चामा उल्लेख थियो ।
गेटमा निस्केर केही थान तस्बिर खिच्दै गर्दा पनि यत्रो दरबारमा नुवाकोट नभेटेको भन्दै हामी जिस्किरह्यौँ । साँच्चै नारायणहिटी दरबारमा नुवाकोट खोज्न गएर नपाएपछि पछुताएजस्तो ।
हामीलाई कथाजस्ता लाग्ने पुराना कुरा, कला कौशल र राजपरिवारको जीवनशैलीबारे एकदिनको केही घण्टा काफी त थिएन । तर धेरै कुरा सिक्ने अवसर भने मिल्यो । दरबार घुम्दै गर्दा एउटा कुरा भने मनमा खेलिरह्यो । शुखसयल ऐस आराम, सुविधा यी सबै क्षणिक रहेछन् । नत्र यसरी जीवन व्ययतित गरेका राष्ट्रप्रमुख परिवारकै सत्यानाश यसरी हुने थियो र ? दरबारबाट बाहिरिदैँ गर्दा २०५८ सालमा राजा विरेन्द्रलाई आर्यघाटमा जलाइएका तस्बिर आँखामा आए, साँच्चै मर्दा केही लैजान पाइने थियो भने यो दरबार हामीले यसरी अवलोकन गर्न पाइन्थ्यो होला त ?
टिप्पणीहरू