कहाँ पुग्यो बागमती सफाई अभियान ?
राष्ट्रिय अभियानका रुपमा शुरु गरिएको बागमती सफाई आठौं वर्ष पुगेको छ । ‘हामी सक्छौं, हामी गर्छौं,हामीले नगरे कसले गर्ने ? अहिले नगरे कहिले गर्ने ?’ भन्ने नाराका साथ २०७० ज्येष्ठ ५ गतेदेखि शुरु भएको अभियानले ४१९ हप्ता पूरा गरेको छ ।
तत्कालीन मुख्यसचिव लीलामणि पौडेलको नेतृत्वमा शुरु गरिएको अभियानले शुरुआतमा निकै चर्चा कमाएको थियो । अभियान केही समययता भने केहि सुस्ताएको हो कि भन्ने देखिन्छ ।
अभियान बारे जिज्ञाशा राख्दा पौडेलले अभियान पहिलेकै अवस्थामा चलिरहेको बताएका छन् । अभियान नरोकिएको भन्दै उनले मिडियाले चासो नदिँदा ओझेलमा परेकोजस्तो देखिएको बताए । ‘अभियान निरन्तर चलिरहेको छ । मिडियाले चासो नदिएका कारण ओझेलमा परेको हो कि भन्ने परेको होला । तर त्यस्तो होइन’, उनले भने ।
अभियानको शुरुआत गुहेश्वरी मन्दिरको प्रांगणबाट गरिएको थियो । हरेक शनिवार बिहान संचालन हुँदै आएको छ । स्वत:स्फुर्त रुपमा चलिरहेको अभियानमा बिभिन्न संघ-संस्था, विद्यार्थी,सेना,प्रहरी,नागरिक अगुवा,सरकारी कर्मचारी, जनप्रतिनिधिलगायतले सहभागिता जनाएका छन् ।
पौडेलका अनुसार अभियान काठमाडौँमा मात्र केन्द्रित नभई देशव्यापी रुपमा अघि बढेको छ । ‘पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न शहर, नदीनाला,प्राकृतिक सम्पदा, सार्वजनिक स्थललगायतका ठाउँहरुमा यो अभियान निरन्तर चलिरहेको छ’,उनले भने ।
उपत्यकाको २० स्थानमा चलिरहेको यो अभियान देशका ८० भन्दा बढि स्थानमा शुरु भएको पनि जानकारी दिए । मानिसहरुको चालचलन,व्यवहार भनेको जस्तो नहुँदा यो अभियान शुरु गरेको बताउँदै उनले स्थानीय निकायको जिम्मेवारी र दायित्व अनुसार पूर्वाधारको विकास गर्न लगाएर पर्यावरण जोगाउनको लागि यो अभियानलाई निरन्तर चलाउन आवश्यक रहेको पनि बताए ।
प्रारम्भमा बागमती नदी सफाइबाट शुरु गरिएको यो अभियान अहिले बागमतीका शाखा नदीहरु विष्णुमति,धोवीखोला,हनुमन्ते, मनोहरा,गोदावरी,बल्खु एवम चक्रपथका विभिन्न स्थान तथा भित्री टोलहरुमा विस्तार भएको छ । साथै उपत्यका बाहिरका ८० भन्दा बढी शहरमा पनि स्थानीयहरुको सहभागितामा सफाइ कार्यक्रमहरु सञ्चालन हुँदै आएको छ ।
पौडेलले फोहरलाई बर्गिकरण गरेर पुन: प्रयोग गर्न नसकिने २५ देखि ३० प्रतिशतलाई डम्पिङ गर्ने र बाँकीलाई प्रशोधन गरेर पुन: प्रयोगमा ल्याउन पर्नेमा पनि जोड दिए ।
‘जबसम्म पर्यावरणलाई स्वच्छ बनाउन सकिँदैन तबसम्म अभियान रोक्ने कुरा हुँदैन’,उनले थपे,’हरेक नागरिकलाई सचेत गराएर यो अभियानलाई निरन्तर चलाउन आवश्यक छ ।΄
टिप्पणीहरू