माधवलाई अध्यक्षको अफर दिने सम्भावना जिउँदै
गत आम निर्वाचनमा झण्डै दुई तिहाई मतसहित सरकारको नेतृत्व गरेको वामपन्थी शक्ति अहिले तीन टुक्रामा विभाजित छ । स्थिरता र स्थायित्वको नारा दिएर सरकारमा गएको त्यो शक्ति छिन्नभिन्न हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको वर्तमान सरकार अहिले अल्पमतमा छ ।
खासगरी पार्टीमा नीति,विधि, सिद्धान्त र राजनीतिभन्दा पनि व्यक्तिवाद हावी हुँदा नेकपादेखि एमालेसम्म विभाजनमा पुगेको देखिन्छ । वामपन्थी मत विकेन्द्रित हुँदा उसले यसअघि उठाएको स्थिरता,विकास र सम्बृद्धिको नारा नाराका रुपमा मात्र सीमित भएको छ । जसकाकारण आगामी चुनाव वामपन्थीहरुका लागि चुनौतीपूर्ण हुने प्रष्ट छ ।
वामपन्थी आन्दोलन र सिङ्गो मुलुक राजनैतिक तथा संवैधानिक संकटमा पुग्दा मुलुकले त क्षति व्यहोरेकै छ,साथसाथै उनीहरु पनि अस्तित्वको संकटमा परेको अवस्था छ । यध्यपि एकपछि अर्को विभाजन व्यहोर्दा पनि नेताहरुले रियलाजेसन गरेको देखिएको छैन । खासगरी सत्तामा रहेको शक्ति सच्चिएर एकतावद्ध हुने भन्दा पनि आत्मरतिमा रमाएका कारण कम्युनिष्ट आन्दोलन खण्डिकरणको दिशामा गैरहेको विश्लेषण भैरहेको छ ।
‘प्रधानमन्त्री नछोड्ने तर लास्टमा हुँदै नभए अध्यक्ष चैं छोड्न तयार हुने अवस्था छ, तर अझै परिपक्क ढंगले छलफल भैसकेको छैन’,
नेपालका वामपन्थीहरुमा कतिसम्म व्यक्तिवादले जरा गाढेको छ भन्ने बुझ्न एउटा सन्दर्भलाई हेर्न सकिन्छ । तत्कालिन नेकपामा अन्तरविरोध चर्किंदा प्रधानमन्त्री केपी शर्मा ओलीको सदैव दाबी रह्यो – नेकपाले दुई तिहाइ मत ल्याएको मेरो व्यक्तिगत कारणले हो र पार्टी विभाजन भए पनि आगामी चुनावमा मलाई कुनै फरक पर्दैन ।
यिनै र यस्तै कारणले नेकपाको विभाजन रोक्न नसकेको अवस्थाबाट अहिले एमालेभित्रको आन्तरिक किचलो उत्कर्षमा पुगेको छ । झण्डै विभाजनको अवस्थामा पुगेको एमालेभित्रको लफडाको मूल कारण पनि व्यक्तिवादी चिन्तन नै हो भनेर देखिएको छ । एक्लै हिंड्न खोज्ने प्रधानमन्त्री ओलीको यहि कार्यशैलीका कारण पटक-पटकका छलफल निरर्थक भएको बताइएको छ । किनकि आफ्नै कारणले चुनाव जितेको र अब पनि त्यही जनमत कायम राख्ने प्रधानमन्त्री ओलीको दाबीकै कारण पार्टी एकताप्रति उहाँको अनिच्छा रहेको भनिन्छ ।
प्रधानमन्त्री ओलीको व्यक्तिवादी सोचकै कारण एमाले विभाजनको संघारमा पुगेको भनिएका बेला उहाँ निकट केही नेताहरु भने पार्टी एकताको पक्षमा देखिएका छन् । मतभेद कायमै राखेर या विभाजित भएर चुनावमा जाँदा नसोचेको क्षति हुने विश्लेषण सुनाएपछि प्रधानमन्त्री ओली समेत पार्टी एकताका लागि केही लचिलो बन्न थालेको बालुवाटारनिकट नेताहरु बताउँछन् ।
‘ओलीलाई विश्वास गर्ने आधार छैन । उहाँनिकट केही नेताले विषय उठाएको हुनसक्छ तर अरुले भनेको उहाँले सुन्नुहुन्न । उहाँको नियतमै हामीलाई शंका छ’
आगामी चुनावमा प्रत्यक्षतर्फ बहुमत र समानुपातिकमा ५० लाख मत ल्याउने प्रधानमन्त्रीको दाबीलाई बालुवाटारका भित्रियाहरुले नै नपत्याएपछि ओली आफ्नो चट्टानी अडानबाट अलिकति पग्लिएको बताइन्छ । बालुवाटारनिकट एक नेता भन्छन्, ‘फुटेर चुनावमा जाँदा बहुमत होइन उस्तै परे धेरै ठाउँमा जमानत जफत हुने अवस्था छ । त्यो कुरा प्रधानमन्त्रीलाई थाहा छ । त्यसैले माधव कमरेडलाई कमजोर ठान्नु नहुने रहेछ भन्ने कुरामा पछिल्लो समय उहाँ कन्भिन्स हुनुभएको छ । ‘
राष्ट्रिय राजनीतिमा बढेको तीब्र ध्रुवीकरण र पार्टीभित्र माधव समूहको प्रभाव ओलीले सोचेभन्दा फरक ढंगले अघि बढेपछि उहाँ केही गलेको बताइन्छ । त्यस्तै, प्रतिनिधिसभा विघटनको मुध्दामा आफूले सोचेजसरी अघि बढ्न नसकेपछि पनि प्रधानमन्त्री ओली केही हतास मनस्थितिमा पुगेको पनि विश्लेषण हुने गरेको छ ।
कुनैपनि हालतमा सरकार नछोड्ने मनस्थितिमा रहनुभएका प्रधानमन्त्री ओली प्रतिनिधिसभा पुनर्स्थापित भए त्यसपछिको सम्भावित अवस्था आफ्नालाई प्रतिकूल हुने देखेर कारण माधव नेपाल समूहसंग मिल्नैपर्ने बाध्यतामा पुगेको निकटहरु बताउँछन् । त्यसैकारण अन्तिममा माधव नेपाललाई अध्यक्ष प्रस्ताव गरेर भए पनि पार्टी एकता जोगाउनुपर्छ भन्ने निकटहरुको सुझावमा उहाँ सकारात्मक बनेको दाबी गरिएको छ ।
‘एकातिर संसद पुनर्स्थापना भयो भने माधव समूहलाई मिलाउन नसके सत्ता गुमाउनुपर्छ कि भन्ने चिन्ता छ,अर्कोतिर पार्टी विभाजन हुँदा माधव नेपालहरु आफू मात्र हार्दैनन् हामीलाई पनि हराउँछन् भन्ने परेको छ । त्यसैले उनीहरुलाई छोडेर जानु आत्मघाती हुन सक्नेतर्फ प्रधानमन्त्री गम्भीर हुनुहुन्छ’, बालुवाटार निकट एक नेताले भने ।
आवश्यक परे माधव नेपाललाई अध्यक्ष दिएर भए पनि पार्टी एकता बचाउनुपर्ने निष्कर्षमा ओली समूहका केही जिम्मेवार नेताहरु पुगेको पनि उनले बताए । माधव नेपाललाई अध्यक्ष दिएर आफू प्रधानमन्त्रीमा निरन्तर रहने र चुनावमा जाने गरी ओलीलाई मनाउने प्रयास भैरहेको उनले बताए । यध्यपि ओली त्यसमा सहमत भैनसकेको उनको भनाइ छ ।
‘प्रधानमन्त्री नछोड्ने तर लास्टमा हुँदै नभए अध्यक्ष चैं छोड्न तयार हुने अवस्था छ, तर अझै परिपक्क ढंगले छलफल भैसकेको छैन’, उनले भने ।
पार्टी एकताका लागि सर्वोच्चको फैसलाअनुसार माओवादीसँग एकता हुनुपूर्वको अवस्था अर्थात् २०७५ जेठ २ मा फर्काउनुपर्ने माग राख्दै आएको नेपाल समूहले एक व्यक्ति,एक पदलाई पनि मुख्य शर्त बनाएको छ । नेपाल समूहको त्यहि मागलाई सम्बोधन गर्न अन्तिममा अध्यक्ष छोडेर भने पनि सहमतिमा आउनुपर्ने मत उठ्न थालेपछि त्यसबारे छलफल हुन थालेको बताइन्छ ।
नेपाल समूह भने ओलीसँग सहमति हुनेमा धेरै आशावादी देखिएको छैन । नेपाल समूहको पछिल्लो स्थायी कमिटी बैठकको सार पनि त्यहि छ । त्यसैले नेपाल समूहका नेताहरु ओलीसँग उधारोमा सहमति नगर्ने बताइरहेका छन् । अप्ठेरोमा पर्दा सहमति गर्ने तर कार्यान्वयन नगर्ने ओलीको विगतका कार्यशैलीका कारण नेपाल समूह आशावादी नभएको बताइन्छ ।
नेकपामा हुँदै एक व्यक्ति एक मुख्य जिम्मेवारीको अवधारणा अघि सार्दै आएको सो समूह अहिले पनि त्यहि अडानमा छ । त्यसका लागि ओलीले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्नुपर्ने बताइरहेको छ । नेपाल समूहका एक नेताका अनुसार ओली एक पद छाड्न तयार नहुँदासम्म एकता हुँदैन ।
‘हामीले शुरुदेखि नै एक व्यक्ति, एक पदको कुरा गर्दै आएका थियौं । अहिले पनि त्यसमा अडिग छौँ । प्रधानमन्त्री ओलीमा सहमति तोडेर जाने प्रवृति देखिसकिएको छ,त्यसैले अब मौखिक सहमतिमा हामी फस्ने अवस्था छैन’,ती नेताले भने ।
तर, ओलीले त्यो तहसम्म त्याग गरेर सहमति गर्नेमा उनलाई विश्वास छैन । प्रधानमन्त्री बनिरहने तर अध्यक्ष छाडेको देखाएर शक्ति आफैंमा केन्द्रित गरिराख्ने र हिजो नेकपामा जस्तै पार्टीलाई निकम्मा बनाएर एकलौटी गर्न सक्नेतर्फ सचेत हुनुपर्ने उनी बताउँछन् ।
‘ओलीलाई विश्वास गर्ने आधार छैन । उहाँनिकट केही नेताले विषय उठाएको हुनसक्छ तर अरुले भनेको उहाँले सुन्नुहुन्न । उहाँको नियतमै हामीलाई शंका छ’,भन्छन्, ‘त्यसैले अध्यक्षको प्रस्ताव आइहाल्यो भने पनि त्यसमा उहाँको स्वार्थ लुकेको हुन्छ । प्रतिनिधिसभा पुनर्स्थापना भयो भने विपक्षी गठवन्धनको सरकार बन्ने देखेर उहाँले अर्को जाल फ्याँक्न सक्नुहुन्छ,हामी सचेत छौँ ।’
टिप्पणीहरू