रुकुम पूर्वमा आज र भोलि सार्वजनिक बिदा

रुकुम पूर्वमा आज र भोलि सार्वजनिक बिदा

मगर समुदायको मुख्य पर्व भूम्या पर्वको उपलक्ष्यमा रुकुम पूर्वको भूमे गाउँपालिकाले आज र भोलि सार्वजनिक बिदा दिएको छ । जेठ ३१ र असार १ गते स्थानीय बिदा दिइएको गाउँपालिकाले जनाएको छ । गाउँ कार्यपालिकाको निर्णयनुसार स्थानीय पर्वको अवसरमा बिदा दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिङ श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार आज र भोलि गाउँपालिकाभित्रका सबै वडा कार्यालय, स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य इकाई, सबै सेवा केन्द्र, निजी तथा सामुदायिक विद्यालय,बैंक तथा वित्तीय सँस्थाहरु बन्द हुनेछन् ।

गाउँपालिका अध्यक्ष रामसुर बुढाले कोरोना महामारीमा भूम्या पर्व मनाउँदा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न अनुरोध गर्नुभएको छ । भीडभाड र सामूहिक नाचगान नगरी परम्परागत शैलीमा पूजा मात्र गरेर पर्व मनाउन अध्यक्ष बुढाले अनुरोध गर्नुएको हो ।

भूम्या उक्त क्षेत्रका मगर समुदायको ठूलो पर्व हो । एक महिनासम्म मनाइने यो पर्व कोरोना भाइरसका कारण सीमित विधि र समयमा मनाईंदै छ । अघिल्ला वर्षहरुमा एक महिनासम्म नाचगान र पूजा गरेर यो पर्व मनाउने चलन थियो ।

टिप्पणीहरू