अमलटारीः जहाँ प्रकृतिले स्वागत गर्छ (फोटोफिचर)
अमृत पौडेल
नवलपरासीको कावासोती डण्डाबाट दक्षिणतर्फको गेट छिरेपछिको बाटो हो अमलटारी पुग्ने । यो क्षेत्र जिल्लामा वैकल्पिक पर्यटकीय केन्द्रको राम्रो सम्भावना भएको क्षेत्र हो । चितवन राष्ट्रिय निकुञ्ज भित्रै पर्ने अमलटारी नवलपरासी जिल्लाको कावासोती नगरपालिका १५ बाघखोरमा पर्छ । जहाँसात वर्ष पहिला स्थानीय बासिन्दाको दिनचर्या वन्यजन्तु धपाउँदै बित्थे ।
अमलटारी सबै हिसाबले पर्यटकीय गन्तव्य बन्नसक्ने प्रशस्त सम्भावना र पूर्वाधारको हिसाबले बलियो आधार बन्दै गएको छ । अमलटारी पर्यटकीय केन्द्र बन्नसक्ने मुख्य कारण अमलटारीमा पनि जंगल सफारी गर्न पाउनु हो । जहाँ अमलटारी र नमूना मध्यवर्ती २ नाकाबाट सफारी गर्ने गरिएको छ ।
२ वटा नाकाबाट गरिने जंगल सफारी १७ किलोमिटरको छ भने यो सफारीका लागि साढे २ घण्टादेखि करिब ३ घण्टासम्म लाग्छ । जंगल सफारी शुरु भएको केहिबेर देखिनै फाट्टफुट्ट रुपमा मृग, बाह्रसिंगे, कालिज तथा जलचरले पर्यटकलाई स्वागत गर्छन् ।
बर्फजन क्षेत्र भएर बग्ने नारायणी नदीको तिरैतिर सफारी अघि बढ्दै जाँदा बाक्लो मात्रामा मृग, हरिण, बँदेल देखिन्छन् भने मध्यभागमा पुगेपछि मृग र हरिणहरु बथानका बथान भेटिन्छन् । कतै बाह्रसिंगे त कतै मयुर भेटिदा सफारीको मज्जा छुट्टै हुन्छ ।
सो क्रममा कतै एकल त कतै जोडा बाँधेर बसेका गैंडाहरुपनि बीच बीचमा भेटिन्छन् । जथारु, मुसहर, बोटे समुदाय रहेको उक्त गाँउमा अधिकांश थारु समुदायको बाहुल्यता छ। २०६९ जेठ ५ गतेबाट ‘होमस्टे’ सुरु गरिएको हो।
२२ वटा घरमा अहिले होमस्टे सञ्चालन गरिएको अमलटारी मध्यवर्ती होमस्टे समितिका अध्यक्ष प्रेमशंकर मर्दनिया थारु बताउँछन्। ‘दिनरात वन्यजन्तु धपाउँदै बस्नुपर्ने बाध्यता छैन’, थारु भन्छन्, ‘होमस्टे चलाएका छौँ, वन संरक्षण गरी तारबार गरेपछि समस्याबाट मुक्ति पाइयो।‘
टिप्पणीहरू