रगतको नाता मात्रै सबथोक हुन्छ र यहाँ !

  • राजकुमार दिक्पाल

पूर्वतिर गजबको छ, साहित्यिक गतिविधि । कविहरू पानीमा आगो बालँुलाझंै गरेर कविता लेखिरहेछन् । पाठक र श्रोताको अभाव पनि कहाँ छ र ? यतिखेर सिर्जना उत्सवमा सक्रिय देखिने एउटा नाम हो, कविता राई ‘गाउँले’ । म आफूमा कविता फुर्न छाडेपछि यस क्षेत्रमा संन्यासी भएको छु । तर, सिर्जना उत्सव देख्दा र कविता बहिनीको सक्रियता देख्दा मेरो मन पनि उत्सवमय हुन्छ । 

कविता बहिनीसँग घनिष्टता बढेको तीन दशक भएछ । उनी मेरो सुख–दुःखको साक्षी हुन् । मेरो सिर्जना यात्रामा मात्र होइन, व्यावहारिक जीवनमा पनि उनको सद्भाव र सहयोग अविस्मरणीय छ । हामी दुई यस्ता दाजु–बहिनी हौँ, फरक आमाबाबुको कोखमा जन्म्यौं, त्यसैले हामीमा रगतको साइनो त रहेन । तर आत्मिक साइनो रगतको साइनोभन्दा कम महत्वको हुँदो रहेनछ । 

०००
धरान–धनकुटा राजमार्ग (मदन भण्डारी राजमार्ग) बेलायत सरकारको अमूल्य उपहार हो । यो राजमार्गको स्थानीय क्षेत्रमा प्रभाव अध्ययनका लागि बेलायत सरकारले कोशी पहाडी क्षेत्र विकास परियोजना (खार्डेप) सञ्चालन गरेको थियो । त्यहाँ काम गर्नेमध्ये एबी (अमरबहादुर), बीबी (बीरबहादुर) र सीवी (चन्द्रबहादुर) तीन जना । तीमध्ये एबी राई अनि बीबी र सीवीचाहिँ लिम्बू ।

एबीले संखुवासभाको दिदिङबाट छोरीलाई पढाउन धनकुटा झार्नुभयो । उहाँको बसोबास मेरो घरसँगै टाँसिएको अर्को छिमेकीकोमा थियो । एउटा निर्दोष अनुहार छिमेकी बनेर आइपुगिन् । यो कुरा हो, ०४४ सालको ।

उनी धनकुटा आएको समय, माहोल रमझमपूर्ण थियो । तत्कालीन राजा वीरेन्द्रको पूर्वाञ्चल भ्रमणको समय थियो । त्यतिखेर हाम्रो दुई घरमध्ये एउटा तत्कालीन माले (हाल एमाले) का भूमिगत नेताको लागि सेल्टर थियो । राजाको भ्रमणताका जासुस त्यहीँ घरमा डेरा बस्न भन्दै आउँथे । त्यसबेला पार्टी गतिविधि अन्तै सारिन्थ्यो । त्यो घरमा मदन भण्डारी पनि एकपटक आएको धमिलो सम्झना छ । तत्कालीन (०३८ साल ताका) पार्टी सचिव राजेश बान्तवाले २०५१ सालमा बताउनु भएअनुसार त्यो हाम्रो घरलाई जिल्लाको पार्टी कार्यालय बनाइएको थियो रे !

मेरा एक जना दाजुले ताङ्खुवा गाविस र धनकुटा नगरपालिका जोडिने एक ठाउँमा चौतारा बनाउने मनशाय व्यक्त गरे । चौतारो बन्यो । खासमा दाजुको ताङ्खुवातिरकै एक जना महिलासँगको लामो प्रेम सम्बन्ध टुटेपछि हिँड्ने बाटोमा पर्ने गरी चौतारा बनाउने निर्णय भएको रहेछ । चौतारा उद्घाटन भएको दिन अर्को एक सम्बन्ध पनि गाँसियो । कविताको बुबा एबी र मेरा जेठा दाजु बीबीको सल्लाहअनुसार मेरो बहिनी इन्दु र कविताबीच मितेरी साइनो गाँसियो । 

०४५ सालमा उनी कक्षा ८ मा पढ्थिन्, म कक्षा १० मा । पढाइमा राम्रै भएकाले मित बुबाले उनको रेखदेख गर्ने जिम्मा मलाई दिनुभयो । उनले एसएलसी पास गरेपछि मैले नै लगेर धनकुटा बहुमुखी क्याम्पसमा भर्ना मात्र गरिदिइनँ, अनेरास्ववियुको खाँटी कार्यकर्ता पनि बनाएँ । साहित्यिक गतिविधिमा सक्रिय तुल्याएँ ।

उनलाई साहित्यिक गतिविधिमा सक्रिय गराउन एउटा नक्कली काम पनि गरेँ । उनको फोटो मागेर एक टुक्रा कविता लेखी ‘चाँदनी’ नामको पत्रिकामा उनैको नाममा छपाएँ, ०४७ सालमा । यसको एउटै मात्रै उद्देश्य थियो, कवितालाई काब्यिक क्षेत्रमा प्रवेश गराउनु । यस हिसाबले त मेरो कविताभन्दा कविता राई ‘गाउँले’को कविता पो जेठो भएको छ प्रकाशनको दृष्टिले त । त्यसपछि उनी साहित्यिक गतिविधिमा सक्रिय भइन् । मेरो एउटा मिसन पूरा भयो । 

०४८ सालको चैत महिना धनकुटा बहुमुखी क्याम्पसमा अखिल र नेविसंघबीच ठूलो लडाइँ भयो । हामी अखिलका केही कार्यकर्ता घाइते भयौँ । हामीलाई एम्बुलेन्स बोलाएर उपचारार्थ धरान झारियो । घाइते हेर्न सबैका नातागोता आए । मेरा रगतका नातागोता त कोही देखिनँ । तर, आत्माको नाता निकै बलियो रहेछ । कविता आएकी थिइन्, स्वास्थ्य अवस्था बुझ्न र साहनुभूति प्रकट गर्न । त्यतिखेर उनको उपस्थितिले मेरो आँखा भिजेका थिए । अहिले पनि बेला बेलामा त्यही सम्झनाले भिज्छन्, आँखा । 
०००
कविताको बिहे हुने भयो, ०५६ साल वैशाखमा । मोरङको गछियास्थित माहिली दिदीको घरमा विवाहको स्थान तोकियो । माओवादीको बन्द र हवाई यातायात पनि रद्द भएपछि दाजु मानबहादुर (कविताको खास दाइ) विवाहमा उपस्थित हुने टुंगो भएन । त्यसपछि अनिवार्य उपस्थित हुनुपर्ने माइतीको विकल्पमा मलाई तयार हुन खबर गरियो । त्यतिखेरै बेरोजगार थिएँ । के लैजाने होला बहिनीको विवाहका लागि उपहार ? एकछिन सोच–विचार गरेपछि छोरीको पास्नीमा आएको एउटा काँसको थाल उठाएर कागजले बेरेँ र पुगेँ कविताको बिहेमा । म पुगेको दुई घण्टापछि दाजु आउनुभयो र माइतीको उपस्थितिमा बिहे सम्पन्न भयो । 
०००
पछिल्लो समय कविताले दुई वटा गुन लगाएकी छन्, जो तिरिसक्नु छैन । मेरो इतिहाससम्बन्धी अभिरुचि, अध्ययन तथा लेखनको निरन्तर साक्षी उनले किताब छापिदिने भइन् । भन्दैछिन्, ‘मैले तपाईंको किताब छाप्न पैसा छुट्याइसकेँ, छिटो गर्नुस् है †’
म दुई वर्षदेखि एउटा ठूलो भ्रान्तीमा थिएँ । त्यसले कसैको हित गर्ने थिएन । यो भ्रान्त दाइलाई त्यो भ्रान्तीबाट मुक्त गराउन उनैले पहल गरिन् । चार महिनादेखि त्यो भ्रान्तीबाट मुक्त छु म । यो भ्रान्तीबारे यसभन्दा बढी केही भन्नेवाला छैन ।
यस्ती बहिनीको ममतालाई स्पर्श गर्दै मलाई यसरी शब्दमा लय भर्न मन लाग्छ ः
मेरी प्यारी बहिनी ममताकी खानी
उनको आँखाभरि उज्यालो बिहानी
सातै रङ सजाई मेरो निधारमा 
खुशी मात्रै खोज्छिन् मेरो मुहारमा
खडेरीमा हुँदा आउँछिन् बोकी पानी
मेरी प्यारी बहिनी ममताकी खानी ।
ममताले छुन्छु उनको दुई पाउमा
पाउ छुँदा मलम लाग्छ मेरो घाउमा
सहनशिला सुशिला असल आनीबानी
मेरी प्यारी बहिनी ममताकी खानी ।

टिप्पणीहरू