​बिजोग छ हजुर यसरी बस्नेको

देश र जनताका लागि खटाइने सुरक्षाकर्मीको बास धर्मशालामा छ भन्दा पत्याउन गाह्रो पर्ला । एउटा मालदार र सुविधासम्पन्न अड्डामा बसेका सुरक्षाकर्मी वर्षौंदेखि धर्मशालामा रात बिताउन विवश छन् । 

प्रसंग हो, सुदूरपूर्वी नाका काँकडभिट्टाको । मेची भन्सारलाई सहयोग गर्ने एक मात्र सुरक्षा निकायका रूपमा रहेको सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्ममा डिएसपीको कमाण्डमा ७५ जना सशस्त्र प्रहरीको दरबन्दी छ । तर, लामो समयदेखि उनीहरू मेचीनगर–१० स्थित मेची भन्सारको पछाडि र पश्चिमपट्टि अलि अग्लो डाँडास्थित एउटा शिवालय मन्दिर स्वामित्वको धर्मशालामा भाडामा बस्छन् । भाडा तिरेर बस्ने ठाउँमा आफ्नो भवन हुने कुरै भएन । पहिले संकटकालतिर तत्कालीन शाही नेपाली सेना बसेको धर्मशालामा सुरक्षाकर्मीका लागि पर्याप्त कोठा छैनन् । त्यसैले प्रहरी विपन्न मुसहर बस्तीझैं बाँसका छाप्रा बनाएर बस्न बाध्य छन् । तीनवटा मात्र कोठा रहेको एउटा भवनका दुई कोठामा डिएसपी र इन्स्पेक्टर बस्छन् भने हलमा प्रहरी सुत्छन् । तर, त्यो हलमा नअट्ने प्रहरीचाहिँ आफैंले बनाएका छाप्रामा सुत्ने गर्छन् ।

कतिसम्म बिजोग भने एउटा क्यान्टिनसम्म छैन । प्रहरीले बनाएका छाप्रालाई नै क्यान्टिनको रूपमा प्रयोग गरिएको छ । बाहुनडाँगीदेखि चन्द्रगढी छेउको सिमाना ज्यामिरगढीसम्म करिब १८ किलोमिटर पहरेदारी गर्ने सीमा क्षेत्रभित्रकै भन्सारवाला एक मात्र सुरक्षा निकायको यो दुर्गति छ तर अर्को उदेकको कुराचाहिँ के भने, यही सशस्त्र प्रहरीको कार्यक्षेत्र आसपास पारिपट्टि अर्थात् भारतमा चाहिँ सीमा सुरक्षा बल बियुपीका १४ वटा अड्डा छन् । पारिका ती अड्डा सकेसम्म सिमाना क्षेत्रमा जोडाएर खडा गरिएका छन् तर धर्मशालामा राखिएको एक मात्र अड्डा सीमा क्षेत्रबाट निकै टाढा छ, जुन सुरक्षा संवेदनशीलताको हिसाबले लापरवाहीपूर्ण हो ।

भन्सारकै सहयोगीका रूपमा रहेको यो गणलाई मेची भन्सारले बस्ने व्यवस्था गर्नुपर्ने हो । त्यसमाथि भन्सार क्षेत्रमा प्रशस्त खाली जग्गा पनि छ तर धर्मशालामा बसेको भाडासमेत सशस्त्रले तिर्दै आएको छ । सशस्त्र बस्न थालेको एक दुई वर्ष भन्सारले भाडा तिरेको भए पनि त्यसपछि आफैंले तिर्दै आएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ । शिवालय मन्दिरको करिब ६ कठ्ठा जग्गामध्ये दुई कठ्ठाजतिमा सशस्त्र बसेको भए पनि गेटमै प्रहरी बस्ने भएकाले सर्वसाधारण निर्धक्कसँग मन्दिर जाने स्थिति छैन । 
– अम्बिका भण्डारी

टिप्पणीहरू