ठमेल बजार खोल्न सिडियोलाई गुहारिँदै

ठमेल बजार खोल्न सिडियोलाई गुहारिँदै

कोरोना महामारीपछि सुस्ताएको प्रमुख पर्यटकीय क्षेत्र ठमेलका सम्पूर्ण व्यवसाय पूर्णरुपमा खोल्न पाउनुपर्ने आवाज उठेको छ । स्थानीय व्यवसायीहरुले व्यवसाय चौपट भएको उल्लेख गर्दै आज काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलाई ज्ञापनपत्र बुझाउने तयारी गरेका छन् ।

ठमेल पर्यटन विकास परिषद्ले सम्पूर्ण व्यवसाय निर्वाध सञ्चालन गर्न पाउनुपर्ने माग राख्दै आज बिहान ११ बजे काठमाडौंका प्रजिअलाई ज्ञापनपत्र बुझाउने बताइएको छ ।

आजै राजधानीमा बिरोधसहित विभिन्न कार्यक्रम तय भएको छ । त्यसमध्ये अहिले बिहान ९ बजेबाट नेपाली काँग्रेसको केन्द्रीय कार्यालय,सानेपामा धर्ना शुरु भएको छ । रौतहटमा भएको क्रियाशील सदस्यता वितरणमा धाँधलीविरुद्ध धर्ना कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

महिनौंदेखि आन्दोलन हुँदै आएको नेपाल वायुसेवा निगममा आज पनि त्यहाँका कर्मचारी युनियनहरुले धर्ना कार्यक्रम गर्ने जनाएका छन् । निगमको केन्द्रीय कार्यालयमा बिहान साढे १० देखि साढे १२ बजेसम्म बिरोध कार्यक्रम हुनेछ ।

चार दिनदेखि हुँदै आएको वाईसीएल नेपालको राष्ट्रिय भेलाको बन्दसत्र आज पनि हुने छ । नेतृत्व चयनमा विवाद देखिएपछि बन्दसत्र लम्बिएको हो । वाईसीएलको बन्दसत्र होटल आनन्द,तिलगंगामा बिहान ११ बजेबाट शुरु हुने जनाइएको छ ।

आज राष्ट्रिय प्रजातन्त्र पार्टी, ललितपुरको जिल्ला अधिवेशन हुने भएको छ । सैंबु आवास, भैंसेपाटीमा बिहान ११ बजे कार्यक्रम तय गरिएको छ ।

संसदको दिगो विकास तथा सुशासन समिति र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बस्ने जनाइएको छ । दिगो विकासको बिहान ११ बजे र प्रत्यायोजित व्यवस्थापनको सवा १२ बजे समितिको सभाकक्ष, सिंहदरबारमा बस्ने जनाइएको छ ।

उता, समाजवादी प्राध्यापक संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति,रेक्टर र रजिस्ट्रारको कार्यालयमा गत बुधबारदेखि गर्दै आएको तालाबन्दी आज पनि जारी रहने जानकारी दिएको छ ।

टिप्पणीहरू