​जिन्दगीका अनेक चक्कर, अनेक ठक्कर

जिन्दगीमा आँखा उघारे पीर, आँखा चिम्ले पनि पीर । यस्तै पीरै पीरको झिरमा उनिएको छ जिन्दगी । कहिलेकाहीँ लाग्छ, बुबा, आमा, श्रीमती, छोराछोरी, आफन्त सिर्फ पैसालाई प्यार गर्छन् अर्थात् पैसा कमाउनसक्ने सन्तान÷लोग्ने÷बुबालाई प्यार गर्छन् । भन्छन्, बुबा आमाको माया निःस्वार्थ हुन्छ । तर, मलाई लाग्छ– उहाँहरूको माया पनि पैसा कमाउन सक्ने छोराप्रति बढी हुने रहेछ । म अहिले परिवार तथा आफन्तको बोझ बनेर बाँचिरहेछु । जीवनको यस्तो मोडमा छु जहाँ पैसा कमाइ होइन, उल्टो आफ्नो एक मुठी सास बचाउनकै लागि भएको जायजेथा बेच्नुपर्ने अवस्था छ । अर्थात् भएको  पैसा खर्च गरी–गरी एक मुठी सास अड्याइरहेको छु ।

 सरकारी जागिरबाट अवकाशप्राप्त बुबा, एक भाइ, एक बहिनी । परिवारको जेठो छोरा । काँधमा जिम्मेवारीको पहाड थियो र छ अझै पनि इमानदारी । आफ्नो दायित्व इमानदारीपूर्वक निभाइरहेको थिएँ । बुबा–आमा भाइहरूको मुहारमा हाँसो र खुशी भर्न हरतरहले मिहिनेत गर्थें । बाल्यकाल भक्तपुरको बालकोट आसपास बित्यो । विश्वनिकेतन स्कुलबाट कखरा हुँदै एसएलसी, मीनभवन क्याम्पसबाट प्लस टु र ब्याचलरसम्मको अध्ययन पूरा गरेँ । बीचमा सामाजिक संस्था रेयुकाईमा आबद्ध थिएँ । जीवनका ऊर्जाशील १४ वर्ष रेयुकाईमै बिताएँ । जागिरको सिलसिलामा पशुपति पेन्ट्समा जोडिएँ । सो कम्पनीमा सेल्स इञ्जार्च रहेर लामो समय काम गरेँ । बीचमा रिद्धिसिद्धि पेन्ट्समा जोडिएँ । सायद मेरो कामप्रतिको लगावका कारण होला उक्त कम्पनीको कन्ट्री म्यानेजर तोकिएँ र सोहीअनुसार काम गर्दै गएँ । जीवनको लामो कालखण्ड अर्काको नोकरी गरेर बिताएँ ।

सोचे आफैं केही गर्दछु । र यही सोचको फलस्वरूप आफ्नै हार्डवेयर पसल सञ्चालन गरेँ– ०६७ सालसम्म । जहाँ पनि दिलै लगाएर काम गर्थें । विभिन्न सरसामान बिक्री–वितरणमा कम्पनीले तोकेको टार्गेट पूरा  गरेबापत विभिन्न देश घुम्ने अवसर मिल्यो । हार्डवेयर पसलमार्फत टार्गेट पु¥याएका कारण चीन, भारत, इजिप्ट, अफ्रिका, बैंकक घुम्न पाइयो । यी थिए जीवनको खुशी, उत्साह र उमंगका दिन । घरपरिवार, आफन्त सबै मसँग खुशी थिए । तर कुमालेको चक्रजस्तो जिन्दगी † घुम्दै घुम्दै नियतिले मेरालागि दुःख र पीडाको अत्यासलाग्दो पहाड अगाडि तेस्र्याइदियो । सुख र खुशीमा हाँसो भर्ने नातागोता, आफन्त सबै सँगसँगै थिए । तर दुःखको प्याला पिउने कोही भैदिएनन् । जब मेरो जीवनका दुःखको अत्यासलाग्दो पहाड आयो– आफन्तहरू टाढिँदै गए । जंघारको पहाड अहिले एक्लै पार गर्दै छु । 

एउटा गतिमा दौडिरहेको थियो जिन्दगी । आफ्नै भाइबुहारी एउटा कन्सल्टेन्सीमा कार्यरत थिइन् । उनैले सुनाइन् कन्सल्टेन्सी बिक्न लागेको कुरा । वार्षिक नाफा देखाइन् । कन्सल्टेन्सी खरिद गरेको खण्डमा सबै जिम्मेवारी आफैंले लिने बुहारीको कथन थियो । उनको दिल राख्न २४ लाखमा क्यास गनेर कन्सल्टेन्सी खरिद गरेँ ०७१ सालमा । मलाई प्रमुख कार्यकारी अधिकृतका रूपमा दुई वर्षको नियुक्तिपत्रसमेत दिइएको थियो । सो कन्सल्टेन्सीले रोमानिया, चिली, अमेरिकालगायत देशमा विद्यार्थी पठाउँदै आएको थियो । हामीले पनि दिने त्यसैलाई निरन्तरता न हो । यही बीचमा १० जना विद्यार्थीलाई चिली पठाउने भइयो । उक्त मुलुकमा पठाउँदा प्रतिविद्यार्थी ८ हजार ५ सय अमेरिकी डलर उठाइयो । ८५ लाख रूपैयाँ पठाइयो जनता बैंकमार्फत । भिसा लागेन । पटक–पटक मेल गरियो तर पठाएको पैसा पनि फिर्ता आएन । अनि सुरु भयो बर्बादीको दिन । विद्यार्थी हामीलाई छिटो पठाउनुहोस् नभए पैसा फिर्ता गर्नुहोस् भन्दै धर्ना दिन थाले ।  पठाएको पैसा फिर्ता नआउने र विद्यार्थीको भिसा पनि नआउने भएपछि शिक्षा मन्त्रालय धाइयो ।

त्यहाँको कन्सलटेन्सी फाँट हेर्ने उपसचिवसँग भेटेर समस्या राखेँ । उनले केही गर्न नसक्ने बताए । ए बाबा ! एउटा व्यक्ति राज्यले लिएको नीतिका कारण डुब्दै छ तर शिक्षा मन्त्रालयका जिम्मेवार अधिकारी भन्छन्, यसमा हाम्रो केही भूमिका हुँदैन । उसो हो भने विद्यार्थी विदेश अध्ययन गर्न जाँदा सरकार आफैंले नो अब्जेक्सन लेटर इस्यु किन गरेको ? प्रतिविद्यार्थी २ हजार ५ सयका दरले उठाउँदै तिनका हातमा एनओसी किन थमाएको ? एनओसी जारी गरेपछि जिम्मेवारी सरकारले लिनुपर्ने कि नपर्ने ? एउटा राज्यले जारी गरेको नीतिका कारण त्यही देशको नागरिक ऋणमा डुबेर जेल जानुपर्ने ?  परराष्ट्र मन्त्रालयकी प्रतिज्ञा राईले ब्राजिलको दूतावाससँग प्रक्रिया अगाडि बढाएको पनि हो । त्यहाँबाट पनि दाल गलेन । आफैं दूतावास पुगेर प्रयास गर्दा पनि केही सीप लागेन । इक्यानका विष्णुहरि पाण्डे, निरञ्जन, सन्तोष प्याकुरेललगायतसँग कुरा भयो । तर, आफ्नै संस्थाका एक जना सदस्य ऋणमा डुब्दा इक्यानले पनि चासो दिएन ।

बरु बीचमा मैमाथि प्रहरी केस भयो । मुद्दा–मामिला लगाइयो । यो बीचमा ४० लाख ऋण–धन गरेरै भए पनि कमाएर तिरिसकेको छु । केही पैसा सहकारीसँग ऋण लिएर र केही साथीसंगीसँग सापट गरेर तिर्दै छु । जनता बैंकबाट ८५ लाख रकम उताको कन्सल्टेन्सीमा पठाएको हो । स्विफ्टमार्फत पठाएको पैसा फिर्ता गर्न मिल्दो रहेछ । त्यताको सम्बन्धित व्यक्तिको खाताबाट रकम तानेर यताको खातामा पठाउन मैले पटक–पटक आग्रह गरेँ तर बैंकले पनि बद्मासी ग¥यो । अहिले यो प@Xया अगाडि बढाउन एक जना बराबर २५० डलर लाग्छ भनिँदै छ । यो पैसा खर्च गरौंला तर पैसा आउने–नआउने टुंगो छैन । मान्छेहरू भन्थे, खाएको विष मात्र लाग्छ, नखाएको लाग्दैन । तर, म नखाएको विषकै कारण यो अवस्थामा आइपुगेँ । व्यवसायमा यसरी ऋणमा डुब्दै थिएँ ।

यहीबीच लिभर फेल भयो । उपचारका लागि वीर अस्पताल पुगेँ । डा. सुधांशु जोशी, अनिल मिश्रहरूलाई देखाउँदा यो रोग निको हुँदैन भने । एकातिर आफ्नो व्यापार डुबेको पीडा, अर्काेतिर आफ्नै स्वास्थ्यले धोखा दिँदै गरेको अवस्था । साथीभाइको सल्लाहमा सोध्दै–खोज्दै मेदान्त अस्पतालसम्म पुगेँ । त्यहाँ सुरुमै १० लाख खर्च भयो । हरेक महिना दुई लाख थप खर्च थपियो । ०७१ सालदेखि म आफ्नो स्वास्थ्य सुधार गर्ने नाममा प्रत्येक महिना दुई लाख खर्चिरहेको छु । उपचारका नाममा हालसम्म ७० लाख खर्च भयो । शुरुमा डाक्टरले सतप्रतिशत खतरा भनेका थिए, अहिले ६० प्रतिशत सुधार त भएको छ । तर, चिलीमा भिसा नलागेका विद्यार्थीको लागि तिर्नुपर्ने पैसाका कारण पीडा छँदै छ । त्यहाँ झण्डै ८० लाख खर्च भइसकेको छ । घरजग्गा बैंकमा धितो राखेर विद्यार्थीको पैसा तिरिरहेको छु । श्रीमतीको गरगहना बेचेर आफ्नो स्वास्थ्योपचार गराइरहेको छु । साथीभाइसँग लिएको ऋण समयमा चुक्ता गर्न सकेको छैन । एकातिर व्यापारमा घाटा लागिरहेको समयमा र अर्काेतर्फ आफ्नै स्वास्थ्य प्रतिकूल बनिदिँदा लाग्छ, परिवारका सदस्यहरूको मलाई हेर्ने नजर नै परिवर्तन भएको हो कि ? सबैतिरबाट फ्रस्टेटेड, जीवन पनि अनसर्टेन लागेपछि यो बीचमा पटक–पटक आत्महत्याको प्रयास पनि गरेको हुँ ।

एक मुठी सास अड्याउनैका लागि थुप्रै पैसा खर्च गरी गरी के बाँच्नु र परिवारका लागि बोझ बनेर भन्ने लाग्छ कहिलेकाहीँ र मन एकतमासको हुन्छ । यही कारण बीचमा आत्महत्याको प्रयास गरेँ तर निर्दाेष दुई बच्चाको अनुहार सम्झन्छु झलझली । तिनकै माया, ममता र स्नेहका कारण यो देह त्याग गर्न सकिरहेको छैन । कन्सल्टेन्सीमा लगानी गर्न सुझाव दिने बुहारी डुबेपछि हात झिकिन् । अहिले बैंकको जागिरे छिन् । यसरी पीडैपीडाबीच जीवन गुज्रिरहेछ । कहाँ जान हिँडेको थिएँ ? कहाँ पुगेर जिन्दगी बर्बाद भइरहेको छ । कहिलेकाहीँ लाग्छ, जिन्दगीमा हिम्मत हार्नु हुँदैन । आफन्तकै पैसा सापट लिई मोजमस्तीमा उडाउने र नातासम्बन्धको कुनै हेक्का नराख्ने नकचराहरू त दुई खुट्टा उभिएरै हिँडेका छन् भने मलाई त काम गर्दागर्दै परिस्थितिले धोका दिएको न हो । तर, जब चारैतिरको बाटो अँध्यारो देख्छु । कहीँ निस्कने बाटो देख्दिनँ अनि अत्यास लाग्छ । मान्छेहरू भन्छन्, ध्यान अर्थात् मेडिटेसन ग¥यो भने सबै समस्या दूर हुन्छ तर आँखा चिम्ले पनि आँखा खोले पनि शान्ति छैन अचेल ।  

– रामेश्वर पौडेल, बालकोट भक्तपुर

टिप्पणीहरू