कान्छीका निम्ति बूढा आफैं कस्सिँदा

वाम एकतालाई कायम राख्न र सार्थक बनाउन ठूला दलहरूले कतिसम्मको उदारता प्रदर्शन गरे भन्ने कुराको सानो झाँकी हो यो । नेपालका बुढा कम्युनिष्ट, कम्युनिष्टका गुरु भनेर चिनिएका मोहनविक्रम सिंह आफैं एमाले–माओवादीसँग सिट बाँडफाँडको वार्तामा सामेल भएर अर्ध भूमिगत भन्न रुचाउने उनले कान्छी श्रीमती दुर्गाका लागि एउटा सिट सुरक्षित गराइछाडे ।

अब मोहनविक्रम–पत्नीका लागि प्यूठानमा एमाले र माओवादी प्रदेश सभामा मात्र खुम्चिन तयार भएका छन् । उदारताको अर्को उदाहरण देखियो जाजरकोटमा । जहाँ प्रदेश र संघ दुवै एमालेले मागेको थियो तर पछि माओवादीको लागि छाडिदियो ।

उता सिन्धुपाल्चोकमा उठाउनै पर्ने मान्छे थिए अरुण नेपाल तर अग्नि सापकोटाका लागि त्यहाँ पनि एमाले पछि हट्यो र समानुपातिक वा राष्ट्रिय सभामा बरु ठाउँ दिउँला भनेर फकायो । रोल्पामा कम्तिमा एउटा प्रदेश त देऊ भनेर एमालेले माग गरेको थियो तर माओवादीले मानेन । एमालेले पनि त्यसलाई प्रतिष्ठाको विषय बनाएन र कुरा सहजै मिल्यो । केपी ओलीले ‘भैगो छाडिदिनुस् यस्ता झिना मसिना कुराहरू, अब हामी पार्टी नै एउटै बनाउँदैछौं भने लफडा नगरौं, सानो चित्त नबनाऊँ’ भनेर नेताहरूलाई सम्झाएपछि खासै समस्या रहेन । प्युठानलाई नै उदाहरण बनाउने हो भने पनि के देखिन्छ भने स्थानीय चुनावको नजिताअनुसार त्यहाँ २८ हजार एमालेको मत छ ।

माओवादीको १८ हजार छ भने काँग्रेसको २२ हजार मत रहेको देखिन्छ । त्यहाँ जनमोर्चाको मत जम्मा १४ हजार मात्र हो । यदि २८ र १८ जोड्ने हो भने ४६ हजार मत हुन्छ जसलाई कुनै पनि चुनौती कहींबाट छैन । तर एमाले–माओवादी दुवै १४ हजार मत भएको मसाललाई सो क्षेत्र सुम्पिन तयार भए । त्यसो त बागलुङ पनि मोहनविक्रमले दाबी गरेको ठाउँ हो तर शुक्रबारको अडान शनिबार मसालले छोड्यो भने बागलुङमा एमाले र माओवादीले कुरा मिलाए । त्यसअघि चित्रबहादुर केसी र केपी ओलीबीच भएको छलफलमा चित्रबहादुरले ५ सिट मागेका थिए । केपीले ‘ल ५ सिट भयो तपाईंहरूलाई तर सूर्य चिन्ह लिएर लड्नुपर्छ’ भनिदिए ।

त्यसबेला ‘हाम्रो सिद्धान्तले त्यसो गर्न दिँदैन’ भन्दै चित्रबहादुरले जवाफ दिएको स्रोतको भनाई छ । त्यसको प्रत्युत्तरमा केपीले ‘सिद्धान्तमा अडिरहनुस् र सिद्धिनका लागि तयार हुनुहोस्’ भनेपछि ‘एमाले नेताहरूको बोली नै अति छुद्र’ भन्दै केसी बाहिरिएको बताइन्छ । तर, भोलिपल्ट मोहनविक्रमले आफैं बसेर कुरा मिलाए । उता राप्रपाका पशुपति समशेरले सिन्धुपाल्चोकमा काँग्रेसबाट एउटा सिट फुत्काए भने गोर्खामा बाबुरामले अर्को एउटा सिट घटाएर काँग्रेसलाई खुम्च्याएका छन् । वामसँग १५ सिट मागेका बाबुरामले आखिर आफ्नोलागि एउटा सिट सुरक्षित गर्दै पार्टी डुबाएको विश्लेषण गर्न थालिएको छ । नयाँ शक्तिका प्रेम तामाङले रसुवामा प्रदेशमात्रै भेट्टाए । तर वाम गठबन्धनमा हस्ताक्षर गरेर काँग्रेससँग कुम जोड्न पुगेका बाबुरामले जम्मा एक सिटका लागि किन ‘गुन्द्रुकमा जात फाले होलान् ?’ भन्ने बुझ्न कठिन छ ।

वाम एकता कसरी र कुन उद्देश्यले तोडियो अनि बाबुरामले अबको बाटोचाहिँ राम्रैसँग तय गरेका छन् । ठूला वामपन्थी दलहरूले भने एकपटक गुमेको ठाउँ फेरि भविष्यमा फर्काउन निकै गाह्रो पर्छ भन्ने कुरा इतिहासले प्रमाणित गरिसक्दा पनि बृहत वाम एकताको सम्भावनालाई अरु बलियो पार्न उदारता देखाएका छन् । विगतमा प्यूठान, बागलुङजस्ता क्षेत्र छाडेको एमाले अहिले पनि त्यसको लागि तयार भएको छ । पूरै १६५ सिटमा आफ्ना उम्मेदवार उठाउन पाउने अवसर गुमाउँदै जम्मा ९१ सिटमा मात्र खुम्चिन तयार हुनुलाई ठूलो उद्देश्य प्राप्तिका लागि आवश्यक त्यागको रुपमा एमाले नेताहरूले व्याख्या गर्न थालेका छन् । 

टिप्पणीहरू