​अगुवाहरुलाई चिन्ने अवसर

छिमेकीको प्रभाव हाम्रो आन्तरिक राजनीतिमा नपरोस् भन्ने चाहना नेपाली जनताले पछिल्लो निर्वाचनको बेला मतदानमार्फत व्यक्त गरिसकेका छन् । तर, भारतीय प्रधानमन्त्रीको आसन्न भ्रमणले सत्तारुढ दुई दलहरु एमाले र माओवादीबीचको एकतालाई समेत प्रभाव पारेको छ । केपी ओलीको भारत भ्रमणभन्दा अगाडि नै दुई दल एक भएको भए कुनै पनि खेलाडीको अनधिकृत प्रवेशले त्यसलाई भाँड्नसक्ने थिएन ।

बरु राष्ट्रवादको पक्षमा ऐक्यबद्धता जनाउँदै नेपाली जनताले दिएको जिम्मेवारी र जनभावना सम्मानका लागि भए पनि एमाले–माओवादी नेताहरुले आपसी बन्धनलाई अझ कसिलो पार्ने थिए । तर, देशभन्दा दल, दलभन्दा गुट र गुटमा पनि आफूलाई केन्द्रमा राखेर स्वार्थपूर्ति गर्न खोज्ने बानी भएका हाम्रा नेताले ललिपपको लोभमा परेर कुनै अनिष्ट बाटो त रोज्ने होइनन् भन्ने आशंका बढ्दो छ । 

विगतमा जसरी नेपाली र नेपालको हितभन्दा छिमेकीको स्वार्थपूर्ति गरेर मात्र सत्तामा पुग्न सकिन्छ भन्ने भ्रममा नेताहरु बाँचे त्यही सोचले निरन्तरता पाउँदा कुनै दलको शीर्ष नेतृत्वमा पुग्न पनि छिमेकीकै आशीर्वाद खोज्ने काममा पो ती लाग्ने हुन् कि भन्ने चिन्ता बढ्दो छ । नेपालको राजनीतिक स्थिरता, शान्ति र समृद्धिको आधार भनेको आपसी विश्वास, सहकार्य र समन्वय मात्र हो भन्ने कुरा बुझ्दाबुझ्दै सत्ता र शक्तिको लोभमा कुनै नेता विशेष पर्छ भने त्यसले कसैको भलो गर्दैन । जबसम्म कुनै प्रकारका दबाब, करकाप र प्रभावबाट मुक्त भएर नेपालीले नेपाली मात्रको स्वार्थलाई प्राथमिकतामा राखी निर्णय गर्दैनन्, तबसम्म उज्ज्वल भविष्यको कामना व्यर्थ हुन्छ । 

पछिल्ला दिनहरुमा नेपालले हरेक क्षेत्रमा राख्दै आएका राष्ट्रहितका अडानहरुले सफलता प्राप्त गर्दै आएका छन् । कसैको दबाबलाई झेल्नसक्ने इच्छाशक्ति र राष्ट्रवादी क्षमतामा यदि स्वार्थको दूषित घोल निमिसाउने हो भने हरेक नेपाली स्वतन्त्र निर्णय लिन सक्षम छन् । तर अरुको आशीर्वाद नपाई एक कदम पनि हिँड्न सामथ्र्य नराख्ने कतिपय नेताले आफूलाई कुनै शक्तिका सामुन्ने समर्पण पो गर्ने हुन् कि भन्ने पीर छ । राष्ट्रिय स्वार्थलाई पूर्ण रुपमा बेवास्ता गर्दै प्रायोजित बोली बोल्ने नेताहरुको अभिष्ट अब नेपालमा पूरा हुन दिनु हुँदैन । जब अप्ठेरो परिस्थिति आउँछ, त्यसबेला सबैले आफ्नो असली अनुहार देखाउँछन् । हो, त्यो बेला चिन्नुपर्छ र पछि त्यस्तालाई उपयुक्त सजाय दिनुपर्छ । नेपाल अब आफ्नालागि हरेक निर्णयहरु गर्न सक्षम र स्वतन्त्र छ भन्ने कुरा नस्वीकार्ने नेपाली नेताहरु जनताका सही प्रतिनिधि हुन सक्दैनन् । 

टिप्पणीहरू