सत्य थिएन त बलात्कारको समाचार ?

सात वर्षअघि एसएलसी दिन हिँडेकी केटी सामुहिक बलात्कारमा परिन् । तिनलाई त्यहाँबाट पाटन अस्पतालमा ल्याइएको रहेछ । १२ चैत ०६८ मा महिला आयोगबाट फोन आयो, ‘एसएलसी दिन गएकी बलात्कृत छात्रालाई पाटन अस्पतालमा भर्ना गरेर राखिएको छ । उद्धार गरेर सहयोग गरिदिनुपर्ने भयो ।’ जो केटा देख्यो उसैलाई यही हो बलात्कारी भन्ने, लुगा च्यात्ने, फाल्ने र बबाल मच्चाउने अवस्थाकी । साथीहरूले पूर्णरूपमा पागल भएको मान्छेलाई ल्याउन आनाकानी गर्नुभयो । रविन मल्ल र करुणा कुँवरहरूले हौसला दिए । करुणाको भनाइ थियो, सजिलो काम त सबैले गर्छन् । म मद्दत गर्छु तपार्इं आँट गर्नुहोस् ।’ २३ चैत ०६८ मा पूजालाई रक्षा नेपालमा ल्याइयो । झण्डै १० महिना लाग्यो रिकभर हुन । नियमित थेरापी, हिलिङपछि अपराधीको नाम भन्न सक्ने भइन् । र, ७ पुस ०६९ मा मात्र जिल्ला अदालत बैतडीमा बकपत्रका लागि पुगिन् । वैशाख ०७० मा १० कक्षामा भर्ना भइन् । अमेरिकाको साथी लेस्ली ब्राउनले पढाइखर्च व्यहोरिन् । लैनचौरको आदर्श माविबाट प्लस टुसम्म उत्तीर्ण उनको सपना थियो वकिल बन्ने । अहिले एलएलबी अध्ययनरत छिन् ।

०६९ सालमा थुनिएको बकपत्र पुनरावेदन अदालतले उल्टाइदियो । मुद्दा दायर भएको पाँच वर्षमा दुई जना न्यायाधीश फेरिए तर पूजाको मुद्दाको कुनै सुनुवाइ भएन । ११ जेठ ०७५ को दिन १ नम्बरमै त्यो मुद्दा तोकिएको थियो । तर, मुद्दा स्थगन गरियो । अब अन्तिम किनारा ८ असारलाई तोकिएको छ । र, यही बीचमा पूजालाई रक्षा नेपाल, मेनुका थापाविरुद्ध प्रयोग गर्दै हामीले उनको जीवन तहसनहस पारेको आरोप लगाइएको छ । बिहान ११ बजेर ११ मिनेट जाँदा ‘ममी, आउँदै छु’ भनेर म्यासेज पठाएकी केटी एक्कासी मिडियालाई भेट्ने, प्रहरीकहाँ पुग्ने र मविरुद्ध खनिने अवस्थामा कसरी पुगिन् ? यसको पछाडि ठूलो चलखेल छ । पूजाको बाँकी जीवन तहसनहस बनाइएको छ । त्यसको जिम्मेवारी लिने कसले ? मुद्दा उल्टाउन तथा त्यो घटना सामसुम पार्न यो खेल रचिएको हो भन्नेमा अब द्विविधा रहेन । जसले जतिसुकै खेलोस् । शरीरमा एक थोपा रगत र एक मुठी सास रहुञ्जेल पूजाका लागि लडिरहनेछु । अहिले सबै रक्षा नेपालविरुद्ध खनिएका छन् । तर, पर्दापछाडि रक्षा नेपाल र मेनुका थापालाई बदनाम गराएर चर्चामा आउन खोजिरहेका छन् प्रदीप घिमिरे ।

उनी विश्वास नेपाल नामक संस्थाका सञ्चालक हुन् । यो संस्थाले पनि रक्षा नेपालले जस्तै काम गर्छ । ०६५ सालमै अर्काेको नाममा दर्ता भइसकेको संस्था त्यही विश्वासको नाममा जिल्ला प्रशासनमा कसरी दर्ता भयो ? यो बालकुमारी आलेहरूले डान्सबारमा काम गर्ने महिलाको हकहितका लागि खोलेको संस्था हो । अहिले यो संस्थाको अध्यक्ष तारा कार्की देखाइएको छ । एउटै नाम र प्रकृतिको दुईवटा संस्था कसरी दर्ता हुन सक्छ ? पूजाले जति मिडियाबाजी गरेकी छन्, उनै प्रदीपको नाम लिएको सुनिन्छ । प्रदीपले अहिले मिडियामा आफ्नै बलात्कृत बहिनी र पूजालाई देखाएर मलाई बदनाम गराउने प्रयत्न गरिरहेका छन् । प्रदीपकी बहिनी आफ्नै काकाले बलात्कार गरे भनेर रक्षा नेपालकै आश्रममा आठ महिना राखिएको थियो । पूजा र उनी दुवै घनिष्ट मित्र थिए । सँगै कलेज आउँथे, जान्थे । बीचमा प्रदीपकी बहिनीले संस्था छाडिन् । रक्षा नेपाल छाडेकै भोलिपल्ट प्रदीपले विश्वास नेपाल नामक संस्था जन्माए । र, अहिले पूजा र रक्षा नेपालबीच सम्बन्ध बिग्रिएको अफवाह छ । भित्री कुरा भने आएको छैन । पूजामाथि रक्षा नेपालले अन्याय गरेको भए कानुनअनुसार सजायँ भोग्न हामी तयार छौँ । घर आउँदै गरेको विद्यार्थी अर्थात् अबको दुई वर्षमा वकिल बन्ने छात्राको जीवन किन बर्बाद पारिँदै छ ? कागले कान लग्यो भन्दै मिडिया पनि कुदेको देख्दा मन दुखेको छ । पूजालाई किन यसरी उदांगो बनाइयो ?

प्रदीपलाई मैले आफ्नै भाइसरह मानेकी थिएँ । सानैमा आमा बितेको र बुबाले अर्काे बिहे गरेको कारण देखाउँदै उनले बहिनीलाई रक्षा नेपालमा ल्याएका थिए । सबै प्रक्रिया पूरा गरेर उनकी बहिनीलाई जिम्मा लियौँ । तर, पछि थाहा भयो, बहिनी आफन्तकहाँ होइन विराटनगरको माइती नेपालमा बसेकी रहिछन् । उनले किन ढाँटे ? माइती नेपालले किन पढाएन ? यो खोजीको विषय हो । प्रदीपकी बहिनीलेसानोबुबाले बलात्कारको प्रयाससम्म चाहिँ गरेको बताइन् । ११ कक्षामा पढ्दै गरेकी बहिनीलाई आफू जागिरे भएका कारण पढाउन सक्ने कारण देखाउँदै पछि प्रदीपले रक्षा नेपालबाट लिएर गए । पछि अनलाइनखबरमा ‘रक्षा नेपालले कट्टु धुन लायो, माइती नेपालले भाँडा माझ्न अह्रायो’ भन्ने समाचार पढें । त्यो समाचार कसरी छपाइयो ? र, प्रदीपले गर्न खोजेको के हो ? चाल पाइएको छैन ।

रक्षा नेपाल स्थापना भएको १५ वर्ष बित्यो । जीवनको ऊर्जाशील समय अरूकै लागि बिताएँ । झण्डै २३ सयभन्दा बढी आफ्नो आश्रयमा हुर्काएँ । अहिले पनि ६५ जनाको पालनपोषण गरिरहेको छु । जीवनमा आफ्नो आँसु पुछ्दापुछ्दै अरूको आँसु पुछ्न पुगेछु । आफ्नालागि खाना खोज्दा खोज्दै अरूलाई दिने भएछु । यिनै थिए मेरा संघर्षका यात्रा ! तैपनि विचलित भएको छैन । खाएको विष लाग्छ, नखाएको लाग्दैन । जसरी दिलशोभा श्रेष्ठलाई पत्रकारले अर्काे एनजिओवालाको स्वार्थमा बदनाम गराए । उसैगरी म र रक्षा नेपाललाई पनि बदनाम गराउन खोजिएको छ ।

– मेनुका थापा, अध्यक्ष रक्षा नेपाल

टिप्पणीहरू