​पारि जानै परेन

स्वास्थ्य सेवा सुलभ, सहज र सरल भयो भने उपचारको नाममा देशका बिरामीले विदेश छिर्नुनपर्ने रहेछ । 

भारत, सिलिगुडीको उपचार, विशेषतः पूर्वी नेपालका बासिन्दाको लागि निक्कै लाभदायक मानिन्थ्यो । त्यहाँ चिनियाँ चिकित्सक डा.चाङ छन् । तर, आजकल पूर्वीभेगका बिरामीलाई हत्तपत्त त्यता लगिन्न । कारण हो, झापाको व्यापारिक शहर बिर्तामोडमा बिएण्डसी अस्पताल खुल्नु । यो त्यही अस्पताल हो, जसका सञ्चालक दुर्गा प्रसाईंले केपी–प्रचण्डलाई मार्सी चामलको भात खुवाएको फोटो अहिले भाइरल भइरहेको छ । 

क्यान्सरलगायत सुविधासम्पन्न स्वास्थ्यसम्बन्धी उपकरणको उपलब्धताका कारण नेपाली बिरामीलाई सिलिगुडी लैजानमा कमी आएको हो ।
गत वर्ष असारमा हेल्सियोन र ट्रोबिम, फोर डी सीटीस्क्यान र डिजिटल मेमोग्राम मेसिन, ब्रेकी थेरापीजस्ता स्वास्थ्यसम्बन्धी अत्याधुनिक उपकरण उक्त अस्पतालले भिœयायो । त्यसमाथि नेपालका बिरामीहरु पारि जाँदा भाषा, भारुका समस्या त छँदैछन् । हेल्सियोन मेसिन भारतमासमेत नभएको उपकरण हो । सो उपकरण ल्याउन अस्पतालले ९० करोड रुपैंयाँमा सम्झौता गरेको थियो । तीन सय शøयाको अस्पतालले सबै प्रकारका क्यान्सरको उपचार गर्नुको कारण पनि पारि जानेहरु वरै रोकिएका हुन् । क्यान्सरको रेडियसन लगाउने र कुन चरणको क्यान्सर लागेको पत्ता लगाई त्यसैअनुसार उपचार थाल्ने उक्त अस्पतालले तीन दिनदेखि पाँच दिनभित्र रिपोर्ट दिने कारण महिनौंसम्म लाइन बस्नुपर्ने झण्झटबाट मुक्ति मिलेको छ । 

जस्तो कि, धापासीस्थित ग्रयाण्डी अस्पतालले राष्ट्रकवि माधवप्रसाद घिमिरेको सानो आन्द्राबाट हुने रक्तस्राब नरोकिएपछि जेठ ९ गते नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा रिफर ग¥यो । तर, उनको उपचारसम्बन्धी सम्पूर्ण उपकरण आफूसँग रहेको दावी गर्दै थापाथलीस्थित नर्भिक अस्पतालले विज्ञप्ति नै जारी गरेको थियो । नर्भिकले तीन वर्षदेखि पेटका रोगीहरुको इन्टेरोस्कोपी प्रविधि प्रयोग गर्दै सफल उपचार गरिरहेको जनाएको थियो । यसअघि पनि पूर्वराष्ट्रपति डा.रामवरण यादवलाई नेपालमा कोल्नोस्कोपी प्रविधि नभएको भन्दै त्यसैका लागि जापान रिफर गरिएको थियो । नर्भिकले आफूसँग ती सबै उपकरण चालु अवस्थामा रहेको र विदेशका विरामीसमेत आफूकहाँ उपचारका लागि आउने गरेको दृष्टान्त पेश गरेको थियो । यस्तै, नर्भिकले नेपालको कुनै अस्पतालमा नभएका थ्री टेस्ला एमआरआई र विश्वकै उत्कृष्ट मध्येको वन ट्वान्टी एट (१२८) स्लाइस सीटीस्क्यान मेसिन गत पुस १२ देखि सञ्चालनमा ल्याएको छ । नेदरल्याण्डमा निर्मित उक्त इञ्जेनिया एमआरआईको इनबोर (सुरुङ) भित्रै दृश्य प्रणाली जडान गरिएको छ, जसका कारण विरामीले आफूलाई मन पर्ने सिनेमा, गीत हेरी–हेरी उपचार लिन सक्छन् ।

यस्ता सुविधा स्वदेशमै उपलब्ध त छन् । तर, स्वास्थ्यसेवा भन्दा नक्कल–झक्कलमा ध्यान दिइँदा विरामीले ग्रयाण्डी, मेडिसिटीजस्ता अस्पताल टेकेको २०–२५ मीनेटमै एक लाख, सवा लाखको बिल खत्रक्क बुझाउनुपर्ने दुःख पनि हामीकहाँ नभएको होइन । स्वास्थ्यसम्बन्धी अत्याधुनिक उपकरण, विशेषज्ञ चिकित्सक र सहज उपचार प्रणाली बनेदेखि नेपालीले नेपालमै उपचार गर्ने कुरा बिएनसी र नर्भिककै दृष्टान्तले पनि बताउँछ ।

टिप्पणीहरू