​तक्मामा भाग तोकियो

व्यक्तिको लहडका आधारमा वर्षेनी राज्यले दिने विभूषण, मान–पदवी र अलंकारमा हुने अनियमितता नियन्त्रणका लागि सिफारिस कार्यविधि एवं प्रदानसम्बन्धी मापदण्ड– २०७५ जारी भएको छ । तर पनि, व्यक्ति मन नपरेको या आलोचना सहन नसएिको नाममा संस्थाकै हक काट्ने धन्दा जारी छ । पोहोर गणतन्त्र दिवसको अवसरमा घोषित र गत भदौ १९ गते तक्मा लिन नजानेको संख्या भने ५५ छ ।  

आफूखुशी नाम चढाउने र झिक्ने त्यस्ता विभूषण वितरणलाई यस वर्षदेखि संविधान दिवसका दिन घोषणा र व्यवस्थापन हुने गरी उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा सिफारिस समिति गठन गरिएको थियो । विभूषण समितिको कार्यालयचाहिँ गृह मन्त्रालयमा छ । विभूषणका लागि निकायगत रुपमा संख्या निर्धारण गरिएको छ । त्यसअनुसार, नेपाली सेनातर्फ २५, प्रहरीतर्फ २०, सशस्त्र प्रहरीतर्फ १५, राष्ट्रिय अनुसन्धान विभागतर्फ ४ विभूषण भागमा परेका छन् । एकदेखि तीन सयसम्म जनशक्ति भएको निकायलाई एकजना, तीन सय एकदेखि पाँच सय जनशक्ति भएको निकायलाई दुईजना, पाँच सय एकदेखि एक हजार जनशक्ति भएकालाई तीनजना, एक हजार एकदेखि पाँचहजारसम्म जनशक्ति रहेकालाई चार जना, पाँच हजार एकदेखि माथि जनशक्ति भएका निकायलाई पाँच जना भनिएको छ ।

नयाँ मापदण्डअनुसार, नेपाल रत्न एक पटकमा एकजनालाई मात्र दिइने, राष्ट्र गौरव पदक एकपटकमा दुईजनासम्मलाई दिइने भएको छ । महाउज्ज्वल राष्ट्रदीप (प्रथम श्रेणी) पदक उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायतका विशिष्ट व्यक्तिमध्ये बढीमा पाँच जनालाई दिइने नयाँ व्यवस्था कायम भएको छ । उज्ज्वल कीर्तिमय राष्ट्रदीप (द्वितीय श्रेणी) पदक प्रदेश प्रमुख, संघीय सरकारका मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सर्वोच्च अदालतका न्यायाधीश, संवैधानिक निकायका पदाधिकारी, नेपाल सरकारका मुख्यसचिव, प्रदेश सरकारका मन्त्री वा सोसरहको मर्यादाक्रममा पर्ने व्यक्तिमध्ये बढीमा पाँच जनालाई दिइने भएको छ ।

टिप्पणीहरू