​कति गन्हाएछन् त कमरेड ?

एउटा ठेकेदार मन्त्रीलाई भिनाजु भन्दै जर्नेल, कर्णेलसम्म थर्काउने, भिनाजु भनिएका मन्त्री पनि उनैका गुणस्तरहीन सामान सकार्न तारन्तार दबाब दिने । यसरी रक्षामन्त्री ईश्वर पोखरेलका कारण सेनाको भ्रष्टाचार ओरालो लगाउने प्रधानसेनापति पूर्णचन्द्र थापाको प्रतिबद्धता बेकार भएको छ । 

निवर्तमान प्रधानसेनापति राजेन्द्र क्षत्रीकै पालादेखि सेनामा राइँदाइँ चलाएका ठेकेदार विजय श्रेष्ठले अहिले ईश्वर पोखरेललाई ‘भिनाजु’ नाता लगाएबापत सेनाको १२ करोड रुपैयाँ खेर गएको हो । सेनाका लागि आवश्यक पर्ने वेभ इक्विपमेन्ट ब्याग खरिदका क्रममा विजयले आफ्नो फर्म न्यु क्रिएसनमार्फत चीनबाट गुणस्तरहीन सामान आयात गरेका छन् । पहिला नमुना परीक्षण गरिँदा मापदण्डबमोजिमको गुणस्तरीय सामान दिए तर ल्याउँदा सस्तोमा मापदण्डविपरीत सामान ल्याइदिए । सेनाले सामान लिन नमान्दा र सम्झौता रद्द गर्न खोज्दा बाधक बने रक्षामन्त्री पोखरेल । वेभ इक्विपमेन्ट ब्याग भनेको सेनाले रासन, पानी, लत्ताकपडा भिरेर हिँड्ने ब्याग हो ।

त्यस्तो ब्यागको न्यूनतम सर्त हुन्छ, पानी नछिर्ने । तर, विजयले आयात गरेको ३५ हजार थान ब्यागमध्ये सबैमा पानी छिर्छ, अर्थात् वाटरप्रुफ छैन । अहिलेसम्म सेनाको समान भण्डारण गरिने असबाबखानामा ती सामान दाखिला भएको छैन । तर, चीनबाट आयात भई काठमाडौं आइपुगेको छ । सेनाको नेतृत्व भन्छ, काम नलाग्ने सामान कसरी लिने ? तर, रक्षामन्त्री भन्छन्, जसरी पनि लिनुपर्छ । रक्षामन्त्री ईश्वरको निरन्तरको दबाबपछि प्रधानसेनापतिले मातहत युनिटलाई ‘मलाई पनि बाध्यता प¥यो, सामान नबुझी नहुने भयो’ भनेका छन् । मन्त्रीले नै भ्रष्टलाई पल्काएपछि सेनाको भ्रष्टाचार नघट्ने त पक्कापक्की भयो, त्यसमाथि सेनाभित्र बाँडफाँड गरिनुपर्ने कमिसनको हिसाब मन्त्रालयमा, मन्त्री आफँैले गर्न थालेपछि जंगी अड्डामा हलचल मच्चिएको छ ।

उता, शौचालयसम्बन्धी प्रदर्शनीका लागि चीन उड्न लागेकी खानेपानी मन्त्री बीना मगरको भ्रमणलाई मन्त्रिपरिषद्ले अस्वीकृत गरिदिएपछि उनले बच्चा बिरामी भएको बाहनामा भाइ प्रकाश मगरलाई त्यता पठाएकी छन् । बेइजिङमा ६ देखि ९ तारिकसम्म चलेको उक्त सम्मेलनमा भाग लिन आफैं जाने तयारी थियो । अर्कातिर, निजी सचिव दिनेशसागर भुसालले मन्त्रीले आफ्ना कुरा नसुन्ने भएका कारण मन्त्रालयमा राखिएको आफ्नो नेम प्लेट निकाल्न लगाएका छन् ।

टिप्पणीहरू