​देशबाहिर तोक्दा भयानक दुखेसो

‘पानी उमालेर बाक्लो र पार्टी रिझाएर आफ्नो’ नहुने रहेछ भन्ने कुरा परराष्ट्र सेवामा रहेर पनि नेकपाको सेवामा हाजिर हुने कर्मचारीले अहिले बुझ्न थालेका छन् ।

विभिन्न देशस्थित कूटनीतिक नियोगमा खटाइने कर्मचारी तोक्दा कस्तोसम्म चित्त दुखाई देखियो भने, आजित भएर एक–अर्कालाई भन्न थालेका छन्, ‘यसलाई अब मिनिस्ट्री अफ फरेन अफेयर्स होइन, मिनिस्ट्री अफ पोलिटिकल अफेयर्स या मिनिस्ट्री अफ नातावाद, कृपावाद र मिनिस्ट्रिी अफ चाकडीवाज, राखिदिए हुन्छ ।’ उनीहरूले आन्तरिक रूपमा आफ्ना असन्तुष्टि मात्र नपोखी मन्त्री र सचिवसमक्ष ज्ञापनपत्रसमेत बुझाएका छन् । कसैले प्रधानमन्त्रीकै भिटो लगाएर ‘उफ्रीमाथि पाफ्री’ भनेजस्तो खुदो पल्टिने गरी नियुक्ति पाएका छन् । कोहीचाहिँ ‘ग’ श्रेणीको मुलुकबाट फर्किएर आएपछि ‘क’ र ‘ख’ मा उक्लिनुपर्नेमा ‘घ’ मा झरेका छन् ।

ज्ञापनपत्रमा विदेश पोष्टिङको निर्णय कार्यालयको प्रतिष्ठा र कर्मचारीको मनोबलसँग सम्बन्धित संवेदनशील विषय भएकोले अन्य कानुनी उपचारमा जानुपूर्व केही विषयमा पूर्व–पुनरवलोकन गर्न असन्तुष्टहरूले सामूहिक चेतावनी दिएका छन् । शाखा अधिकृत कुञ्जन साहले सचिवलाई लेखेको पत्रमा भनिएको छ, ‘परराष्ट्रसेवाका कर्मचारीलाई विदेश खटाउने) निर्देशिकाको बुँदा ४ (४) अनुरूप सरुवाका लागि प्राथमिकताक्रमको फर्म भर्दा न्यूयोर्क, अबुधावी र दोहा भर्दाभर्दै योग्यताक्रममा मभन्दा अगाडि भएका कर्मचारीले पनि सोही नियोगमा सरुवा पाएको निर्देशिकाअनुरूप नै छ । तर, मैले भरेको प्राथमिकताक्रमको नियोग नपाएपश्चात् अन्य उपलब्ध स्थानसम्बन्धी जानकारी नै नपाई निर्णय भइसकेको हुँदा सो निर्णय पुनरवलोकन गरिनुपर्छ । साथै, सो जानकारी नपाई मैले पनि प्राथमिकता राख्नसक्ने कुवेतस्थित नियोगमा आफूभन्दा तल रहेको योग्यताक्रमको कर्मचारी सिफारिस भएको हुँदा सो निर्णय निर्देशिकामा दिइएको बुँदा (६) को (१) मा उल्लेख मुख्य आधारविपरित रहेकोले पुनरवलोकन गरिनुपर्छ ।’

उनले निर्देशिकाको प्रावधान ७ (९) अनुरूप ‘घ’ वर्गबाट ‘क’ वा ‘ख’ वर्गमा जाने र ‘क’ वा ‘ख’ वर्गमा काम गरिसकेको कर्मचारीलाई फेरि ‘क’ वर्गमै पठाउने निर्णयमाथि पुनरवलोकनको माग गरेका छन् । निजामती सेवा ऐन, २०४९ को दफा १८ (३) मा ‘सामान्यतया’ भन्ने शब्द कतै उल्लेख नभएको हुँदा सोही दफाअनुरूप निर्देशिकाको प्रावधानलाई व्याख्या गरी सरुवाको निर्णय पुनरवलोकन गरिनुपर्ने मागसमेत उठेको छ । भेदभावको एउटा उदाहरण हुन्, प्रथमा उप्रेती ।  पहिला ब्रसेल्समा थिइन् । पछि कोरिया बसिन् । अहिले न्यूयोर्क पठाइँदै छ । प्रधानमन्त्री आफैँले अञ्जान शाक्यको शैलीमा न्यूयोर्क पठाउन अह्राएकाले आदेश हुबहु कार्यान्वयन गर्नुपरेको बढुवा समितिको बैठकमा रिपोर्टिङ भएको थियो । राजदूत नियुक्तिको बेला ‘माथिको आदेश’मा टिप्पणी गरेर कोपभाजनको शिकार बन्न कुनचाहिँ सहसचिव कस्सिएला ? यसबीच, इजरायलबाट आएकी उपसचिव रोशन खनाललाई दोहातिर धपाइएको छ । वासिंगटन डिसीबाट बीचमै तानिएर सात महिना अल्मल्याई रियाद धपाइएका जितबहादुर कार्कीले न्यूयोर्कको पोस्टिङ पाएका छन् । आधिकारिक कर्मचारी युनियनका अध्यक्ष तथा नासु यादव कोइराला ल्हासा, ढाका र जेनेभापछि अष्ट्रेलियास्थित क्यानबेरा जान लाग्दैछन् । सचिवका पिए नासु जनक सिंहलाई वासिङ्गटन पठाउन लागिएको छ भने अर्का सुब्बा लक्ष्मण तामाङलाई न्यूयोर्क पठाउने तयारी छ । निर्मल भट्टराई क्यानबेरा तोकिएका छन् ।

एमाले टिकट होल्डरको रूपमा चर्चित उपसचिव डम्मरुबल्लभ पौडेल दुई तिहाई सरकारको पहिलो शिकारमा परेका छन् । उनलाई पहिलो पोष्टिङका रूपमा रियाद पठाइएको छ । परराष्ट्रका कर्मचारीबीच गाइँगुइँ छ, ‘नबोली खुसुखुसु काम गर्नेको हालत कस्तो हुन्छ, डम्मरुबल्लभबाट सिकौँ !’ पार्टीले डम्मरुबल्लभजस्ता गोप्य कमिटीका सदस्यहरूसँग लेवी अरुको भन्दा तेब्बर लिन्छ । उनीहरू खुशीले दिन्छन् पनि । तर, पार्टीकै दुई तिहाईको सरकार हुँदा यसरी अचानोमा राखेर ‘¥याईं¥याईं’ रेटिएको छ । परराष्ट्र सेवामा नयाँ छिरेका नासु विदुर खतिवडालाई जेनेभा पठाइएको छ । उपसचिव लेखनाथ गौतमले बैंककको पोष्टिङ पाएका छन् ।

उच्च अदालतका न्यायाधीश तेजबहादुर कार्की र मञ्जु खाँणतर्फका छोरा प्रतीक कार्की र श्रीमती यशु बस्नेतले एउटै पोष्टिङ पाएका छन्, मलेसियाको राजधानी क्वालालम्पुरमा । महरा परराष्ट्र मन्त्री हुँदाका निजी सचिव अर्जुन घिमिरेलाई श्रीलंका, भुवन ओझालाई अबुधावी, भुवन भट्टलाई दोहा, गणेश अधिकारी नगएपछि जानकी ओझालाई कुवेत, अरुणा घिसिङलाई बहराइन र सोमेश थापालाई मस्कट तोकिएको छ । शाखाअधिकृत किरणकुमार गुरुङले हङकङ, उपसचिव खड्ग दाहालले पेरिस र रामसिंह थापाले कोरिया पाएका छन् । कुञ्जन साहले जेद्दा पाएका छन् । यसैमा सबभन्दा बढी आक्रोश छ, कुञ्जनको । असन्तुलित, पूर्वाग्रहपूर्ण सरुवा भएको भन्दै सरकारलाई लिखित निवेदन नै दिएर यीमध्येका आठ जना शाखाअधिकृतले पुनरवलोकनको निम्ति आग्रह गरेका हुन् । उनीहरूले ‘रिडर्स क्लब’ बनाएर सामाजिक सञ्जालमा आन्तरिक रूपमा मन माझ्न थालेका छन् । 

टिप्पणीहरू