​यिनलाई चाहिँ के गर्ने नि श्रीमान् ?

अख्तियार आयुक्त राजनारायण पाठकको घुस प्रकरणसँग जोडिएको मामिला हो यो । लम्बोदर न्यौपानेहरु इञ्जिनियरिङ कलेजलाई निजी कम्पनी बनाउने, सम्पत्ति नामसारी गर्ने र बेच्ने योजनामा थिए ।

चाँगुनारायण नगरपालिका (साविकको गाविस) को ०५६ पुस १ को निर्णयानुसार एक सय ७४ रोपनी जमिन कलेज सञ्चालनका लागि दिइएको र त्यसमा भौतिक पूर्वाधारसमेत जोड्दा अहिले डेढ अर्बको सम्पत्ति छ । त्यसका सञ्चालकहरु लम्बोदर न्यौपाने, डा.रामरत्न उपाध्याय, ई. लवराज भट्टराई, डा.उपेन्द्र गौतम, प्रा.डा.दीपक भट्टराई, हरिप्रसाद पाण्डे, सूर्यबहादुर केसी, ई. सलिल भट्टराईमध्ये दीपक र हरि एकातिर, बाँकी अर्कातिर भएर विवाद चलिरहेको थियो । कम्पनी रजिष्ट्रारले बहुमतको निर्णयका आधारमा नयाँ कम्पनी दर्ता गरिदियो । त्यसबीच, अख्तियारमा मुद्दा परेर लम्बोदरहरुले कम्पनी रजिष्ट्रारमा भएको दर्ता खारेजीका लागि निवेदन दिन पुगे ।

दुई महिनाअघि रेवन्त र अग्नि थपलिया न्यायाधीश थिए, पुनरावेदन (हालको उच्च) अदालत पाटनमा । रेवन्तले अवकाश पाउनु दुई साताअघि यसबारे फैसला ठोकिदिए । यो कुरा थाहा पाएर वरिष्ठ अधिवक्ता शम्भु थापाका छोरा (वकिल) शार्दूलले ‘यो सार्वजनिक सरोकारको विषय हो, संस्थाको सम्पत्ति प्रालिमा दर्ता गर्न पाइन्न’ भन्दै बहस गर्न जाँदा  रेवन्तले हप्काए, बोल्नै दिएनन् । ‘तिमी सरोकारवाला नै हैनौं, किन बोल्ने ?’ भन्दै नराम्ररी छाँसे । त्यसपछि खारेज भइसकेको पहिलाको कम्पनी पुनः दर्ता गर्न आदेश भयो । सम्पत्ति प्राइभेट कम्पनीको हुने, अलपत्र छाड्दा विद्यार्थीको हित नहुने भन्ने आदेशमा थियो । त्यसलाई प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाले निषेधाज्ञाको आदेश दिई कार्यान्वयनमा रोक लगाएका छन् । आफूले अवकाश पाउनु पाँच दिनअघि नेकपा पृष्ठभूमिका रेवन्त कुँवरले गरेको यो लफडापूर्ण आदेशबापत उनी कारवाहीमा पर्ने कि नपर्ने ? 

मुहान धमिलो हुनुको अर्को प्रसंग आउँछ, अख्तियारमा महान्यायाधिवक्ता कार्यालयबाट चारजना सहसचिवस्तरका वकिल जान्छन् । उपन्यायाधिवक्ता पनि उत्तिकै हुन्छन् । कतिपय तिनै राजनारायण पाठकहरुकै इशारामा चल्ने हुन् । कानुनी राय दिने, कलम चलाउनेहरु कारवाहीमा पर्नु पर्दैन ? समिर सिल्वालकै शैलीमा आयुक्तहरुलाई उत्तेजित हुन साथ दिने त उनीहरु नै हुन् । यो प्रकरण अख्तियारले छानबिन गरेर पत्ता लागेको पनि होइन । अरुले नै स्टिङ अपरेशन गरेका आधारमा राजनारायणका दोषी प्रमाण संकलित भएका हुन् । मान्छेहरु सरकारी निकायबाट अप्ठेरोमा परेपछि ‘म त समस्यामा परेँ, परेँ, यसलाई पनि छाड्दिनँ’ भनेर गरिएको स्टिङ अपरेशन थियो, त्यो । देश कस्तो भएछ भने अवैध बाटोबाट अत्याचारको पर्दाफास हुने अनि राजनारायण घुसमा होइन अकुत सम्पत्तिमा तानिने ।

टिप्पणीहरू