​आफ्नै ३ वटा डम्म ओथारो

अहिले पनि काठमाडौंको आकाशमा जहाजहरु होल्ड भएर बस्ने समस्या कायमै छ । यसरी आकाश नै जाम हुने समस्याले गर्दा दुःखचाहिँ स्वदेश–विदेश दुबैतिरका यात्रुले व्यहोर्नुपरेको छ ।

विदेशबाट आउने विभिन्न जहाजले कारणवश यहाँ ओर्लन पाएनन् भने ती भारतका लखनऊ, कोलकातातिर डाइभर्ट हुनुपर्छ वा यहीँको आकाशमा केही समय फन्को मार्नु पर्ने हुन्छ । जसो गरे पनि इन्धन खपत बढ्ने नै भयो । अरू देशका त ढाका र भारततिर डाइभर्ट होलान् भए तर चिनियाँ विमानले त्यसो पनि गर्दैनन् । चीनको दुई कम्पनीका दुई विमान दैनिक काठमाडौं आवत–जावत हुन्छन् । आफ्नै भूमि फर्किनका लागि अढाईदेखि तीन घण्टाको थप उडान आवश्यक हुन्छ । त्यसैले विमानमा बढी इन्धन हालेर आउनुको विकल्प छैन । अझ सलाम, फ्लाई दुबई, एयर अरेबियाजस्ता बजेट एयरलाइन्सले त तेल बढी हाल्नुपर्ने कारण यात्रुका लगेजहरु उतै छाडेर आउँछन् । कतिपय यात्रुका लगेज महिनौँदेखि अलपत्र, बेपत्ता हुने अवस्था यसकारण विद्यमान छ ।

नेपालीको स्वामित्वमा रहेको र हाम्रा प्रधानमन्त्री विदेश जाँदा राष्ट्रिय ध्वजावाहक सरकारी विमान छाडेर प्रयोग हुने गरेको हिमालयन एयरलाइन्सको कुरै बेग्लै, उसले एयरपोर्टलाई २१ करोड रुपैयाँ तिरेको छैन । विदेशी सेक्टरका लागि उडान अनुमति लिने तर जहाज नउडाउने † श्रीलंका, म्यानमारको लाइसेन्स लिने तर यात्रु नलाने । त्यस्तो हुँदा विमान सधैँ काठमाडौं विमानस्थलमा ओथारो लागेर बस्ने भयो । ठाउँ ओगटेर उसको तीनवटा जहाज बसिदिँदा विदेशबाट आउने अरु विमानको बाटो पनि रोकियो । एकातिर शुल्क तिर्दैन, अर्कातिर एयरपोर्ट कब्जा गरेर बसेको छ ।

केही महिनायता विमानस्थलको आगमनतर्फ मदिरा ल्याउने कुरामा कडाइ गरिए पनि दिल्लीबाट राति काठमाडौं ओर्लिने भारतीयहरुको हकमा भने मज्जा छ । एकजना यात्रुले एक बोतलसम्म मदिरा ल्याउन पाइन्छ । तर, कतिपय भारतीय यात्रुले आपसमा मिल्ने र एकैचोटिमा दर्जनौँ बोतल भिœयाउने गरेका छन् । अर्कातिर, कर्मचारीको बठ्याईं कस्तो भने, साउदी–कतारबाट गरिब नेपालीले ल्याएका मदिरा १५ वटा जफत भए मुचुल्कामा सात–आठवटा देखाउने, राति घर फर्कंदा ड्युटीवाल सिपाहीलाई एक बोतल दिएर अरु आफूले चिरिप्प पार्ने !

टिप्पणीहरू