​अब त्यहाँ चल्छ कसरी ?

ठूलै हल्लिखल्लीका साथ गृहबाट प्रधानमन्त्री कार्यालयतिर सारिएको राष्ट्रिय अनुसन्धान विभागमा झनै भद्रगोल देखिएको छ । 

तीनजना अतिरिक्त प्रमुख (एआइजी) को दरबन्दी थियो । त्यसमध्ये गणेश अधिकारी गत महिना प्रमुखमा नियुक्त भए । उनले सम्हालेको प्रशासनमा यदु खरेल पुगे । यादव रेग्मी थिए, सातै प्रदेशको सूचना संकलन गर्ने विभागमा । एआइजीको तीन दरबन्दी काटिएर एउटा कायम भएपछि अब यादवको हैसियत के हुन्छ ? दरबन्दी नभएको नाममा उनलाई जागिर बाँकी हुँदैमा बिदा गर्ने कि ? राअवि ऐनबाट अवकाशको प्रावधानमा ३० वर्षे सेवाहद हटेर ५८ वर्षे उमेरहद कायम भइसकेको छ । एआइजीको पदावधि चार वर्ष पनि तोकिएको छ । कि त, सशस्त्रमा जस्तै गर्नुप¥यो । शेरबहादुर देउवाको पालामा विशेष दरबन्दी खडा गरेर एआइजी बनाइएकाहरुको जागिर बाँकी हुञ्जेल रहने र त्यसपछि कोही पनि त्यो पदमा नहुने भनेजस्तो !

पहुँचवालाले चाहिँ त्यहाँ आफ्नो पहुँच राम्रैसँग देखाइदिएका छन् । बूढेशकालमा कम्ब्याट लगाएर कुङफु, कराँतेसहितको तीन महिने आवासीय तालिममा छनौट भएकाहरुले प्रहरी र एकेडेमी छिर्नु नपर्ने गरी आफ्नो नाम काट्न लगाएर पहुँच देखाएका हुन् । राष्ट्रिय सुरक्षा परिषद्मा रहेका एसएसपी ठाकुर केसीले मुटुको व्यथा र उच्च रक्तचापको समस्या भन्दै, काठमाडौं एयरपोर्टमा रहेका शरद्बन्धु डिसीले ढाड र मुटुको व्यथा देखाउँदै, राजश्व तथा स्वदेशी भेरिफिकेशन हेर्ने एसपी उर्मिला ढुंगाना (प्रहरी प्रमुख सर्वेन्द्र खनालकी साली) र संकलनतर्फका एसएसपी ओम पराजुलीले क्रियापुत्रीमा बसेको कारण नाम कटाएका हुन् । बढुवामा चित्त नबुझाएका सम्पादनको काम हेर्ने एसपी गोपालध्वज कार्कीको राजीनामा भने स्वीकृत भइसकेको छैन । भनसुन गर्न नसकेका वैकल्पिक सोझासीधाचाहिँ अहिले महाराजगञ्जस्थित पुलिस तालिमकेन्द्रमा परेड खेलिरहेका छन् ।

टिप्पणीहरू