​किन भाँडिँदै छन् घर, हुनै छाड्यो भर

काखमा चार वर्षकी नानी देखेपछि केही समयअघि मात्रै कतारबाट फर्केका श्रीमान्सँग सम्बन्धविच्छेदको मुद्दा लिएर ०७५ कात्तिक ३ गते जिल्ला अदालत पुगेकी इन्द्रमाया दुरालाई आफ्नै कार्यकक्षमा बोलाएर श्रीमान् कोमलप्रसाद आचार्यले सोधे– ‘किन सम्बन्धविच्छेद गर्न खोज्यौ ?’ जवाफ आश्चर्यलाग्दो थियो । इन्द्रमायाले भनिन्– भात खाने मुखले त भात खाने, नखाने मुखले के खाने ? जितबहादुर दुराले आफूले सम्बन्धविच्छेद गर्न नचाहेको र कुनै प्रकारको हेलाँहोचो नगरेको बताइरहँदा लोग्नेले असाध्यै तङ्ग गर्ने, कतै बाहिर फेर निस्कन पनि नदिने, कुट्नेजस्ता आरोप लगाएर छुट्टिन खोजेको आरोप लगाइन् । 

२ महिनाअघि मात्रै फर्केका जितबहादुरले श्रीमती राति अबेरसम्म पनि अपरिचित मान्छेसँग फोन र एसएमएसमा झुन्डिने गरेको चाल पाएर मोबाइल खोसिदिए । केही म्यासेज पढे । घरमा ठाकठुक प¥यो । लोग्ने÷स्वास्नीको झगडा परालको आगो ठानी वास्ता गरेनन् । जितबहादुरले अदालतमै मुख फोरे– श्रीमान् यसको पेटमा नाठोको पाठो छ । जिब्रो काट्दै श्रीमान् आचार्यले सोधे– हो ? हाँसी मात्र रहेकी इन्द्रमाया केही बोलिनन्, उनको एउटै दाबी थियो– म स्वतन्त्र हुन चाहन्छु ।

१२ कक्षासम्म पढेकी इन्द्रमायाले लोग्नेसँग चल अचल कुनै सम्पत्ति नलिई सम्बन्धविच्छेद गर्न खोजेको भने पनि वकिलले पहिल्यै सिंगारेका रहेछन् अंश वा नगद लिएर सम्बन्धविच्छेद गर्छु भन्यो भने कोर्ट फी तिर्नुपर्छ, अदालतलाई किन तिर्ने बेकारमा ! अन्ततः चार लाखमा कुरा छिनियो । कसैसँग जाँदिन भनेकी इन्द्रमाया चार लाख लिएर सम्बन्धविच्छेदको कागज गरेको पर्सिपल्टै अर्कैसँग बाटो लागेको खबर आयो । 

लोग्ने विदेश नै भएकी बेंसीशहर क्याम्पस रोडनजिक बस्ने सन्तीमाया गुरुङको (नाम परिवर्तित) लमजुङ सामुदायिक अस्पतालमा ड्युटी खटिएका गोर्खा जिल्ला निवासी हवल्दार लक्ष्मण देवकोटासँग चक्कर चल्यो । लोग्ने साउदीमा । यता, देवकोटा र सन्ती पति–पत्नी बनेर बसे । एक साताको छुट्टीमा देवकोटा घर गएकै बेला लोग्ने आएको खबर दिन भ्याइनन् । छुट्टी सकेर देवकोटा जिप्रका लमजुङ आए । आधा किलो अंगुर र दुईवटा कोकोनट बिस्कुट बोकेर सरासर सन्तीको घर गई सन्तु–सन्तु भन्दै कोठामा छिरे । सन्ती थिइनन् । लोग्ने टिभी रुममा थिए । देवकोटाले को हो तपाईं– मान्छे नभएको घरमा किन ? भनेर सोधे । सन्तीका लोग्नेले काम भएर आएको, भेट भएन । हजुर को त भनेर सोधे । देवकोटाले बिनाहिच्किचाहट आफू सन्तीको पति भएको बताए । सोफामा सँगै बसे । सोधे– के–कति काम थियो कुन्नि ! लोग्नेले पनि अलिअलि हिसाबकिताब मिलाउनु थियो, खै मेडमले वास्तै गर्नुभएन, त्यही भएर आएको बताए । केहीबेरमा सन्ती दूधको पोको र चिनी लिएर आइपुगिन् । सोफामा देवकोटालाई देखेपछि छाँगाबाट खसेझंै भइन् । रिसले आगो भएका सन्तीका लोग्ने तेरो लोग्ने आएछ भन्दै खनिए । हवल्दारको होसहवास उड्यो । गुरुङले मुक्का प्रहार गर्न थाले । मान्छे जम्मा भए । देवकोटा भागे । लाखौं रकम हिनामिना पारिदिएकी सन्तीसँग माघ १३ गते सम्वन्धबिच्छेद भयो । 

बहुविवाह मुद्दामा भतिजो राजाराम चितवन कारागारमा परेपछि मिलाउन गएका भोटेओडारका केही थान अधिकारीमध्ये आरपी अधिकारीले बहुलठ्ठीपन देखाउँदै क्याप्टेनकी श्रीमतीलाई बिहान ३ बजेसम्म म्यासेञ्जरमा निकै अन्तरंग कुराकानी मात्र होइन, भिडिओ कलसम्म गर्न भ्याए । थापा थरकी ती महिला कतिबेला निदाइन् चाल पाइनन्, म्यासेज डिलेट पनि भएन । दुर्भाग्य क्याप्टेनले पनि श्रीमतीकै फेसबुक चलाउँदा रहेछन् । बिहान ४ बजे ड्युटी सकेर कोठामा फर्की यसो फेसबुक खोल्छन् त हेर्नै नसकिने म्यासेज र तस्बिर देख्नासाथ श्रीमतीलाई तँ तत्काल मेरो छोरा छाडेर त्यो बाहुनसँग गइहाल् भनी फोन गरे । म्यासेज भाइरल बन्यो । चितवनमै रहेका आरपी लमजुङ नफर्की सीधै काठमाडांै हान्निए । क्याप्टेनले श्रीमतीलाई नराख्ने भन्दै सम्बन्धविच्छेदको कुरा बढाए । तर, आरपीले आफूले जाँड खाएका बेला के–के भनेँ चाल नपाएको भन्दै माफी मागे । केस सम्बन्धविच्छेदसम्म नपुगे पनि १५÷२० लाखमा कुरा मिलेको खबर आयो । 

कतारमा रहेका सोमबहादुर खत्रीले कल अटो रेकर्डिङमा राखी विदेशबाट सामसुङ फोन पठाइदिए । विवाह गरेको केही समयमै हिँडेका उनले बेला–बेला पैसा पनि पठाउँदै थिए । १८ महिनापछि घर फर्केका खत्रीले एकदिन श्रीमतीको फोन चेक गर्दा त यस्ता अश्लील कुराकानी भएको सुने कि विषसेवन गर्ने अवस्थासम्म पुगे । कुराकानी पाल्पादेखि बुटवल घुम्न जाँदा भएको मोजमस्तीसम्मका थिए । पशु कार्यालयमा कार्यरत ५० कटेका एक कर्मचारीसँगको यस्ता हर्कत सहने कुरा भएन । बेंसीशहरमा सनसनी भयो । भेटेरेनरीका कर्मचारी फरार भए । खत्री सम्बन्धविच्छेदका लागि अदालत पुगे । तर, उनले यी कुरा अदालतसमक्ष पेश गरेनन् । १४ लाख दिएर पीडामाथि पीडा बोक्दै १२ गते सम्बन्धविच्छेद भयो । 

चपली हाइटजस्ता दर्जन छाडा फिल्म खेलेर मध्यनेपाल नगरपालिका रम्घाका राज भनिने शंकरराज न्यौपानेको सिनेमाकै सुटिङ क्रममा लोग्ने छाडेर बसेकी गीतासँग पोखरामा भेट भयो । मायाँप्रेम साटियो । एकरात पनि बिताए । गर्भ रह्यो । छोरी जन्मिइन् । केही महिनामै जिल्ला अदालत लमजुङमा सम्बन्धविच्छेदको मुद्दा हालिन् । १० लाख लिएर छोडपत्र गरियो । अहिले छोरी १६ वर्षकी भएपछि उनैले अंशबापत भनेर मुद्दा हाल्न लगाइन् लमजुङ जिल्ला अदालतमै । केही दिनअघि मात्रै छोरीलाई पनि अंशबापत भनेर १० लाख दिएपछि शंकर एकरातको २० लाख भन्दै हिँडेका हुन् । 

जिल्ला अदालत लमजुङमा असारदेखि फागुन १५ गतेसम्म मात्रै १ सय २ सम्बन्धविच्छेदका मुद्दा किनारा लागेका छन् । सम्बन्धविच्छेद गर्नेहरू अधिकांश गुरुङ, तामाङ र नेवार समुदायका जनजाति भेटिएका छन् । 

– अञ्जनकुमार

टिप्पणीहरू