डरले यसरी जमाएछ सिकेमा घर
बाहिरबाट हेर्दा आगोजस्तो देखिने, भित्रचाहिँ पानीजसरी गलिसकेको हुने ! पहिला तथ्यतिर जाऔँ, यिनै सिके राउतलाई रौतहट जिल्ला अदालतले थुनामा पठाउने निर्णय गरेपछि दाइ डा.जयकान्त राउत ०७५ डब्ल्युएच ००५९ नम्बरको रिटसहित सर्वोच्च पुगे । अदालतले राज्यविरुद्धको संगठित अपराध कसुरमा मंसिर १७ गते सोमबार अन्तिम आदेश सुनायो, जेलमै राख्ने गरी । त्यसपछि सिके खङ्¥याङखुङ्रुङ भए । सोचे, ‘अब मलाई कम्तिमा तीन–चार वर्ष नराम्ररी जाक्छन् †’
अदालत शुरुमा उदार थियो । पछि उसको भूमिका फेरियो, सरकारको रणनीति पनि बदलियो । पहिला विशेष र जिल्ला अदालतले मुद्दा पेश हुनासाथ तारिखमा छाड्थे, जसबाट उनले हिरोइज्म देखाउने मौका पाए । सामान्यतया आजको भोलि नै सुनुवाई हुनुपर्नेमा न्यायाधीशहरूले हप्तादिन लगाइदिएपछि बन्दीप्रत्यक्षीकरणको परिणाम आफ्नो अनुकूल हुँदैन भन्ने बुझेका सिकेले मंसिर १७ गते बिहान जेलमै मधेसका केही बुद्धिजीवीलाई बोलाएर भने, ‘मलाई अब थुन्छन् । संगठनमा मबाहेक कोही मान्छे दरिलो छैनन् । भएमध्येका सहसंयोजक कैलाश महतो (महोत्तरी, पछि नवलपरासी बस्ने) पनि थुनामै छन् । यसबीच केही गतिविधि कतै देखिएन ।’ बुद्धिजीवीहरूले सुझाव दिए, ‘कि तत्कालै फलको आशा नगरी दीर्घकालीन संघर्ष शुरु गर । नेल्शन मण्डेला २७ वर्ष जेल बसेकै हुन् । केपी ओली पनि १४ वर्ष बसेका थिए । हैन भने अवतरणको बाटो खोज । हतियार बोकेर हिँड्दामात्र राज्यले नियन्त्रण गर्छ भन्ने होइन । जुन मुद्दा तिमीले बोकेर हिँडेका छौ, यो विखण्डनको मुद्दालाई सरकारले सहँदैन, यसअन्तर्गत खुल्ला गतिविधि गर्न दिँदैन ।’ उनले जवाफ दिए, ‘मैले विभिन्न च्यानलबाट कुरा चलाएको छु । मलाई जसरी पनि बाहिर आउनु छ ।’ उनले प्रयोग गरेको अर्को च्यानल हो, अनिश अन्सारी । उनी ०४८ पछिको राजनीतिक परिदृश्यमा नेपाल सद्भावना पार्टीमा रहेर पटक–पटक सांसद, मन्त्री बनेका, हतियार र महिलाको मामिलामा बद्नाम पात्र हुन् । पछि माओवादीको तर्फबाट राजविराजको मेयरमा पनि उठे । उनैले प्रचण्डसमक्ष सीकेको कुरा पु¥याए भने सिकेका दाइहरु बालुवाटारसँग सीधै जोडिए ।
सिके राउत अब पुराना गतिविधि छोडेर, अर्को पार्टीमार्फत राजनीतिमा लाग्ने छन् । तत्काल नेकपामा प्रवेश गर्ने–गराउने कच्चा खेल कसैले खेल्ने छैन । उनले पृथकतावादको नाममा न सम्पूर्ण मधेसको समर्थन पाए, न भारतको धाप ल्याए । बरु अरुले भजाउने हाउगुजीमात्र भैदिए । भारतले किन पत्याएन भने, उनी युरोपियन खेमाबाट गाइडेड छन् भन्ने प¥यो । अमेरिका त बसेकै, पढेकै हुन् । भारत जाँदा बढीमा पटनासम्म पुगेर फर्किन्थे ।
सिके राउतलाई यसरी गुपचुप अवतरण गराइनु उपेन्द्र यादव र राजेन्द्र महतोहरूप्रति प्रम ओलीको इरिट्रेशनको अभिव्यक्ति पनि हो । उपेन्द्र सरकारमै छन् । त्यसकारण उनी धेरै पर नजालान् । तर, अब राजपा र कांग्रेस नजिकिने सम्भावना धेरै छ । राजेन्द्र र उपेन्द्रलाई मधेसमा कमजोर नबनाइकन नेकपाको प्रभाव पनि बढ्दैन । त्यसनिम्ति सिके राउतलाई अगाडि बढाउनुपर्ने हुन्छ । यो काम उनलाई नेकपामा प्रवेश गराएर फत्ये हुँदैन । उनलाई अलग्गै फोर्सका रूपमा राख्नुपर्छ । सिके वैकल्पिक शक्ति बनेर मधेसमा उदय भए भने उपेन्द्र र राजेन्द्रलाई राम्रै दनक हुने अवस्था आउँछ । किन पनि भने, सिके उनीहरूजस्तो पटक–पटक टेस्टेड भएका छैनन् । विद्वान भन्ने छवि छ, त्यसमाथि अमेरिकामा पढेको भनेपछि मधेशको हेराई नै फरक हुन्छ । केपीले रौतहटमा पुगेर भनेकै हुन्, ‘आउँदैछ समय, कोही भ्रममा नपरौँ ।’ सेनाले हरेक पिएसओज बैठकमा भनिरह्यो, ‘राष्ट्रिय सुरक्षामा सिके राउत अर्को चुनौति हो, यसको राजनीतिक समाधान हुनुपर्छ ।’
सिकेले निराश युवा पंक्तिलाई समेटे, पर्वते मानसिकतालाई ठूलो चुनौति दिए । भारतीय नाकाबन्दी चिरेपछि ओली नेतृत्वको सेकेण्ड माइलेज हो यो । किनभने, सिकेले आजाद मधेशको अलग नक्सा, झण्डा, राष्ट्रिय गीत र छुट्टै सेनासम्म बनाइसकेका थिए ।
जनस्तरमा विशाल साँगठनिक प्रभाव नभए पनि एउटा पंक्तिमा उनको प्रभाव बढ्दै थियो । आठ–नौ जिल्लामा उनको नाममा मर्न, मार्न तयार मान्छेहरू तयार भैसकेका थिए । मोरङजस्तो जिल्लामै उनका १७ जना समर्थकहरू संगीन मुद्दामा थुनिएका छन् ।
टिप्पणीहरू