आतंककारी उड्ने आशंका
पाकिस्तान र भारतबीच बाक्लिँदो तनावबीच यदि ०५७ सालमा झैँ काठमाडौं विमानस्थलबाट उडेको जहाज अपहरणको खबर आयो भने अचम्म मान्नु नपर्ने गरी सुरक्षा लापरवाही देखिएको छ, एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा ।
घटना २३ गते बिहीबार, बिहान १०ः३० बजेको हो । जेट एयरबाट दिल्ली जाने भनी दुई जना बोर्डिङ पास लिएर अध्यागमन पुगे । नाम थियो, रोजिना दाहाल र केशव गुरुङ । अध्यागमनका कर्मचारीले पासपोर्ट र नागरिकता हेरेर डिपार्चरको छाप लगाए । त्यही आधारमा उनीहरु अगाडि बढे, चेकजाँच गरेर जहाज चढ्नुअघि प्रतीक्षा गर्नुपर्ने स्टेरलाइज जोनमा बसे । त्यही बेला एयर अरेबियाको ‘जि– नाइन’, अर्थात्, काठमाडौं–सारजाहको उडानले अन्तिम बोर्डिङ खोल्यो । त्यतातिर यात्रु गइरहेको बेला उनीहरु पनि त्यसको गेटमा पुगे । बोर्डिङपास देखाएर भित्र छिर्ने क्रममा वायुसेवाका कर्मचारीले सेक्युरिटीको छाप देखेनन् । एकछिन जिल्ल परेर हेरे ।
त्यसपछि उनीहरुलाई फर्काएर अध्यागमनमा लगियो । सोधपुछ गर्दा थाहा लाग्यो, उनीहरुले दिल्ली जान भनेर लिएको जेट एयरको बोर्डिङ पास स्टेरलाइज जोनमै च्यातचुत पारेर फालिसकेका रहेछन् । अध्यागमनले तत्कालै जेट एयरको काउण्टरमा पुगेर यात्रुहरुको नामावलि हे¥यो, जसमा रोजिना र केशवको नाम थिएन । अर्थात्, उनीहरु कि एयरलाइन्स, कि लोडर या अन्य कर्मचारीको सेटिङमा टिकट इश्यु नभएको बोर्डिङ पास लिएर माथि उक्लिएका रहेछन् । र, भित्र छिरेपछि जुन देश जाने भनेर बोर्डिङ देखाएको हो, त्यो च्यातेर तेस्रो गन्तव्यतिर लाग्दै थिए । योभन्दा गम्भीर सुरक्षा लापरवाही अरु के होला ? पूरै आतंककारीले अपनाउने शैली ! यस्तो लापरवाही हुने बुटिक विमानस्थलमा कुनै दिन साँच्चैका आतंककारी नछिर्लान् भन्ने कसरी ? ०५७ सालमा एयर इण्डियाको जहाज यस्तै शैलीको अपहरणमा परेर अफगानिस्तानको कान्दाहार पु¥याइएको थियो ।
टिप्पणीहरू