कुरा नबुझ्दा अर्कै काण्ड

नेकपा महासचिव भनेको दुई अध्यक्षपछिका शक्तिशाली मानिन्छन् । तर, यो कुरा ख्याल नगरिँदा चीनमा समस्या भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमण निश्चित भइसकेको अवस्थामा चीन पुगेका नेकपा महासचिव विष्णु पौडेलले त्यसबारे न चिनियाँ सरकारसँग कुनै कुरा गर्न पाए, न समकक्षी नेतासँग नै ! उनले काठमाडौंबाट जाँदै उताको दूतावासमार्फत भेटघाट मिलाउन सक्थे । तर, त्यसो गरेनन् । त्यति मात्र होइन, बेइजिङ पुगेर आफ्नै दूतावासलाई समेत खबर गरेनन्। केही दिनअघि खबर गरेको भए दूतावासले प्रोटोकल हेरेर कुनै चिनियाँ नेतासँग भेट गराउन सक्ने थियो । उनलाई बोलाउने राजीव झाले चीनका सबै नेतासँग आफ्नो पहुँच रहेको र भेट गराउने भनेका थिए । 

चीनमा रहँदा उनले भेटेका सबैभन्दा वरिष्ठ व्यक्ति आई पिङ हुन् । उनी ६ वर्षअघिसम्म चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री थिए । चीनमा उपमन्त्री भनेको नेपालको सहसचिव वा सोसरह हो । अन्तर्राष्ट्रिय विभागबाट रिटायर्ड भएपछि उनी चाइना एशोसिएसन फर इन्टरनेशनल अण्डरस्ट्याण्डिङका उपाध्यक्ष छन् । यो एउटा गैरसरकारी संस्था हो । विदेशीसँग मित्रता बढाउने काम यस एनजिओले गरिरहेको छ । नेपालसँग अलिक बढी चासो राख्ने हुनाले आई पिङले नेपालबाट चीन भ्रमणमा गएका सबैखाले पत्रकार तथा अन्य प्रतिनिधिलाई भेट गर्ने गरेका छन् । उनलाई नेपालका साथी पनि भनिन्छ । महासचिव पौडेलको यात्रा प्रबन्ध मिलाउनेहरूले उच्च राजनीतिक भेटघाटको नाममा आई पिङसँग हात मिलाएको फोटो नेपाली मिडियालाई बाँडेका छन् ।

बेइजिङको उक्त ‘उच्चस्तरीय भेट’ भन्दा अगाडि महासचिव विष्णु पौडेलले चीनको पल्लो शान्सी प्रान्तको सदरमुकाम सियानस्थित सियान विश्वविद्यालयमा स्थापना गरिएको साउथ एसियन स्टडिज सेन्टरको उद्घनसमेत गरेका थिए । यता भने पार्टी एकताको चटारो परेको बेला छ । यो विश्वविद्यालयको संयोजनमा गत वर्ष बुटवल उपमहानगरपालिका र सियान नगरपालिकाबीच छात्रवृत्ति आदानप्रदान सम्झौता भएको थियो । आफ्नो जिल्लाका विद्यार्थीलाई छात्रवृत्ति दिने सम्झौता गरेको पैँचो तिर्न पौडेल चीन गएको बताइन्छ ।

सिआनमा पनि पौडेलले विश्वविद्यालयका केही प्रोफेसरसँग सामान्य कुराकानी गरे । त्यसपछि बेइजिङ पुगेर ‘उच्चस्तरीय नेता’ आई पिङसँग भेट गरेका हुन् ।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि सामान्य संस्थाले आयोजना गरेको कार्यक्रममा चीन जाने गरेका छन् े नेकपाकै अर्का नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि गइरहन्छन् ! भारतले नाकाबन्दी लगाएका बेला पेट्रोलियम ल्याउने भन्दै चीन पुगेका तत्कालीन आपूर्तिमन्त्री तथा वाइसिएलका अध्यक्ष गणेशमान पुनले जनमुक्ति सेनाका एक जना मेजरलाई भेटेर फर्किएको कुरा नेपाली राजनीतिमा अझै मजाकको विषय बन्ने गरेको छ ।

नेपालका नेताले आफ्नो हैसियत ख्याल नगरिदिँदा सिचुवानको एउटा चिनियाँ टुर गाइड कम्पनीले केही वर्षअघि ‘हाम्रो कम्पनीबाट नेपाल भ्रमण गर्नेले नेपालका उपराष्ट्रपतिसँग रात्रिभोज गर्न पाउनेछन्’ भनेर विज्ञापन नै गरेको थियो । 

टिप्पणीहरू