​बुहारीबाट बबालैबबाल

कहिले भागिसकेको इटालियन ठेकेदार कम्पनी सिएमसी फर्काउने उद्घोष त कहिले कतारलाई नेपालको पानी बेच्ने प्रतिबद्धता ! खानेपानीमन्त्री बिना मगरका यस्ता उद्घोषका कारण विवादित हुँदै छिन् । बिनालाई थाहा नभएको पनि होइन यी काम सम्भव छैनन् । तर, थाहा हुँदाहुँदै बिना मगरलाई यस्ता अभिव्यक्ति दिन बाध्य पार्दै छन् केही व्यापारी । र, मन्त्री मगरचाहिँ तिनै व्यापारीको स्वार्थसिद्धि हुने हिसाबले अभिव्यक्ति दिइरहेकी छन् । विवादित बनिरहेकी छन् । अहिले मन्त्री मगर नेपालको स्प्रिङ र ग्लेसियर पानी विदेश निर्यात गर्ने कुरा उठाइरहेकी छन् ।

कहाँबाट र किन उठ्यो यो प्रसंग ? खानेपानी मन्त्रालयका उच्च अधिकारी भन्छन्, ‘यसमा नवधनाढ्य व्यापारी अजेयराज सुमार्गीको स्वार्थले काम गरेको छ ।’ सुमार्गीले रसुवाको धुन्चेमा हिमालयाज स्प्रिङ वाटर चलाइरहेका छन् । दुई दशकअघि कोरियन लगानीमा स्थापित यो कम्पनीका प्रतिनिधि एचएस हानसहितको टोलीलाई कुटपिट गरे धपाएपछि यसको स्वामित्व उनै सुमार्गीले हत्याएका थिए ०६४ सालमा । सो कम्पनीले अहिले ३५०,५००,९ सय मिलिलिटरका पेट बोतलमा हिमालयनज अन टप नामक पानी उत्पादन गरी बिक्री वितवरण गर्दै आइरहेको छ । त्यही स्प्रिङ वाटरलाई विदेशमा बेच्ने भन्दै सुमार्गी प्रचण्डको कान फुकेसँगै बिनाको पछिल्लो अभिव्यक्ति त्यसैको प्रतीक भएको खानेपानी मन्त्रालयका अधिकारी बताउँछन् । ‘खानेपानी मन्त्रालयको काम विदेशलाई पानी बेच्ने होइन ।

उत्पादनको काम उद्योगले हेर्छ, व्यापारको काम हो भने वाणिज्य मन्त्रालय छँदै छ । यस्तोमा खानेपानीको कुनै रोल पनि हुँदैन । हामी आश्चर्यचकित छौं, मन्त्री मगरको यो अभिव्यक्ति त्यसै आएको चाहिँ होइन’ खानेपानी स्रोतले भन्यो । सुमार्गीजस्तै अर्काे विवादस्पद व्यापारीको दबाबमा परी बिना मगरले मेलम्चीको कामबाट ठेक्का तोडेर भागिसकेको सिएमसीलाई फिर्ता ल्याउने अभिव्यक्ति दिइन् । त्यो अभिव्यक्ति आउनुको कारण रहेछ, नेपाल इन्भेष्टमेन्ट बैंकका मालिक पृथ्वीबहादुर पाँडे । एकातिर मेलम्चीको ठेकेदार सिएमसीलाई नेपाल इन्भेष्टमेन्ट बैंकले २६ लाख ८ हजार युरो धरौटी दायित्व बहन गरेको थियो । यस्तै, उसको सो रकम डुब्ने भएसँगै सिएमसीलाई फिर्ता बोलाउन बैंकको अध्यक्ष पाँडेले प्रचण्डमार्फत दबाब दिँदै आएको स्रोतको भनाइ छ । त्यही कारण बिनाले सिएमसीलाई फिर्ता बोलाएरै भए पनि मेलम्चीको काम टुंग्याउने उद्घोष गर्दै आएकी थिइन् तर सिएमसीले टेरपुच्छर लगाएन ।  

भट्ट आतंक
मन्त्री बिना मगरको स्वकीय सचिव (पिए) छन् कञ्चनपुरका रमेश भट्ट । तर, अहिले उनै स्वकीयको आतंकबाट त्रसित छन् मन्त्रालय र मातहतका कर्मचारी । उपसचिव, नायब सुब्बा तहका कर्मचारी भाडाका गाडी चढेर कार्यालय आउजाउ गरिरहँदा पिए भट्टले भने वल्र्ड बैंकको सहयोगमा उपलब्ध गराइएको बा.१९च २०४३ नम्बरको सेतो प्लेटको स्कारपियोको नम्बर प्लेट रातो बनाएर दौडाइरहेको फेला परेको छ । यस्तै भट्टले खानेपानी विभागबाट एप्पलको डेढ लाखभन्दा बढी मूल्य पर्ने ल्यापटप त्यहाँका हाकिमलाई थर्कमान पारेर फुत्काएका छन् ।

अर्काे रमाइलो त्यहाँ मन्त्री र नयाँ गएका सचिवबीच ¥याङठ्याङ मिलिरहेको छैन् । यस अगाडिका सचिव गजेन्द्र ठाकुरलाई त्यहाँबाट घोक्राएर नेपाल ट्रष्टको कार्यालयतिर खेदियो र त्यहाँ प्रधानमन्त्री कार्यालयबाट दीपेन्द्रनाथ शर्मालाई तानियो । तर, मन्त्री र सचिवबीच विवाद यस्तो छ कि मन्त्रीले केही दिनअघि मन्त्रालयमै चलेको बैठकका जुनियर कर्मचारीकै अगाडि सचिव शर्मालाई हकारिन् । हरेक कुरामा मन्त्री र सचिवबीच मतभेद हुन थालेपछि सचिव शर्माले निकटस्थ कर्मचारीसँग बह पोख्न थालेका छन् ‘मलाई त प्रधानमन्त्रीज्यूले मन्त्री बिना मगरसँग टक्कर लिन पठाएजस्तो पो भयो ।’

टिप्पणीहरू