प्रदेश १ मा माओवादी केन्द्रको अध्यक्षका चार आकांक्षी

प्रदेश १ मा माओवादी केन्द्रको अध्यक्षका चार आकांक्षी

-पूजा लम्साल

मोरङको बिराटचोकमा नेकपा माओवादी केन्द्रको प्रदेश १ को प्रथम अधिवेशन शुरु भएको छ । भोलि आइतबार सम्पन्न हुने अधिवेशनमा चार जना नेताले अध्यक्षको बन्ने आकांक्षा प्रकट गरेका छन् ।

अध्यक्षका आकांक्षीहरुमा उदयपुरका सुरेश राई, धनकुटाका हेमराज भण्डारी, पाँचथरका इन्दबहादुर आङबो र झापाकी धर्मशीला चापागाईं छन् । उनीहरुमध्ये एक जना सर्वसम्मत विधिबाट माओवादी केन्द्रको प्रदेश १ को अध्यक्ष चयन हुने बताइन्छ ।

अध्यक्षका दाबेदार सुरेश राई माओवादी केन्द्रका वर्तमान प्रदेश १ संयोजक र संघीय सांसद् पनि हुन् । भण्डारी पार्टीको प्रदेश सचिव हुन । आङ्बो प्रदेश संसदीय दलका नेता र सरकारका आर्थिक मामिला मन्त्री पनि हुन् । चापागाई माओवादी केन्द्र प्रदेश १ की सहइञ्चार्ज छन् ।

यसैगरी पदाधिकारीहरुमा मोरङका गणेश उपे्रती सुशिल, खोटाङका ध्रुब बुढाथोकी, ओखलढुङ्गाका मोहनकुमार खड्का, सुनसरीका मुक्साहाङ् मोयाङ्बो, शिवकुमार डाँगी, निर्मल बराललगायतले पनि दाबी गरेका छन् । नयाँ विधाअनुसार प्रथम अधिवेशन भएकाले पहिले कार्यसमितिमा परिसकेपछि मात्र पदाधिकारीमा दाबी गर्नुपर्ने भएकाले धेरैले अहिले खुलेर दाबी गरेका भने छैनन् ।

सबै प्रदेश अधिवेशनको उद्घाटन अध्यक्ष प्रचण्डले सातवटै प्रदेशमा एकै चोटी भर्चुअल प्रविधिबाट गर्नुभएको हो । प्रदेश १ सचिव हेमराज भण्डारीका अनुसार विधानबमोजिम पहिले अधिवेशनले सर्वसम्मत रुपले २ सय ६० जना कार्यसमिति चयन गर्नेछ । त्यसपछि कार्यसमितिले अध्यक्षसहित पदाधिकारी चयन गर्नेछ ।

पदाधिकारीहरुमा अध्यक्ष १, उपाध्यक्ष एक महिलासहित ३ जना, सचिव १ जना, सहसचिव १ जना र कोषाध्यक्ष १ जनासहित सात जना रहने छन् । अधिवेशनमा ११ सय जना प्रतिनिधि सहभागी भएको जानकारी दिइएको छ ।

सम्मेलनमा प्रतिनिधि छनौट गर्दा पूर्णसमावेशिताको सिद्धान्तलाई आत्मसात् गर्दै पदाधिकारी र महाधिवेशन प्रतिनिधिहरु छनौट गरिने इञ्र्चाज राम कार्कीले बताउनुभयो । जसअनुसार ३५ प्रतिशत महिला, कुल जनसंख्याको थप २ प्रतिशत दलित, ५ प्रतिशत मुस्लिम र २० प्रतिशत युवाहरुको सहभागिता रहनेछ ।

सम्मेलनका लागि प्रदेश १ का १ सय ३७ स्थानीय तहबाट पार्टी सदस्य संख्याको आधारमा ५ सय पार्टी सदस्य बरावर एउटा पालिकामा तीन जना पर्नेगरी ६ सय प्रतिनिधि चयन गरिएका हुन् । त्यसैगरी आयोजक समितिका ९७ जना, जेष्ठ कम्युनिष्ट मञ्च प्रदेश १ बाट ८० जना, प्रदेश सल्लाहकारहरु १ सय जना र विभागबाट ३२ जना पनि सहभागी भएका छन् । प्रदेश प्रतिनिधिको कुल १० प्रतिशत अर्थात् ९१ जनालाई प्रदेश आयोजक समितिले मनोनीत गर्ने व्यवस्था छ ।

एक व्यक्ति एक पद लागु हुने

प्रदेश सम्मेलनमा केन्द्रीय सदस्यहरु २० जना, केन्द्रीय सल्लाहकारहरु १२ जना, केन्द्रीय विभागका ६८ जना, केन्द्रीय जेष्ठ कम्युनिष्ट मञ्चबाट १२ जना र केन्द्रीय आयोगका ५ जना प्रतिनिधि रुपमा सहभागी भएको बताइन्छ । केन्द्रीय समिति सदस्यहरुले प्रदेश सम्मेलनमा उम्मेदवार भएमा वा मतदान गरेमा राष्ट्रिय सम्मेलनमा मतदान र उम्मेदवार हुन पाउने छैनन् । तर, प्रदेश सम्मेलनबाट राष्ट्रिय सम्मेलनको प्रतिनिधि भने चयन हुन सक्नेछन् ।

अपाङ्ग, जेष्ठ नागरिक र कलाकारको खर्च पार्टीले ब्यहोर्ने

माओवादी केन्द्रको प्रदेश १ समितिको प्रथम अधिवेशन हुने स्थान बिराटचोक प्रदेश १को राजधानी बिराटनगरबाट करिब २५ किलोमिटर उत्तरपूर्वमा छ । सुन्दरहरैचा नगरपालिकासँग जोडिएको पूर्वपश्चिम राजमार्गमा पर्ने बिराटचोक शहरोन्मुख ग्रामीण नगर हो । मितव्ययिता र संघीयताको संरचना विकेन्द्रित गराउन बिराटचोकमा अधिवेशन गरिएको इञ्चार्ज राम कार्कीको भनाइ छ ।

उहाँका अनुसार सम्मेलनमा सहभागी हुने जेष्ठ नागरिक, अपाङ्ग र कलाकार बाहेक अरु सबैले आफैँले खाना र बासको व्यवस्था गर्नुपर्ने भनिएको छ । प्रायः सहभागीलाई जनताका घरमा गाँसबासको व्यवस्था मिलाइएको छ । तर सबैजना पेइङ गेस्टको रुपमा बस्नुपर्ने भनिएको छ ।

जनप्रर्दशन नगर्ने

कोरोना संक्रमण र मितव्ययितालाई ध्यान दिँदै प्रदेश १ अधिवेशनमा माओवादी केन्द्रले जनप्रर्दशन नगरेको हो । प्रदेश इञ्चार्ज कार्कीले लाखौं खर्च गरेर मासप्रर्दशन गर्दैमा पार्टी बलियो नहुने बरु खर्च र जोखिम मात्रै बढ्ने भएकाले प्रतिनिधिहरु मात्र सहभागी गराइएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘तडकभडक देखाएर कुनै पार्टी बलियो बनेको इतिहास छैन । यसैले अधिवेशनलाई नेता होइन विचारप्रधान बनाउने छौं, देखावटी मासप्रदर्शन गराउँदैनौं ।’

टिप्पणीहरू