आश्चर्यको कुरा के छ र यसमा ?
छिमेकमा केही पाक्यो, हाम्रोतिर अत्यास ! अहिले यस्तै भएको छ, भारतमा नयाँ मन्त्रिमण्डल गठनपछि ।
भारतले विजेपीलाई दोस्रोचोटि प्रचण्ड बहुमतसहित सत्तामा पाएको, मोदी फेरि दोहोरिएको भन्दा पनि ठूलो चर्चा त्यहाँका विदेश सचिव एस. जयशंकर विदेशमन्त्री बनेको विषयले छिमेकीहरुलाई तरंगित बनाएको हो । उनको पक्ष र विपक्षमा हाम्रा मिडियासमेत बाँडिएका छन् । फरक त्यत्ति हो, उनी पहिला नोकरशाह थिए । अहिले राजनीतिक रुपमा सीधै निर्णय गर्नसक्ने ठाउँमा पुगेका छन् । सत्य हो कि, ०७२ भदौमा उनी नेपालमा घोषणा हुनै लागेको संविधान केही महिनाका लागि भए पनि स्थगित गराउने मिशनसहित काठमाडौं ओर्लिएका थिए । संविधान रोक्न सकेनन्, फलतः नेपालले दशैंजस्तो ठूलो पर्वको मुखैमा नाकाबन्दी झेल्नुप¥यो । उनका अनेकन धम्कीको बाबजुद पनि न नेपालको संविधान त्यसअनुरुप संशोधन भयो, न भारतले नाकाबन्दीलाई टिकाउन सक्यो । बरु अघोषित रुपमा नाकाबन्दी फिर्ता लिन बाध्य भयो । यसप्रकार उनीहरुको उक्त ‘नेपाल मिशन’ असफल भयो ।
नेपालजस्तो सानो छिमेकी देश हेरेर कसैले पनि संसारभरिको विदेश मामिला तय गर्ने व्यक्ति छान्दैन । तिनले अमेरिका हेर्लान्, चीन हेर्लान् । त्यहाँ बसिसकेका मानिसको पृष्ठभूमि पनि हेर्लान् । त्यसबेला जयशंकर एयरपोर्टबाट सीधै बालकोट पुगी जसरी धम्कीको भाषा बोले, प्रचण्डलाई ‘देखाइदिन्छु’ भने, सुशील कोइरालालाई गलाउन खोजे– यी सबै मामिलामा असफल भए । पहिलो भेटमा परेका केपीले शुरुमै खरो जवाफ दिएर फर्काइदिए ।
संविधानको मस्यौदा संवैधानिक समितिबाट पारित भएर बेलुकी संविधानसभाका अध्यक्ष (सभामुख) लाई बुझाउने कार्यक्रम तय भइसकेको थियो । त्यसबेला प्रधानमन्त्री सुशील कोइरालाले समितिमा रहेका कांग्रेस नेता कृष्ण सिटौलालाई फोन गरेर ‘अहिले रोक्नु’ भनेकै हुन् । तर, सबैको हस्ताक्षर भइसकेको दस्तावेजको ढड्डा नबुझाउँदैमा के फरक पथ्र्यो र † त्यसपछि केपी र सुशीलबीच कुरा भयो । राति साढे ७ बजे ‘जे पर्ला–पर्ला, यिनीहरुलाई देखाइदिने’ भन्दै संविधानको ढड्डा बुझाएर संसदीय प्रक्रिया अघि बढ्यो । संविधान जारी भयो । तर, उनै जयशंकर दोस्रोचोटि नेपाल आउँदा पुराना अशिष्ट, अमर्यादित, अभद्र व्यवहारका निम्ति शीर ठाडो पारेर बोल्न सक्ने अवस्थामा छैनन् । चारचोटि प्रधानमन्त्री भइसकेका मान्छेले हैसियत बिर्सेर मन्त्रीलाई बधाई सन्देश पठाएकै शैलीमा हाम्रै नेताहरु लाचार छायाँजस्तो लम्पसार परे अर्कै कुरा, नत्र तिनले हाम्रा नेतासँग आँखा जुधाएर केही भन्न सक्ने छैनन् ।
टिप्पणीहरू