राजाले जति गरे त हुने नि !

नेपाली कांग्रेसको जनजागरण अभियान र स्थानीय तहमा असारको बजेट सिध्याउने चटारो एकसाथ जारी छ ।

नयाँ आर्थिक वर्ष शुरु हुन एक महिनामात्र बाँकी छ, बजेट सदुपयोग गर्दै काम देखाउनुपर्ने बेला हो यो । तल तल बजेट गएको छ तर कामको प्रगति खासै हुन सकेको छैन । अहिले गाउँगाउँमा खर्च व्यवस्थापन, हिसाब, किताब मिलाउने चटारो छ । माथिल्लो पदका मान्छे, अर्थात् जनप्रतिनिधि, कार्यकारी अधिकृत र ठुल्ठूला तहका मान्छेहरू तारे होटलमा, सानाहरू सेकुवा कर्नरमा, उपभोक्ता समितिवालाचाहिँ चियापसलमा चिन्ताग्रस्त भेटिन्छन् । ठेकेदार र हाकिमलाई पनि भ्याईनभ्याई छ । ‘हरेक गाउँ एक प्राविधिक शिक्षालय’ भन्ने नाराजस्तै अब यस्तो अनियमितता र अराजकताको स्थिति हेर्दा प्रत्येक स्थानीय निकाय, एक अख्तियारको नीति लागु गर्नुपर्ने अवस्था आइसक्यो । र, यसपालि बेरुजु भरमार देखिने सम्भावना छ । 

उता कांग्रेसको जनजागरण कर्मकाण्डी बन्दैछ । पार्टी सभापति बन्ने कुरालाई अर्जुनदृष्टि बनाउँदै नेताहरू दौडिरहेका छन् । सभापति शेरबहादुर देउवा प्लेन जाने ठाउँमा मात्रै पुग्ने । हामी मिलेका छौँ भन्नुपर्ने ठाउँमा ठुल्ठूला नेताबीच आरोप–प्रत्यारोप चल्ने । रामचन्द्रसँग गुनासोमात्रै पाइने । जनजागरण कुन उद्देश्यसाथ अगाडि बढाउने, महाधिवेशन कसरी आयोजना गर्ने भनेर कार्यकर्तासँग छलफल गर्ने, फिडब्याक लिने र मार्गप्रशस्त गर्ने कुरालाई पटक्कै ख्याल नगर्ने । 

नेकपाको हालत पनि त्यही हो । कार्यक्रम छैन, गति छैन, कार्यकर्तामा उत्साह पनि छैन । पञ्चायतकालमा पनि राजाले विकास क्षेत्रको दौडाहा र बेलाबेला पञ्च भेला गरेर सेनामेनालाई तताइराख्थे । जनतासँग सम्बन्धित हुनुपर्ने तर नेकपा भने जमेको तलाउजस्तो बनेको छ ।

टिप्पणीहरू