आफ्नै नातापातालाई मार्न अग्रसर
- सुनीता गिरी
असार १५ को दिन भक्तपुरमा एक युवतीले आमालाई केही मानिस लगाएर मारेको समाचार मोबाइलमा हेरेर सोनाम दिदीले शंका व्यक्त गरिन्, ‘होइन होला । जन्मदिने आमालाई पनि कसैले मार्छ ?’ सँगै बसेर समाचार हेरिरहेकी अर्की दिदीले थपिन्, ‘अरूले फसाएको रे !’ घटनाबारे पढेर त्यसबारे कुनै सोच बनाउन नसक्नेले के समाचार सुन्नु, के हेर्नु ? कति मानिस कुनै पनि कुरामा आफ्नै किसिमको दिमाग चलाउने अनि अपराधको अनुसन्धानमा संलग्न अधिकारीमाथि विश्वास नगर्ने खालका हुन्छन् । तपाईंले अपराधसँग सम्बन्धित कार्यक्रम अरूसँग बसेर कहिले हेर्नुभएको छ ? सबै जना आ–आफ्नो हिसाबले टिप्पणी गर्न थाल्छन् । मेरो ध्यान भने कार्यक्रमको निचोड बुझ्नेमा केन्द्रित रहन्छ । नत्र त्यहीबारे किताब लेखे भइहाल्यो नि किन कार्यक्रम हेरेर आफ्नो दिमाग पहिला नै अन्त दौडाउनु ?
छिमेकी देश भारतमा एउटी आमाले आफ्नो छोरालाई मार्न मात्र १० हजार रुपैयाँ खर्च गरेकी थिइन् । त्यो चल्तीको रेटअनुसार एकदमै सस्तो हो । यो काम छिमेकीले गरिदिएकी थिइन् । किन आमाले आफ्नै छोरालाई मार्न लगाउनुप¥यो त ? कारण ऊ अति जँड्याहा थियो । यो एउटा रोग हो तर धेरैले यसलाई कहिल्यै निको नहुने खराबीका रूपमा लिने गर्छन् । अर्को, मानिसले विश्वासिलो मानिस लगाएर दुव्र्यसनी छोरालाई मार्न लगाएका थिए । सम्बन्धविच्छेदपछि विवाह नगरेका व्यक्तिको धनी बाबुले छोराको अवस्थालाई आफ्नो इज्जतमा दागको रूपमा लिए, मानांै कि छोराको मृत्युले उनको इज्जत सातांै आकाशमाथि पु¥याउँछ । केही वर्षअघि भारतमै अर्का एक आमाले छोरीको हत्या आफ्ना दाजुभाइसँग मिलेर गरेकी थिइन् । कारण ? उनी धेरै केटासँग उठ–बस गर्थिन् । हुर्केकी छोरी त्यसमा पनि सम्बन्धविच्छेदपछि विवाह नगरेको तर कार्यालयमा सँगै काम गर्नेसँग बिहेको कुरा चलिरहेको । आमाले यी कुरालाई आफ्नो इज्जतमा धक्काको रूपमा हेरिन् र छोरीको मृत्युपछि ठूलो इज्जत पाइने कल्पना गरिन् । तर, जस्तो नाटक गरेर बच्न खोजे पनि जेल परिन् । बिचरा उनीसँग एउटै ओछ्यानमा सुत्ने पतिलाई समेत छोरी मार्ने योजनाको छनक थिएन ।
अमेरिकामा कुनै पनि महिलाको असामयिक मृत्यु भएको खण्डमा पुलिसले सर्वप्रथम त्यो व्यक्तिलाई शंकाको घेरामा राखेर अनुसन्धान थाल्छ जो उनको पति अथवा केटा साथी होस् वा पूर्वपति अथवा पूर्वकेटासाथी । त्यसैले त्यस्तो काम गर्ने अधिकारीहरूले जतिसुकै शोकाकुल भए पनि वा शोकाकुल हुनुको नाटक गरे पनि उनीहरूबाटै सोधपुछको शुरुवात गर्छन् । आँकडाले के देखाउँछ भने ७५–८० प्रतिशत अपराध परिवारभित्रकै व्यक्तिले यस्तो अपराध गरेको हुन्छ ।
यस्तो होइन कि सबै केस पुलिसले नै पत्ता लगाउँछन् । कतिपय बेला छोरा र छोरीले पनि आफ्नो आमाबुबाको हत्यारा समात्ने काममा पुलिसलाई सघाउने गर्छन् । अमेरिकामा एकचोटि एउटा मानिस गायब हुँदा पुलिस विभागले १०/१५ वर्षसम्म पनि पत्ता लगाउन सकेन । पुलिसँग सानो बच्चा बाबुसित बसेको तस्बिर त थियो । तर त्यतिबेलासम्म छोरा ठूलो भइसकेको थियो । एकदिन ऊ पुलिस विभागमा गई त्यहाँका अधिकारीसँग बुबाको हत्या भइसकेको कुरा बतायो । केही अधिकारीलाई शुरुमा यो कुरा विश्वास गर्न गाह्रो भयो तर पुरानो केस सुल्टाउनुपर्ने बाध्यता पनि थियो त्यसैले उसका कुरा ध्यान दिएर सुने । यसरी एउटा छोराले लामो समयसम्म हराएका बुबालाई धेरै पहिले आमाले हत्या गरिसकेको खुलासा गर्ने काममा पुलिसलाई सहयोग पु¥यायो ।
समाजशास्त्र अध्ययन गर्नुभयो भने थाहा पाउनुहुनेछ कि घर त्यो ठाउँ हो जहाँ सबैभन्दा बढी दुर्घटना हुने गर्छ । यदि, तपार्इं आपराधिक मानसिकतासँग अपरिचित हुनुहुन्छ भने अनुसन्धानभन्दा बढी आफ्नो दिमाग चलाएर यो होइन वा त्यो मिलेन भन्न सक्नुहुन्छ । त्यसो त अमेरिकामा भएको एउटा केसमा सरकारले १५ वर्षपछि पूरै क्षतिपूर्तिसमेत सफाया दिइसक्दा पनि एउटी युवतीले लोग्नेलाई आफूमाथि भएको सांघातिक हमलाको दोषी मानिरहेकी थिइन् । अझै पनि राजा वीरेन्द्रको वंश सखाप पार्ने अरू कोही नभई उनैको छोरा दीपेन्द्र हुन् भनेर आँखाले देख्ने उनकै नातेदारलाई विश्वास नगर्नेहरू हामी वरिपरि नै छन् । तिमी जे भन, म मान्दै मान्दिनँ भन्नेहरूको यहाँ कमी छैन ।
टिप्पणीहरू