जीवनले खपेको–भोगेको भुक्तमान र राज्य
– जगदीशराज बराल
“...श्रम एव हि केवलम्–सिर्फ परिश्रम मात्र गरिहने, श्रमले कसरी प्रेम गर्ने भनेर सिकाउँछ”(श्रीमद्भागवत्,१।२।८) । “तपाईंले त्यही काम फरक तरिकाले गर्नुभयो भने उद्देश्य नजिक पुग्नुहुन्छ” भनेर व्यवस्थापनविद् पिटर ड्रकरले भन्नुभएको कुरा सर्वविदितै छ । काठमाडौँ महानगर प्रमुख वालेन साहले कुन चमत्कारिक काम गर्नुभएको छ र ? अहिले बालेनजीले जे गर्नुभएको छ, त्यो त राजा महेन्द्रले, डा.बाबुराम भट्टराईले, केशव स्थापितले तत्कालीन शहर–नगरको अवस्था अनुसार गरिसक्नुभएको थियो । बालेनले जे गरे त्यो पनि गर्न नसक्ने र उनले गरेको कामबाट आजित जनसन्तुष्टिलाई पनि आत्मसात गर्न नसक्नेहरु विचराका पात्र हुनसक्ने जनताले चलाएको बहशलाई नजरअन्दाज गर्न मिल्दैन । बरु मन्त्र जपे हुन्छ, “ॐ आत्मतत्वं शोधयामि नमःस्वाहा” ।
(१) “जसरी हरेक नागरिक देशको कानूनद्वारा नियन्त्रित हुन्छ ,त्यसैगरी हरेक जीव प्रकृतिकानियमहरुद्वारा नियन्त्रित हुन्छन्”(स्वामी प्रभुपाद । पुनरागमन । भक्तिवेदान्त बुक ट्रष्ट,भारत । नेपाली संस्करण जुन ई.सं.२०१५) ।
“कल्याणकारी एवम् पूण्यकर्महरुकै आधारमा जीवलाई सुस्वास्थ्य,सम्पत्ति,उच्च विधा र सुन्दर रुप प्राप्त हुन्छन् ।” (श्रीमद्भागवत्,१।१२।१२) भन्ने जस्ता नीति उपदेशहरु पढेर तथा “सिन्धुलीको जुनार,फर्पिङको नासपाती । बैतडीको सख्खर प्रसिद्ध छ साथी...”(रत्नशमसेर थापा । कहाँ के राम्रो ? कान्तिपुर। ११ वैशाख वि.सं.२०६१) जस्ता कोपिला बालबालिकालाई श्रष्टाले सम्झाउनु भएको कुरा समेत सम्झेर मैले पनि आफैँले ‘स्वाभिमानको विदेशतर्फ निकास’ शीर्षकमा देहायको गन्थनलाई जोरबटुल गरेको छु ।
“सोलुको आलु,सर्लाहीको मेवा ।
विराटनगरका राठीजीले,गर्दैछन् विद्युत सेवा ।।
रामेछाप सिन्धुलीको,निबुवा सुन्तला र जुनार ।
दोरम्बाको पुण्टे मूला, वाम्तीको केरा मालभोग (दोरम्बा तथा वाम्ती रामेछाप)।
डाँडाको खानी र धुलाम्मे हिलाम्मे सडकमा,डोजरे विकासले भरेन खाली गाउँ हरिबिजोग ।।
भक्तपुर बोडेको किलोको आठसय, भारतीय सानो कालो हर्रो ।
दोलखा भीरकोट वारीको ठूलो हर्रो, मलाई नपठाएसम्म हरिशङ्कर ढुङ्गेल गुरुलाई पीर पर्यो ।।
जुम्लाबाट राजु शाही भाइले,पठाइदिनुभयो स्याउ ओखर ।
सहकारी–बैङ्कका कृषि ऋृण अनुदान प्रवाहमा,वडादेखि माथिसम्म परिलाभको चोकर ।।
परिवाद सहेर अव चुप लाग्नु हुन्न, हुनुपर्छ हाट बजार मेलामा भेला ।
सूर्यविनायक चारदोबाटो हनुमन्ते किनारामा, लागेको छ प्रथम कृषि सांस्कृतिक व्यापार मेला ।।
भाटभटेनी–ठूला मलले,उठिबास लाउने डर
साना व्यवसायीको गुजारा गर्ने, हाटमेला कै भर ।।
भन्न त भनिन्छ, स्वदेशी उत्पादन स्वदेशी सामान,हाम्रा हुन ती परिखात ।
रट्न लगाइन्छ स्वाधीन अर्थतन्त्र–नेपाली स्वाभिमान, गर्छन् आफ्ना खातिर नीतिगत अन्र्तघात ।।
न कुनै प्रणाली खडा भो,न त नैतिकता र पारदर्शी मन्त्र ।
रजगज गरुन् नेताहरु कै मान्छे, बेरोजगारको स्वाभिमान अवसरको खोजिमा लाग्यो विदेश यात्रा ।।
सरकार, सञ्चार, जल, जमिन जङ्गल सबैको,ठूलाकै हातमा छ सुतली ।
सेटिङ्ग–भेटिङ्ग–इटिङ्ग–डेटिङ्ग समेत,नेताहरु पनि तिन कै कठपुतली !!”
(२) भारतीय साहित्यको नेपाली अनुवाद :
(२ क) हरे प्रकाश उपाध्याय सामाजिक सत्यतामाथि कविता कोर्नु हुन्छ । यो कविता श्रमिकको कविता हो, अचेल मजदूरबारे कसले कविता लेख्छ र,कसले विमर्श गर्छ र ? मजदूरलाई त समकालीन प्रदेशभन्दा बाहिर कतै टाढा छोडि दिएको पाइन्छ (आलोचना अनलाइन । हरे प्रकाश उपाध्याय की कविताएँ । अक्टोबर १५ ई.सं.२०२४) । मैले उक्त कविताको नेपालीमा भावानुवाद गरेको छु –
“धेरै दिनपछि गएँ जब आफ्नो गाँउमा,चर्को घामबाट हारेर बसेँ पीपलको छायाँमा
त्यहिँ फेला परे मलाई बाख्रा चराउँदै गरेका रामचनर उराँव !
नमस्कार आर्शिवादपछि शुरु भयो हाम्रा कुरा गन्थन,
भने ठीकै गर्नुभयो दाई आउनु भो भयो हाम्रो चिनजान
अब त भए म भएँ पाकेको आप, झर्नेछु चाँडै नै कुनै दिन या रात
रामचनर पनि गजब कै मानिस हुन,भन्न लागे दाई मलाई थाहा छैन कुन हो कुल खनदान,
यी सबै ती मान्छेहरु जान्दछन् जो खावत माँग के दान हैं
यस्ता मामलामा म त दाई धेरै नै सोझो छु में हम तो भैया बहुत नादान हैं
दाइले भन्दै गए, हाम्रो गाउँमा अहिले दूबेजीको छोरा छन् अध्यक्ष–प्रधान
मनरेगामा कामको सट्टामा माग्ने गर्छन् दक्षिणा–दान
बुलेटमा उड्छन घुम्छन्, मुर्गा–दारूमा मस्त रहन्छन् साँझ बिहान
धर्के खादीको कुर्ता गजब छ उनको शान
मैले त केही चढाउन पाइन उरन्ठेउलो प्रधानकहाँ
खाइ त हालेँ पैसा मेरो पाइखाना र घरको नाममा
दाइ म कहाँबाट ल्याएर उनलाई केही दिनु र,भन्नुहोस त कर्जा कोबाट मैले लिनु र
मेरो त पसलको चार महिनाको उधारो तिर्न नै बाँकी छ
आफ्नै रगत पसिनाको रोटी भात मैले खाने गरेको छु
वृद्धा निवृत्तिभरण पनि मेरो आउँदैन, कसरी गुजारा गर्ने हो मनमा केही सुझ्दैन
किन दाइ प्रत्येक मान्छे कमजोरलाई नै सताउँछन्
रुन पो लागे रामचनर उराँव,यो देखेर लाज मान्यो पिपलको छायाँ
भैगो काका छोड्दिनु अहिलेलाई, बरु भन्नुस कस्तो काकीलाई
भन्न थाले दाइ बूढियाको अलग्गै अर्कै छ करकर,पाउजु–पाउजु रट्तै बस्छिन् है सालभर
मसँग कौडी छैन भनेर सम्झाएपनि छेउ मै पर्दिनन्
उनी ठान्छिन,बूढाले धेरै कमाउँछन्,सबै बहराइचवाली बिग्रेकी आइमाईलाई दिन्छन् !” (‘रामचनर उराँव’ बाट) ।
(२ ख) भारतमा प्रगतिवादी धारमा कलम चलाउने जनकवि भनेर पनि सम्बोधन गरिने सुल्तानपुर,उत्तर प्रदेशमा ०३ डिसेम्बर ई.सं.१९५७ मा जन्मेर ०८ डिसेम्बर सन् २०१५ मा जवाहरलाल युनिभर्सिटीमा निधन हुनुभएका रमाशङ्कर यादव ‘विद्रोही’ प्रति श्रद्धासुमन अर्पण गर्न चिन्तकहरु प्रा.डा.महेन्द्रप्रताप सिंह तथा बीएम प्रसादको सामाजिक सञ्जालको भित्तामा साझा गरिएको रचना संग्रह ‘नई खेती’ बाट तीन कविता लिएर नेपालीमा भावानुवाद गरेको छु–
(२ ख १) “इतिहासमा ती पहिलो नारी कुन थिइन् जसलाई सबैभन्दा पहिले जलाइयो ?
मलाई थाहा छैन ।
तर जो भएपनि उनी मेरी आमा नै थिइन् होला ।
मेरो चिन्ंता यो छ कि भविष्यमा ती आखिरी स्त्री को हुन्छिन् होला,
जसलाई सबैभन्दा अन्तिममा जलाइने छ ?
मलाई थाहा छैन ।
तर जो भएपनि उनी मेरी छोरी नै होलिन्,
र यस्तो म हुन दिने छैन”(‘औरत’ बाट) ।
(२ ख २)“ म कवि हुँ । म नै अकबर हुँ, म नै वीरबल हुँ”(‘कवि’बाट) ।
(२ ख ३) “तिमीलाई यस भगवानको विरुद्धमा बहकाइन्छ–मोडिन्छ, तिमी बहकिने छौ ।
तर, तिमी यो मानिसको विरुद्ध बहकियौ भने नि, बहकिन नै सक्दैनौ ।
कविता र लठ्ठीमा यही अन्तर हुन्छ”। (‘कविता’बाट) ।
(२ ग) भारतीय राज्य राजस्थानको अलवार नगरमा बस्ने प्रशिद्ध भाषाविद, व्याकरणाचार्य– श्री मोतीलाल विजयवर्गीयकी छोरी तथा साहित्य लेखिका डा.सीमा विजयवर्गीयका कविता र गजलहरुलाई) मैले विगतमा अनुवाद गरेर पत्रिकामा प्रकाशित गरिसकेको छु । अहिले साहित्य पनि कर्पोरेट भएको छ– तामझाममा रमाउने गरि । उहाँले ०१ डिसेम्बर ई.सं.२०२४ का दिन आफ्नो सामाजिक सञ्जालको भित्तामा साझा गर्नुभएको कविता सान्दर्भिक लाग्यो र अनुमतिमा नेपालीमा भावानुवाद गरेको छु –
“सुन कविरा तमस्मा, डुबेका छन् आदित्य । गुटपरस्तबाट खोसेर,फेरि समाउ साहित्य ।।
अन्धा कपाहरुको हैन,सागरलाई पो पहिचान । फेरि कसरी पाउँछन्, सागरजस्तो सम्मान ।।
आत्म प्रशंसा गर्दैछन्, बसी बसी काग । आफ्नो–आफ्नो डम्फू, आफ्नो–आफ्नो राग ।।
चन्द्रमालाई थोरै नै होस्, वाहनभरि छैन कपास । के हिराको अगाडि,ढुङ्गालाई फुरिन्छ र रास ?
अरुको उपकारमा हुनु भो, तुलसी–सूर–कबिर । गुटबन्दीमा लिप्त छन्,अहिलेका कवि गम्भीर ।।
पुरस्कार हत्याउँदैछन्,मञ्च त भरिएकै छ भरपूर । किन होला मेरी सखी,तैपनि राजधानी देखिन्छ दूर ।।”(‘पकडो फिर साहित्य’बाट) ।
(२ घ) आख्यान,आलोचनात्मक लेख, साहित्यका थुप्रै कृतिहरु लेखेर सम्मानितसमेत हुनु भएका एमएलकेपीजी कलेज, बलरामपुर ,उत्तरप्रदेश भारतका हिन्दी विभागका पूर्व विभागाध्यक्ष प्रो.डा.चन्द्रेश्वरका कविताहरु मैले विगतमा नेपालीमा अनुवाद गरेको छु । उहाँले २५ अक्टोबर ई.सं २०२४ मा मलाई मेसेञ्जरमा पठाउनुभएको अहिलेको यथार्थ बोल्ने एक कवितालाई नेपालीमा भावानुवाद गरेको छु –
“त्यसलाई पूर्वबाट धकेलेमा गुड्दै–गुड्दै बनाउँछ
उसले सानो ठाउँ, पश्चिमको खाल्टा–खुल्टीमा पनि
पश्चिमबाट धकेलेमा,लड्दै–पड्दै बनिरहन्छ
त्यही पुरानो ठाउँको वरपर नै, कतै कुनै कुनामा
कहिले दक्षिणदेखि हाँकिन्छ आउँछ उत्तरतिर
कहिले उत्तरबाट जान्छ दौडेर म्याराथन दौड, दक्षिणतर्फ
माझमा त पहिलेदेखि नै थिएन, स्थान तील राख्न पनि
ती मानिस भागिरहेका थिए,
यताउति रोजगारकोे घनचक्करमा
केही ताडीको रुखबाट खस्यो खजूरमाथि ठ्याक्कै बस्यो
अचम्मको देखियो समय यो”(‘ताड से गिरे तो खजूर पर’ बाट) ।
(२ ङ) भारतका लेखक, सचेत नागरिक अनुपमणि त्रिपाठी स्वतन्त्र लेखनमा संलग्न हुनुहुन्छ ।
“लोकतन्त्र आफैँलाई डसाउन लाउँछ र हामीलाई दूध पिलाउँछ । जो जति विषालु हुन्छ उसको त्यति नै पूजा गरिन्छ”(साँपोँ की सभा) भनेर ७ नोभेम्बर ई.सं.२०२४) मा आफ्नो सामाजिक सञ्जालमा मुक्तक साझा गर्नुभएको थियो । त्यसैगरी–“जुलुस गएपछि गल्लीमा सन्नाटा छायो । रगतले पूरै लतपतिएका ढुङ्गाहरु गल्ली भरी यत्रतत्र छरिएका थिए । कसैले झट्ट हेर्दा ढुङ्गाहरु रगतको आँशु रोइरहेका रहेछन् भनेर भन्ने अवस्था थियो ।
सैयौँ वर्षपछि एउटा नयाँ सभ्यताको विकास हुनगयो । ठीक त्यही स्थलमा उत्खनन् भयो । त्यहाँ न कुनै रोटीका अवशेष भेटिए न कुनै किताब फेला परे न त कुनै शैक्षिक उपाधि नै पाइयो । तर जब उत्खनन् जति जति गहिरो हुन लाग्यो नयाँ मानवलाई आश्चर्यको ठेगाना नै भएन । उसलाई आफ्नै आँखाप्रति नै विश्वास हुन सकेन । ती ढुङ्गाको मुनि त काठबाट बनेको नभै अस्थिपञ्जरबाट बनेको कुर्सी पो फेला पर्यो । र, आश्चर्यजनक कुरा त यो थियो कि त्यो कुर्सी एकदम नै नयाँ जस्तै देखिन्थ्यो”(‘खुदाइ’बाट) भनेर पूनः २६ नोभेम्बरमा अर्को विचार सामाजिक सञ्जालको भित्तामा साझा गर्नुभएको थियो । मैले अनुमति लिएर उपरोक्तबमोजिम नेपालीमा भावानुवाद गरेको थिएँ ।
(३) र,अन्त्यमा– “मातृभूमि ! तिम्रो बलियो जरा भएको रुखमुनि ७ वटा हाँगाहरु रुपी वस्तुहरु छन् । ती सबै छोराहरुलाई बाँडिदिनु, मलाई पनि दिनु । म आगो र नुन, उल्का र तारा, घण्टी र नाङ्गलो–चाल्नी बन्न चाहन्छु । म एउटा इमान्दार मानिस हुँ भन्ने पहिचान बनाउन चाहन्छु । ” (रसूल हमजातोव–गम्जातोभ,१९६८ । मेरा दागिस्तान–माई दागेस्तान, हिन्दी अनुवाद–डा.मदनलाल ’मधु’,रादुगा प्रकाशन इ.सं.१९९०) ।
(छविचित्र सौजन्य ः हातको डोरीको कठपुतली भारतीय अर्थशास्त्री डा.अमिताभ शुक्लको डिसेम्बर १ र अनुपम त्रिपाठीको खुदाई सम्बद्ध अस्थिपञ्जरको कुर्सी भारतीय लेखक शिवेन्द्र प्रतापको नोभेम्बर २६ ई.सं.२०२४, निजहरुको सामाजिक सञ्जालको भित्ताबाट । भारतीय कविहरुको छविचित्र सम्बन्धितहरु कै सामाजिक सञ्जवालको भित्ताबाट र कवितामा वर्णन गरिएका अन्य बिम्बहरु लेखक स्वयम्बाट, वि.सं.२०८१ मंसिर १९ गते) ।
टिप्पणीहरू