मर्न मात्र उक्साइरहन्छ यो मन
आँखा खोले पीडाले भत्भती पोल्छ र बन्द गरे पनि निको हुन्न । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लामा जन्मिएँ÷हुर्किएँँ । घरको आर्थिक अवस्था अत्यन्त दयनीय । तैपनि, बुबाले शिक्षादीक्षामा कुनै कमी हुन दिनु भएन । कक्षा १२ सम्म अध्ययन पूरा गरेँँ । प्लस टु पूरा गरेर भारत गएँ ।
बुबा (जयराज) देहरादुन चल्ने गाडी चलाउनुहुन्थ्यो । कम्प्युटर क्लासमा भर्ना गरिदिनुभयो उत्तराखण्डको हरिद्वारमा । भारतमा कम्प्युटर सिकेर केही बन्ने र केही गरेर देखाउने सपना थियो । खुशी थिएँ ६ महिनासम्म कम्प्युटर सिक्दै गर्दा । केही महिनामै काम पनि पाएको हँु । बुबा त उस्तै हो कहिलेकाहीँ आउने–जाने गर्नुहुन्थ्यो । त्यहीबेला एक जना चिनेकै नेपाली तेस्रोलिंगीले प्रस्ताव गरिन् ‘यहाँभन्दा दोब्बर तलब पाउने ठाउँ छ जाने हो ?’ आर्थिक रूपमा सम्पन्न, मजबुत हुन को नचाहला ? उनकै पछि लागेँ । त्यही दिनबाट शुरु भयो मेरो दुर्दशा । संसार विश्वासमै अडिएको हुन्छ । त्यही विश्वासमा पर्दा म लुटिएँ, बर्बाद भएँ । र, आज यो हविगत भोग्दै छु । त्यहाँबाट पुगेँ उनको डेरामा जम्मुकश्मिर ।
एक/दुई दिन कुनै काम लगाइएन । पछि भनियो पाकिस्तानले वायुमा कुनै हानिकारक ग्यास छाडेको छ । त्यसबाट बच्न एन्टिबायोटिक औषधि प्रयोग गर्नुपर्छ । लगत्तै अस्पतालबाट डक्टर र नर्स बोलाइयो । सिरिन्ज लगाइयो । चार÷पाँच दिनपछि पुनः सिरिन्ज लगाएर बेहोस बनाइयो । यो प्रक्रिया महिनौंसम्म चल्यो । तीन महिनासम्म सिरिन्ज लगाइएपछि अस्पतालबाट पुनः जम्मु ल्याए । जहाँ लैजाँदा पनि बेहोस बनाएर कहाँ, किन र केका लागि लैैजाँदै छ भन्ने जानकारी हुँदैनथ्यो । जब होशमा आएँ र ऐनाअगाडि आफूलाई पाएँ म पुरुष थिइनँ । न त महिला नै ! अस्पतालमा राख्दा महिलाको अंग बढाउने औषधि चलाएका कारण ‘हर्माेन’ विकास भयो । लिंग परिवर्तन गराइएको थियो । लिंग काटेर फालेको र सिलाएर पिसाब गर्ने ठाउँ मात्र बाँकी राखिएको छ । पुरुष हो भनौं पुरुषको अंग छैन, महिला हुँ भनौं पाठेघर छैन । अहिलेसम्म रजश्वला पनि भएको छैन ।
यसरी मलाई नपुंसक बनाइएको छ । महिलासम्बन्धी विचार आउँँछन् । तर, पूर्ण महिलाको रूपमा विकास भएका छैनन् । लाग्थ्यो, अब मैले सन्तान जन्माउन सक्दिनँँ । न त केटा नै बन्न सक्छु । केटीको जस्तो फिलिंग्स आउन थाल्यो । पिसाब गर्दा पहिला राम्रैसँँग भए पनि अहिले आएर लुगा भिज्ने गरी छरिने र राम्रोसँग नहुने जस्ता समस्या भोग्न थालें । त्यहाँ झण्डै दुई वर्ष बन्दी जीवन बिताएँ । समलिंगीको समूहमा राखेर पैसा माग्न लगाइयो । केटालाई केटी बनाएर विभिन्न बारमा नाच्न लगाउने रहेछन्, लामो समय नियन्त्रणमा राखेर नचाउँदै पैसा कमाउने धन्दा हुनेरहेछ । उनीहरूका काम गर्न लगाउने र कमाएको पैसा लुटेर लैजान थालियो । न बाँच्न सकेँ । न त मर्न । पापीहरूको पञ्जाबाट कसरी निस्कने विकल्प खोज्न थालेँ । तर, भागेर जानसक्ने आँट र हिम्मत गुमाइसकेको थिएँ । म बन्दीजस्तै थिएँ । र, पनि एक दिन उनीहरूको पञ्जाबाट उम्किई जसोतसो घर त फर्किएँँ । तर, मुख देखाउने आँट थिएन । हिजोको छोरा म घर फर्कंदा छोरीको रूप ।
मेरो अवस्था देखेर ममी दिनरात रुन थाल्नुभयो । पापीहरूको पञ्जाबाट उम्किएर त फर्किएँँ आफ्नै गाउँ तर हिजो सँगै पढेका केटासाथीहरूसँग हिँँड्न सक्दैनथें । खुलेर बोल्न आँट नआउने । केटीहरूसँग हिँँड्ने, बोल्ने कुरै भएन । समाजसँग मात्र होइन आफ्नै परिवारसँग खुल्ने आँट थिएन । दाजु भाउजूहरूसँग बोल्ने आँट हरायो । समाजले घृणा गर्दै कुरा काट्न थाल्यो । अरू त अरू आफन्तले नै कुरा काट्दै गए । यही कानले सुन्यो छोरा भए बुहारी ल्याउँथे, छोरी भए कन्यादान गर्थें, हिजडाले के गर्छ ?
फलामले फलामलाई हान्दा जोडसँग आवाज आउँछ । त्यही फलामले अरू धातुलाई बजार्दा आवाज सानो आउँछ । हो रहेछ, आफ्नाले आफ्नालाई प्रहार गर्दा आवाज एकदमै ठूलो आउँछ । दिनरात आफन्तकै वचनको प्रहारले दिल बढी दुख्दो रहेछ । भारतमा नरकीय जीवन बिताइयो । सोचेको थिएँ, स्वदेशमा पुगेर ती दुष्टसँग कानुनी लडाइँँ लड्छु । पापिष्टहरूसँग मुकाविला गर्छु । आफन्तको साथसहयोगले कानुनी प्रक्रिया अगाडि बढाउन खोजें । तर, दुर्भाग्य कञ्चनपुर प्रहरी कार्यालयले उजुरी लिन मानेन । भन्यो, ‘उताको केस हो यता हेर्न मिल्दैन ।’ ममाथि भएको ज्यादतीको विषयमा कुरा राख्दा उल्टै दाजुलाई दुई घण्टासम्म थुनियो । प्रहरीले कुनैै न्यायको प्रयास गरेन । जिल्ला प्रशासनले पनि चासो देखाएन । एक मन त लाग्यो समाजको छि छि र दुर्दुर सहेर के बाँच्नु ! तर, आमा सम्झिएर खुम्चिएँ ।
मेरो प्रयास सफल भएन । आमाले भन्नुभयो, तँ आत्महत्या गर्छस् भने म पनि सँगै मर्छु । अहिले समाजमा बस्न नसक्ने अवस्थामा छु । म बच्चा जन्माउन समर्थ छैन र बुबा बन्न सक्ने ल्याकत पनि छैन । अब कसरी जीवन बिताउने ? मेरो आधार केही छैन । जीवनमा के गरेर बाँच्ने ? के खाने ? कहाँ बस्ने ? यी कुराले पिरोलेको छ । सरकारले कुनै रोजगारीको सुनिश्चितता गरिदिए विगत बिर्सेर काममा लाग्ने थिएँ । पारिवारिक अवस्था पनि कमजोर छ । कमाएर परिवार पाल्नुपर्ने बुबा मसँगै मुद्दामामिलाको काममा हिँड्नुपर्दा आम्दानीको बाटो ठप्प छ । शल्यक्रिया गरेर पुरानै अवस्थामा फर्कन सक्थें होला । तर, शल्यक्रिया गर्ने हैसियत छैन । म पनि मानिस हुँ । बाँच्ने रहर छ । त्यही कारण न्यायको खोजीमा काठमाडौं आएको छु । न्यू संखुवासभा गेस्ट हाउस’ ले खाने र बस्ने व्यवस्था गरिदिएको छ । आगामी दिनमा के गर्ने र कता जाने ? गेष्ट हाउसका मालिक टंक सरलाई हृदयदेखि नै आभार । भोलि कमाउन सकें भने ऋण अवश्य चुक्ता गर्नेछु । मेरो यो हविगत बनाउने मुख्य अपराध भारतको मेरठ घर भएका इलियास हुन् । यो गिरोहलाई यथाशीघ्र कारबाही गर्न सख्त जरुरी भएको छ ।
– सुरेन्द्रसिंह माल
टिप्पणीहरू