तथ्य एकातिर, ‘राष्ट्रवादी’ तर्क अर्कातिर
जब–जब समस्या आउँछ, तब–तब हामी विवाद गर्छौं, विकल्प खोज्ने कुरा गर्छौं । कोशीमा पानीको बहाव बढेपछि ढोका खोलियो÷खोलिएन, बाँध फुट्यो÷फुटेन भन्ने चर्चा एकातिर छन् । तर, यसको प्राविधिक पक्ष एकदमै कहालिलाग्दो छ ।
बाँधको प्राविधिक आयु ५० वर्षको हो । यो म्याद गुज्रिएको पनि झण्डै २० वर्ष पुग्न लाग्यो । पुलको मुटु भनेको पिलर हो । त्यो चलाउनुप¥यो भने आवतजावत नै रोक्नुपर्छ । त्यसैले पिच र रेलिङ नयाँ–नयाँ बनाउँदै मर्मतको काम गरिन्छ । एकैचोटि धेरै संख्यामा ठूला सवारी साधन छिर्दा पुल हल्लिन शुरु भइसकेको छ । कोशी तटबन्ध निर्माणपूर्व मात्रिकाप्रसाद कोइराला प्रधानमन्त्री भएको बेला बहुचर्चित सम्झौता भई भारतीय अग्रसरतामा व्यारेज निर्माण भयो । त्यसमा नेपाल र भारत दुबैको बराबरी स्वामित्व हुने, कन्ट्रोलको चाबी भारतले राख्ने प्रावधान थिए । पहिला म्यानुअल कन्ट्रोल रुम हुँदा भारतीय अधिकारीहरु पालैपालो ड्युटी बस्थे । तर, अहिले त्यसलाई कम्प्युटराइज्ड गरिएको छ । र, नियन्त्रण पटनाबाट हुन्छ । समस्या कोशी ब्यारेज मात्र हैन, महेन्द्र राजमार्गभित्र, जसले नेपालको मेचीदेखि महाकालीसम्म सम्बन्ध स्थापित गरेको छ, मूल प्रश्न यस्ता ठूला नदी र त्यसमा बनेका बाँध–पुलहरुको आयु, संरक्षण र पुनःनिर्माणको हो । कोशीको कुरा गर्दा झापा र जोगवनी हुँदै, सिरहा, जनकपुर, वीरगञ्जदेखि जहाँ पनि सिमानामा भारतले समानान्तर बाँध बनाएको छ । सप्तरी, गौर होस् वा नेपालगञ्जआसपास नै किन नहोस्, ती ठाउँमा वाच टावर बनाएर सुरक्षाका नाममा अग्लो ड्याम, पिच र ठाउँ–ठाउँ एसएसबीका क्याम्प खडा गरिएको छ । ‘सुरक्षाको कारण’ भनिसकेपछि एउटा देशले अर्को देशको संवेदनशील मामिलामा हस्तक्षेप गर्न पनि मिल्दैन ।
रौतहट पारी बैरगनियामा पनि बाँध बनाइएको छ । नेपालबाट स्वाभाविक रुपमा पानी बगेर जाने भारततिरै हो । नेपालकै विभिन्न मूलबाट निस्कने पानी ठाउँ–ठाउँमा अवरोध झेल्दै शुरुमा डुबाउने, क्षति पु¥याउने नेपाललाई नै हो । हामीसँग यस्ता क्षतिबाट सचेतता अपनाउने सोच, लगानी र पूर्वाधार छैन, दूरगामी दृष्टिकोण पनि छैन । पानी उत्तरबाट उत्तरतिरै कहिल्यै जाँदैन, बग्ने दक्षिणतिरै हो । सप्तकोशीमा सात कोशीमात्र मिसिएका छैनन्, लहानबाट बग्ने बलान, राजविराजबाट खाँडो, सुन्दरी, महुली, त्रियुगा नदीहरु पनि मिसिन्छन् । कमलादेखि लालबकैया र बागमती सीधै भारत पसेर कोशीमा मिसिने हुन् । त्यसैले नेपाललाई वर्षेनी जलमग्न हुनबाट बचाउन दीर्घकालीन सोच र कार्यक्रम ल्याउनु जरुरी छ । जसरी भारतले सुरक्षाका नाममा ठाउँ–ठाउँमा अग्लो ड्याम, पक्की सडक बनाउँदै फौजी टुकडीहरु पनि तैनाथ गरेको छ, त्यसले पार्नसक्ने समस्याबारे गम्भीर हुनु जरुरी छ ।
कोशी तटबन्ध (बाँध) ले भारततर्फ जाने पानी नियन्त्रण गर्ने हो । जुन भूगोलमा त्यो निर्मित छ, त्यहाँ पानी जम्मा हुँदा बाढीले जलमग्न हुन्छ । र, पारी भारतीय भूमि सुरक्षित छ भनिने कुराचाहिँ भ्रामक प्रचार मात्र हो । भारतले बलजफ्ती बाँध थुन्यो भने पनि पूर्व र पश्चिमका क्यानलबाट पानी छिरेर त्यो भत्किन्छ । त्यो पानीले सुनसरीको पूर्वकुशाहा (टप्पु), हरिपुर (भण्टाबारी), श्रीपुर हुँदै भारतको वीरपुर बजार, सप्तरीको भारदह हुँदै हनुमाननगरदेखि पूर्वी बिहार जलमग्न हुन्छ । हो, त्यसले पहिलो र बढी क्षति नेपाली भूमिमा गर्छ । अर्कातिर ब्यारेजमा पानीको बहाव बढेपछि त्यहाँका ढोका खोलिएनन् भने समस्या बाढीको मात्र रहन्न, पुल नै बग्ने सबभन्दा ठूलो खतरा हुन्छ । त्यसैले भारतले बाढीबाट आफू जोगिनका लागि ढोका खोलिदिएन भन्ने अन्धराष्ट्रवाद बेकारको छ । किनभने, त्यो ढोका नखोलेर बाढी नछिर्ने हैन कि, ब्यारेज बग्यो भनेचाहिँ बिहार समुन्द्रजस्तै बन्छ । दक्षिण बग्ने पानीलाई पूर्व या पश्चिम डाइभर्ट गर्ने बाँधको २२ फुटे ढोकाको नियन्त्रण भारतले गर्छ । बालुवा पूर्वतिर थुप्रिँदा ढोका अर्कोतिर खोल्ने, पानीको बहाव विश्लेषण गर्नेजस्ता काम कन्ट्रोलले गर्छ । ढोका खोल्नु वा बन्द गर्नुपूर्व बिहार सरकारले सुनसरीका प्रमुख जिल्ला अधिकारीसँग अनिवार्य सहमति लिनुपर्ने व्यवस्था छ ।
हामी भन्छौँ, कोशी व्यारेजका कारण वर्षेनी नेपाली भूमि जलमग्न हुँदै आएको छ । यो गलत तथ्य हो । वास्तविकता के हो भने, कोशी व्यारेज नहुँदो हो त, सुनसरीको चतरा, राजघाट, चक्रघट्टी, प्रकाशपुर, मधुवन, पूर्व र पश्चिम कुशाहा, हरिपुर, श्रीपुर, सप्तरीका कञ्चनरुप नगरपालिका (भारदहदेखि फत्तेपुर र माहुलीसम्म), रामपुर, भागलपुर, उदयपुरको बेलका नगरपालिका वर्षेनी डुबानमा पर्थे । अहिले पनि सरकारले कोशी कटानको समस्याका कारण सुनसरीको कोशी टप्पु र सप्तरीको भारदह (कंकालिनी मन्दिरदेखि व्यारेजसम्मको तीन किलोमीटर) का बासिन्दालाई मुआब्जा दिएर अन्यत्र बस्ती सारेको छ । त्यहाँका कतिपय बासिन्दा भारत वा छिमेकी जिल्ला स्थानान्तरण भएका छन् । स्वाभाविक हो, भारतले आफ्नै लगानीमा बाँध बनाइसकेपछि आफ्ना बस्तीको सुरक्षा गर्छ नै ।
त्यसका लागि व्यारेज भत्किने हदसम्म पानीको बहाव बढ्यो भने उसले ढोका खोल्छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाहरु कोशीमा नमिसिने खाँडो नदीको प्रभावमा छन् । चुरे र महाभारतमा मूल भएका ती नदीहरु कोशीमा मिसिन नपाउँदा सानो क्षेत्रफलको नदीमा तीव्र बहावका साथ उर्लिन्छन् र उदयपुर, सप्तरीलाई असर गर्दै भारत छिर्छन् । र, भारततिर लागेपछि कोशीमा मिसिन्छन् । जसरी हामी विराटनगर र वीरगञ्जमा भारतीय क्याम्प खडा गरिएकोमा मात्र आपत्ति जनाउँछौं, उसले पूर्वदेखि पश्चिमसम्म बाँध बनाएको, समानान्तर रुपमा एसएसबी क्याम्प खडा गरेको, पिच सडक बनाएको कुराचाहिँ ख्याल गर्दैनौँ । भारतको कोशी प्रोजेक्टले वर्षेनी नदी प्रभावित नेपाली बस्तीमा पिच गर्न, बाँधमा ग्याभिङ जाली हाल्न र शाखा नदी सफा गर्नका लागि हाम्रा ठेकेदार कम्पनीलाई करोडौँको ठेक्का दिन्छ । तर तिनले बेलामा काम सक्दैनन् । योचाहिँ हामीले हेर्ने गरेका छैनौँ । जब नाकाबन्दी लाग्छ, तब हामीलाई चीनको पेट्रोल ल्याउने हतारो हुन्छ । अहिले पनि कोशीमा बाढी आएपछि भारतविरोधी मानसिकता पाल्दै गाली गर्छौं । तर, उसले हाम्रो भूमितिर छुने गरी बनाएको समानान्तर बाँध, फौज परिचालनबाट कुनै पाठ सिक्दैनौँ ।
टिप्पणीहरू