ज्यूँदै छन् जामन तर चिनिदिने कोही छैन
- श्याम रिमाल
चार वर्षअघि डोकामा पानी भरेर सानो चस्का दिएका जामन गुभाजुले रूखको टुप्पो नुहाएर भेंडाबाख्रालाई घाँस खुवाएको देखेपछि उनीसामु झुक्दै अबदेखि काष्ठमण्डपमा जादु नदेखाउने कसम खाई भारतीय जादुगर बाटो लागेको थियो । गुभाजुकी पत्नीले गोडा बालेर चुल्हामा रक्सी पारेको घटनाले जोकोही चकित भएकै हुन् । यस्ता सिद्धहस्त एक तान्त्रिकको जीवनीलाई लिएर नेपालभाषामा बनेको चलचित्र ‘जामनः गुभाजु’ गत वर्ष मङ्सिर ८ गतेदेखि हालसम्म चलिरहेको छ । र, ५१ औं सो देखाउने तयारी चल्दै छ । आदिवासी जनजातीय चलचित्र हुनाले बक्स अफिसमा पर्न नसकेको भनिए पनि प्रायः शनिबारजसो मात्र प्रदर्शन हुने उसले नौ महिनाको अवधिमा करिब सात हजार दर्शक पाइसकेको छ । आफ्नै समाजको मौलिक कथा र अभिनय बोकेको चलचित्र राष्ट्रिय चलचित्र पुरस्कारमा नपरे पनि एभरेष्ट इण्टरनेशनल फिल्म अवार्डको मनोनयनमा भने छिर्न सफल भएको छ । गोरखनाथले नागहरूलाई बाँधेर १२ वर्षसम्म वर्षा हुनबाट रोकेको घटना पनि तन्त्रमन्त्रमै आधारित हुनुपर्छ । राजा नरेन्द्रदेवको पालाका आचार्य बन्धुदत्तले भाँडामा मच्छिन्द्रनाथलाई छोपेर काठमाडौं उपत्यकामा ल्याएका थिए । यहाँ यस्ता थुप्रै लुकेका कथा छन् जसलाई कथा, उपन्यास, वृत्तचित्र, चलचित्र आदिबाट उजागर गर्नै बाँकी छ ।
जामन गुभाजुको कथा अठारौँ शताब्दीको हो । प्रताप मल्ल (जन्म विसं १६८), राज्यकाल विसं १६९८–१७३१ को पालाका जामन गुभाजुमा दुनियाँलाई चकित पार्ने शक्ति थियो । उनी बेलाबेला राजपरिवारका साथै जनताको हात हेर्ने र झारफुक गर्ने कामबाट रोगव्याधि निको त पार्थे नै डोकामा पानी भर्नेजस्ता अचम्मका काम गर्थे । जप, तप, ध्यान, योग, समाधि, पुरश्चरण आदिमा नित्य संलग्न उनले बिरामीलाई झारफुक तथा शिशुहरूलाई घरमै पढाउने गर्थे । लगनटोल नजीक ब्रह्मटोल, मुसुम्बहालका गुभाजुले महिलालाई बोक्सी लगाउने पुरुषलाई चिनी फेरि त्यसो नगर्न वाचा गराउँथे भने भरिएको गाग्रीसमेत नछोईकन खाली गराउन सक्थे । मिथक वा किंवदन्तीजस्तै बनेका र ‘कमिक्स’मा मात्र सीमित ऐतिहासिक पात्र जामन गुभाजुलाई करीब दुई घण्टामा चिनाउन तथा उनको तन्त्रसाधनाको प्रभाव र अवस्था संकिपामा देखाउन निर्देशक रवि सायमीको टोलीले तीन वर्षभन्दा बढी समय लगायो । कथानक चलचित्रमा यो नै उनको पहिलो निर्देशन हो ।
जेस्सी पेन्नी इण्टरटेन्टमेण्ट प्रालि र वाइल्ड बुल्स प्रोडक्सन (राजेन्द्रभक्त श्रेष्ठ र मन्दिरा मानन्धर)ले संयुक्त रुपमा निर्माण गरेको ‘जामन गुभाजु’का प्रमुख पात्र सुशील राजोपाध्याय भन्नुहुन्छ, “सुनिरहेकै कथा भएकाले मलाई चलचित्रमा अभिनय गर्न गाह्रो भएन ।” विसं २०३८ देखि डबलीहरूमा नाटक र २०६१ देखि पर्दामा देखिँदै र जामन गुभाजुको कथा, पटकथा र संवाद लेख्नुभएका उहाँले यसअघि ‘माया रे रत्न’, ‘हाकु सुपायं’ (कालो बादल), च्वापु फय्’( हिमआँधी), ‘कीर्तिपुरः द लिजेण्ड अफ कीर्तिलक्ष्मी’, लगायत २५ नेपालभाषी र नेपाली चलचित्र पाँच गरी करीब ३० वटामा अभिनय गरिसक्नुभएको छ । जामनकी पत्नीको भूमिका सरस्वती मानन्धर र राजा प्रताप मल्लको भूमिका पत्रकार पुष्कर माथेमाले निर्वाह गर्नुभएको छ । अन्य पात्रमा उदेन न्हुँसायमी, साकार पन्त आदि हुनुहुन्छ । “भूमिका च्यालेञ्जिङ भए पनि राम्रै गरेँजस्तो लाग्छ, केही प्राविधिक कुरा अमिल्दो भए पनि दर्शकले मन पराइदिएकोमा खुशी नै छु”, नायक राजोपाध्यायले भन्नुभयो ।
काठमाडौँ, बन्दिपुर, चित्लाङ र सौराहा(हुस्सुका लागि) मा छायाङ्कन गरिएको सो चलचित्रका गुभाजु पात्र राजोपाध्याय, पत्नी बनेकी सरस्वती मानन्धर र अन्य पात्रको जीवन्त र स्वाभाविक अभिनय छ । तत्कालीन गीत र नृत्य सुहाउँदिला छन् । छायांकन भवानी शिलाकार, संगीत बालकृष्ण वंशी तथा गायन गौतमदास मानन्धर, रत्नशोभा महर्जन, सतीश महर्जन, सरिता शाही र दीपेन्द्र बज्राचार्यको छ । नेपालभाषा नबुझ्नेले पनि अंग्रेजी सबटाइटलबाट कथा राम्ररी बुझन् सक्छन् । यसअघि थुप्रै म्युजिक भिडियो निर्देशन गरिसक्नुभएका प्रस्तुत चलचित्रका निर्देशक रवि सायमी भिज्युअल एफेक्ट र कलर ग्रेडिङबाट चलचित्रमा तत्कालीन परिवेशलाई देखाउन सकिएको बताउनुहुन्छ । गोरखा भूकम्पबाट ढलेको काष्ठमण्डप र अन्य सम्पदा, डोकामा पानी भराइ, चिलको रुप भिएफएक्स प्रविधिबाट गरिएको हो । चलचित्रमा भारतबाट आएका एक चटकेले जादु देखाएर केटाकेटीलाई भाँडेको र धन असुलेको देखी गुभाजुले डोकामा पानी भरेर उनीसामु प्रस्तुत गरेका थिए । चटकेले आफ्नो मन्त्रबाट डोकाको पानी झारेपछि गुभाजुले चील बनेर चटकेले बालकको झिकेको मुटु उडाएर लगेको अनि रूखलाई खुट्टाका औँलाले नुहाएर भेंडाबाख्रालाई घाँस खुवाउने जस्ता काम देखाएका थिए । गुभाजुकी श्रीमतीले गोडा बालेर रक्सी पारेको घटना त झन् अद्भूत छ । उनले खडेरी लागेका बेला कोही व्यक्ति जान नसक्ने स्वयम्भूस्थित शान्तिपुरमा राजालाई पठाई भित्रबाट नवनागको रगतबाट लेखिएको एक ग्रन्थ(पौभा) निकाल्न लगाएका थिए जसबाट वर्षा भएको थियो । आगमघरमा जनताको सुखका लागि पुरश्चरणमा बसेका गुभाजु धेरै समयसम्म नफर्केकाले पतिको वाचा तोडी गुभाजुपत्नी भित्र पस्दा गुभाजुले शरीर छाडिसकेका थिए । उनको दाहसंस्कार भयो । दाहसंस्कारपछि पनि उनलाई स्वयम्भूबाट फर्केको देखेर मानिसहरू अचम्भित भए । त्यसैले उनले शरीर सधैँका लागि त्यागिदिए तर देहत्याग गर्नुअघि भनेका थिए, “जबसम्म यहाँ काँ(अन्धो), खु(लँगडो) र छ औँलेसमेत) र ढुसी(कुप्रो) मानिस हुन्छन्, तबसम्म म मरेकोे हुन्न ।” चलचित्र निर्देशक सायमीका अनुसार जामन गुभाजुको टोलमा अहिले पनि दृष्टिविहीन, अपाङ्गता भएका व्यक्ति र कुप्रो व्यक्ति भएकाले अहिले पनि जीवित ठानी वर्षको एक पटक टोल र स्वयम्भूमा उनको पूजा गरिन्छ । कुमारीघर, बाह्रवर्षे इनार(जप तुँ) र कङ्केश्वरीबाट सुरुङ हुँदै शान्तिपुर पुग्न सकिने भनाइ छ । त्यतिबेला नाम चलेका तान्त्रिकमा सुरत बज्र, लीला बज्र, शाश्वत बज्र, मञ्जु बज्र थिए । मञ्जु बज्र नै जामन गुभाजु हुन् । गोरखनाथ र बन्धुदत्त पनि कुनै समयका सिद्ध र तान्त्रिक नै थिए । बज्रयान र तान्त्रिक शक्तिको कथा बोकेको यो चलचित्रलाई अन्तर्राष्ट्रियस्तरमा लैजान सकिने स्थिति छ ।
गोसाइँकुण्ड तीर्थस्थलको कथा समेटेको ‘शिलु’पछि राजमती, पटाचारा, कृषा गौतमी, टुटाँ(लौरो), ‘अन्ज मिखा’(गाजलु आँखा) आदि नेवारी चलचित्र प्रदर्शनमा आएका छन् र यस्ता चलचित्र बन्ने क्रम अघि बढ्दैछ । यसअघि सिटीम्याक्स बागबजार, गुण ग्वार्काे, बाराही मुभी भक्तपुर र राइजिङ मल कमलादीमा शनिबारजसो प्रदर्शन भइसकेको चलचित्र यही साउन ११ गते नेवारी बस्ती साँखु र साउन ३० गते जनैपूर्णिमाको दिन टोखामा प्रदर्शन हुने राजोपाध्यायले बताउनुभयो । नेपालका मौलिक कथामा बन्ने यस्ता चलचित्रलाई बक्स अफिसमा पार्नुपर्ने देखिन्छ । धेरै वर्ष अध्ययन÷अनुसन्धान गरेर प्राकृतिक परिवेश र वेशभूषा आदिलाई जस्ताको तस्तै छायाङ्कन गरी पात्रहरूलाई जीवन्त अभिनय गराएको चलचित्रलाई पनि पुरस्कारमा पार्न सके राष्ट्रिय चलचित्र पुरस्कारको गरिमा बढ्ने हुन्छ ।
आफ्नै अघिल्तिरको समाज र आफन्त चिन्न नसक्ने राजनीतिक दृष्टिविहीन, गतिलो तर्क दिन नसक्ने बौद्धिक खल्र्याङखुट्टी र असन्तुलित विचारका कुप्रेहरू यही नेपाली समाजमा छन् । अझ आफ्नै देश नेपाल मन पर्दैन भन्ने विदेशी विचारका छऔँलेहरू यहाँ उत्पात मच्चाउन हरदम तयार छन् । तिनलाई जामनः गुभाजुले चिनाएर गएकै छन् । जीवित जामनः गुभाजुलाई नचिनेर विदेशी रङ्ढङ्ग आयात गरी मुलुकलाई तन्नम बनाउने चटकेहरूलाई पनि हामीले चिन्नु छ ।
टिप्पणीहरू