​मुख्यमन्त्रीको झोला हरायो

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको चीन भ्रमणका बेला झोला हराएको छ । भ्रमण सकेर खुन्मिङबाट काठमाडौं फर्कने बेला एयरलाइन्स काउन्टरमा चेक इन हुँदा उहाँको ह्याण्ड क्यारीका रूपमा रहेको ब्याग हराएको हो । जसमा ल्यापटप, डायरी र महत्वपूर्ण कागजपत्र थिए ।
सँगै गएका एक जना प्रतिनिधिले जनआस्थालाई बताएअनुसार ब्याग हराएको कुरा काठमाडौं आएपछि मात्र थाहा भएको हो । लगेज बटुल्ने क्रममा मुख्यमन्त्रीले ल्यापटप भएको ब्याग खोइ भनेर सोधेका थिए । एकले अर्काको टाउकामा हात लगाउँदै सबै पन्छिन थालेपछि ब्याग हराएको थाहा लाग्यो ।

भीआईपी च्यानलबाट आएका मुख्यमन्त्रीको ब्याग चेक इन हुनुपहिले नै हराएको रहेछ । ब्याग हराएपछि एकअर्कामाथि आरोप लगाउने कामले विमानस्थलमै निकैबेर चर्काचर्की भयो । कसैले होटलमै छुटेको बताएर मलाई के थाहा भन्दै पन्छिए भने कोहीचाहिँ विमानस्थल जाँदा गाडीमा छुटेको बताएर आफ्नो जिम्मेवारी हैन भन्दै थिए । जसले जे भने पनि आखिर मुख्यमन्त्रीले ब्याग बोकेर हिँड्ने कुरा पनि भएन । सहयोगी बनाएर लगिएकाहरू सेल्फी खिच्न र टहलिनै व्यस्त भएपछि उहाँको ब्यागलाई कसैले चासो दिएन । सबैले आ–आफ्ना ब्याग च्यापे तर मुख्यमन्त्री पोखरेलको ब्याग भने अलपत्र परेर कतै हराएको ठहरियो । 

ब्याग मात्र हराएको भए त केही थिएन तर त्यसभित्र ल्यापटप र डायरीसहित महत्वपूर्ण कागजात थिए । ल्यापटपमा महत्वपूर्ण योजना थिए भने डायरीमा पनि मुख्य र केही गोप्य टिपोट रहेको हुनाले ब्याग तुरुन्तै चाहियो भनेर कडिकडाउ गर्नुप¥यो । आतिथ्य संस्था चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागमा गुनासो गरेपछि ब्यागको खोजी हुन थाल्यो । अन्ततः ब्याग खुन्मिङमै भेटियो ।

अहिले उक्त ब्याग बेइजिङस्थित नेपाली दूतावासमा पुगेको ती प्रतिनिधिले बताए । दूतावासले कुनै भरपर्दो व्यक्तिको हातमा नेपाल पठाउने भएको छ । 

टिप्पणीहरू