आश्वासन त यस्तो आयो

नेपालमा डेढ वर्षदेखि अभ्यास गरिँदै आएको संघीयता र शासकीय विकेन्द्रिकरणको स्थिति अब के हुन्छ ? यो प्रश्नको जवाफ खोज्न आएका अन्तर्राष्ट्रिय सञ्जाल चलाउने एकजना विदेशी नागरिक आश्वासन बोकेर फिर्ता भएका छन् । 

फोरम फर फेडेरेशन नामक अन्तरसरकारी संगठनले संघीयता भएका मुलुकहरूमा आफ्ना विभिन्न गतिविधि सञ्चालन गर्छ । भारतीयमूलका क्यानेडियन नागरिक रुपक चटोपाध्याय यसको अध्यक्ष छन् । गतसाता काठमाडौं आए । विदेश मामिला सल्लाहकार डा.राजन भट्टराईमार्फत प्रधानमन्त्रीलाई भेटे र नेपाललाई सदस्य बन्न आग्रह गरे ।  प्रधानमन्त्रीको आश्वासन सकारात्मक पाइए पनि नेपालले संघीयता र विकेन्द्रिकरणलाई के गर्छ भन्नेबारे स्पष्ट हुन सकेनन् । यसअघि प्रधानमन्त्रीको सार्वजनिक अडान नै छ, ‘स्थानीय सरकार कसरी स्वायत्त हुन्छ ? सात सय ६१ वटा सरकार भए पनि ती संघीय सरकारमातहत नै छन् ।’ संविधानतः सबै स्थानीय सरकार स्वायत्त हुन् किनकि सबैलाई कानुन बनाउन र कर निर्धारण गर्न दिइएको छ । अधिकारको स्रोत पनि माथि र तल एउटै हो ।’

प्रमका यिनै अभिव्यक्तिपछि के नेपाल फोरम फर फेडरेसनको सदस्य बन्छ ? अन्योल पैदा भएको छ । संघीयताको अभ्यास गरिरहेका विश्वका २८ मुलुक यसका सदस्य राष्ट्र हुन् । नेपाल थपिँदा २९ पुग्छ । तर, के नेपालले संघीयता कायमै राख्छ ? यसबारे कुनै टुंगो नभएको बुझाइ छ, ती विदेशीको । फोरमका नेपाल प्रमुख सागर मानन्धर हुन् । 

टिप्पणीहरू