निर्मला हत्याकाण्डमा नयाँ नालीबेली
काम देखाउने नाममा जथाभावी होला भनेर फुकीफुकी पाइला चालिँदै छ । तर नतिजा हात लागिसकेको छैन । मामिला हो, निर्मला पन्त बलात्कार र हत्याकाण्डको ।
रानीबारी हत्याकाण्ड १२ वर्षपछि जसरी सल्टियो, यसमा पनि त्यस्तै जटिलता आएको बताइन्छ । रानीबारी हत्याकाण्डका मुख्य अभियुक्त मनराज गुरुङलाई जसरी तीनचोटि समाउँदै, बयान लिँदै, प्रमाणको अभावमा छोड्दै जानुप¥यो, निर्मला प्रकरणमा पनि झण्डै–झण्डै त्यस्तै संकेत देखिन थालेको छ । रानीबारी हत्याकाण्डमा अर्कै प्रकरणमा समातिएको मान्छेले खोलिदिएको पोल र बयान, प्रमाणको आधारमा समातिएर अहिले मनराज जेलमा छन् । त्यसैले कतिपय घटना समय गुज्रिए पनि, चिहानमा पुगे पनि व्युँतिएका छन् । नेपालमा अपराध गरेर भारतमा १७–१८ वर्षदेखि लुक्दै आएका मान्छेहरू समातिएका छन् । निर्मला प्रकरणमा अहिलेसम्म ठोस प्रमाण जुटाउन नसकेर मात्रै मुख्य अपराधी नसमातिएको अवस्था हो । यसबीच प्रहरीले चार सय ५० जनासँग बयान लिएको छ, १६ सयका टेलिफोन सम्पर्क मिहिनपाराले हेरिएको छ । ७० जनाको डिएनए परीक्षण गरिएको छ । तर, तीमध्ये कसैको पनि डिएनए सतप्रतिशत मिलेको छैन । मानिस पक्राउ गर्ने र प्रमाणको अभावमा अदालतबाट छुट्दै जाने श्रृंखलाको अन्त्यका लागि प्रहरी अहिले नयाँ र अकाट्य प्रमाणको खोजीमा छ ।
राष्ट्रिय मानवअधिकार आयोगले स्थलगत अध्ययनपछि दिएको प्रतिवेदनमा डिएनएनको मात्रै भर नपर्नु, थप छानबिन गरेर प्रमाण जुटाउनु भनेको छ । यो भनेको नक्कली प्रमाण सिर्जना नगर्नु भनी घुमाउरो पाराले चेतावनी दिइएको हो । दोषीले निर्मलालाई घटनास्थलमा लगेको प्रमाण खोजी हुँदै छ । जनताको आरोपबाट बच्ने उपाय पनि अवलम्बन गरिँदै छ । यो प्रकरणमा थुप्रै मान्छेलाई बोलाएर बयान लिइए पनि दुई जनालाई मात्र म्याद थपिएको थियो । मोबाइल ट्रेस गर्ने क्रममा एक महिला फेला परिन् । उनले म्यासेज लेखेकी छन्, ‘निर्मला आज बिजी छ, अर्कै मिलाइदिन्छु ।’ उनी पक्राउ परिन् । तर, निर्मला त निर्मला, उनले लेखेको र घटनामा परेकी निर्मला फरक परे, जातै मिलेन । ती महिला पनि छुटिन् । शंका अझै पनि दिलीप बिष्टमाथि छ । तर, प्रमाणको अभावमा भीडले चिच्याएको र पत्रकारहरूले पनि स्थिति भड्काएका कारण प्रहरीले अन्तिमसम्म दिलिपलाई समातेर मुद्दा चलाउन नसकेको बताइन्छ ।
टिप्पणीहरू