मेलम्चीवालाले जेल हाल्यो मन्त्रीलाई

यता मेलम्ची डुबायो उता अर्को देशमा पुगेर बहालवाला अर्थमन्त्रीसहित २७ जनाको ‘जुलुश’ लाई जेल पठायो । संसारकै सानो र सुन्दर देश ।

जम्मा ४४ हेक्टर जमिन र आठ सय ४२ जनाको जनसंख्या छ, भ्याटिकन सिटीमा । इसाई धर्मको प्रमुख सम्प्रदाय रोमन क्याथोलिकका सर्वोच्च धर्मगुरू पोपको थलो । मुसोलिनीले दोस्रो विश्वयुद्धताका हिटलरसँग मिलेर संसारमा जगजगी मच्चाएको इतिहास पनि यसैसँग जोडिन्छ । अहिले त्यही सानो देशको विस्तृत रुप इटालीको साइनो नेपालसँग गाँसिएको छ । इटालीसँग नेपालको नाता जोडिएको प्रकरण हो, बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना । यसअघि कहिले राजा त कहिले राष्ट्रपति सवार हुने नाममा नेपाली सेनाको आवरणभित्र अगुस्ता हेलिकोप्टर खरिद मामिला पनि इटालीसँगै गाँसिएको थियो । राजा वीरेन्द्रकै पालामा प्रधानसेनापति प्रज्वलसमशेर राणाले आरजे १०० जहाज ल्याउन खोजे, राजपरिवारलाई चढाउने भन्दै । त्यो रोकिँदै आयो । पछि लोकमान अख्तियार प्रमुख हुँदा पावरले पेलेर आफ्ना सम्धी रोहिणी थपलियालाई ठेकेदार कायम गराई हेलिकोप्टर ल्याइछाडे । त्यही हेलिकोप्टर खरिद प्रकरणमा अर्बौं घोटालाको अभियोगसहित भारतीय वायुसेनाका प्रमुख एसपी त्यागी जेलमा छन् । यतिबेला, इटालीकै ठेकेदार कम्पनी सिएमसीले मेलम्चीको काममात्रै छाडेन, यहाँबाट भागेको उक्त कम्पनीले अफ्रिकी सुन्दर देश केन्या पुगेर अर्को बितण्डा मच्चाउन भ्याइसक्यो ।

सिएमसीलाई जसरी पनि ठेक्का दिने क्रममा घुसकाण्ड लागेर अस्ति सोमबार केन्याली अर्थमन्त्री हेन्री रोटिचसहित २७ जना गिरफ्तार भएका छन् । दुईवटा ठूला बाँध निर्माणको ठेक्का प्रकरणमा उनीहरू पक्राउ परेका हुन् । करोडौँ डलरको जलविद्युत परियोजनामा सिएमसीले हात हालेर काम बिग्रिएपछि त्यहाँ हलचल मच्चिँदा मन्त्री रोटिच, उनका निजी सचिव, केन्याली वातावरण प्राधिकरणका मुख्य कार्यकारी अधिकृतसहित शिकार बनेको बताइन्छ । त्यहाँको इतिहासमा बहालवाला मन्त्री समातिएको यो पहिलो घटना हो । चार सय ५० मिलियन डलरको परियोजना थियो त्यो । मेलम्चीमा जस्तै पछि लागत बढाउँदै थप एक सय ६४ मिलियन डलर पु¥याइएको थियो । त्यसबाहेक बाँध निर्माणस्थल आसपासका बासिन्दालाई अन्यत्र पुनर्वास गराउने नाममा ६ मिलियन डलर, अर्थात् नेपाली रुपैयाँ ६ करोड १५ लाखजति बाँडिएको थियो । त्यसमा अर्थमन्त्री रोचिटले भ्रष्टाचार गरेको सूचनाका आधारमा प्रहरी अनुसन्धान टोलीले आवश्यक छानवीन गर्दै थियो । रकम भुक्तानी दिइएको पुष्टि भएपछि उनीहरू पक्राउ परेका हुन् । 

नेपालमा पनि सिएमसीले गतवर्षको दशैंताका काम सिध्याउनुपर्ने पूर्वशर्त थियो । तर क्रिसमस बिदाको नाममा कम्पनी भाग्यो । चाइना रेल्वे १५ युरो ग्रुपले काम छाडेपछि नोभेम्बर २०१३ देखि सिएमसीले मेलम्चीको काम जिम्मा लिएको हो । सन् २०१४ जनवरीदेखि काम थालिएको र भ्याटबाहेक सात दशमलव ७२ बिलियन डलरको ठेक्का हो, मेलम्चीको । तर, इटालीको चौथो ठूलो कन्स्ट्रक्सन कम्पनी सिएमसीले नेपाली राजनीतिमै ठूलो हलचल मच्चाएर हिँडेजस्तै मान्छे फसाउनेमा केन्यालाई पनि बाँकी राखेन ।

टिप्पणीहरू