खोज्दै जाँदा थप खुलासा
कर्मचारीतन्त्रमा बसेर स्वर्गीय सुख जसले बटुले, शक्तिकेन्द्र रिझाउन जान्ने र घाटघाटको पानी पिउन सक्ने उनै व्यक्ति अहिले सम्पत्ति छानवीनमा परेका छन् । दिनदिनै उनको सम्पत्तिलाई लिएर अनेकन छिद्र फेला परेका छन् ।
लाजिम्पाटमा माछापुच्छ«े बैंकको पछाडिपट्टि ला हिमालयन नाममा चल्न थालेको छ, पुरानो ग्याङ्जोङ होटल । देखिने साझेदार अमित नामक व्यक्ति हुन् । सोल्टी होटलले उनै अमितको टोलीलाई आफ्नो हेल्थ क्लब बन्द गरेर त्यहींभित्रै ट्रयाँक्विलिटी स्पा खोल्न दिएको छ । भूकम्पदेखि नै बनाउन थालिएको उक्त मसाज सेन्टर केही महिनाअघिबाट मात्र सञ्चालनमा आएको छ ।
झण्डै २५ करोड लगानी रहेको त्यसको अन्तर्कथा हो, अर्कैको पैसा ती व्यक्तिका नाममा लगानी हुनु । किशोर बादे श्रेष्ठसँग बिएमडब्लु, डुकाती मोटरसाइकल, ज्यागुआर र रेञ्जरोभरजस्ता महंगा गाडीको आयातमा साझेदारी सँगसँगै कलंकीमा छ, कोहिनुर हाउजिङमा घर । कुलेश्वर र टेकु दोभानको छेउमा ६२ वटा सटरवाला फलफूल र तरकारी बजारका साहु इच्छाबहादुर डंगोलले बनाएको उक्त हाउजिङमा चारवटा घर पनि ती व्यक्तिको नाममा भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । एउटै घरको ३–४ करोड मूल्य पर्छ । बिक्रिका लागि बैना भयो, पैसा अर्कैले लिन्छ । मुख्य मान्छे देखिँदैन । लालपुर्जा कसको नाममा छ ? वास्तविक धनी को हो ? उठेर जा पनि भन्दैन, ऐलानी जग्गामा घर बनाएर बसेजस्तो ! अहिले उनीबारे यो कोणबाट पनि छानवीन अगाडि बढेको छ ।
सोल्टीमा खुलेको स्पामा अमेरिकी लाइफ फिटका उपकरण जडान गरिएको छ । त्यहाँको सदस्य बन्नमात्रै वार्षिक एक लाख ५५ हजार रुपैयाँ तिर्नुपर्छ ।
टिप्पणीहरू